Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

मकवानपुरमा एकैदिन ५ क्वीन्टल गाँजा बरामद, दुई जना पक्राउ

इकागज |
बैशाख २०, २०८० बुधबार १९:२ बजे

मकवानपुर- गाँजाको वैकल्पिक खेतीमा प्रोत्साहन गर्ने योजना कागजमा थन्केको छ । वर्षै साल गाँजा फडानीमा प्रहरी र प्रशासनले करोडौं खर्च गर्छ । तर, गाँजाको खेती उस्तै छ ।

गाँजाको कारोबार गरेको आरोपमा दिनहुँ जसो युवाहरू कानुनको कठघरामा पुग्छन् । पछिल्लो दुई दिनमा मकवानपुरमा झन्डै ७ क्वीन्टल गाँजा बरामद भएको छ । गाँजासँगै युवाहरू पनि पक्राउ परेका छन् । पछिल्लो उदाहरण आजकै हो । आज मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।


५ सय ११ केजी गाँजासहित आज मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।​​ कुटुन्जेका ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजालको घरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा फेला पारेको हो ।

गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निर‍ीक्षक दिपक केसीको कमाण्डमा २६ जनाको प्रहरी टोली खटेको थियो । खानतलासी गर्दा गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपर‍ीक्षक टेकबहादुर कार्कीले बताए ।

प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा १८४ किलो १०० ग्राम र नगद ५५, हजार ३६५ रुपैयाँ र राधाकृष्ण रिजालको घरबाट १२ बोरा ३२७ किलो ८०० ग्राम गाँजा फेला पारेको हो । दुवै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई दिन अघि मात्रै मकवानपुरकै थाहा नगरपालिकाको एक वडाका अध्यक्ष र उनका बुवा गाँजासहित पक्राउ परेका थिए । अवैध लागूऔषध गाँजाको कारोबारमा स्थानीय युवा मात्रै हैन स्थानीय जनप्रतिनिधिसम्मको संलग्नता रहेको पाएको छ । मकवानपुरको कैलाश, राक्सिराङ, मनहरीलगायत गाउँपालिका र थाहा नगरपालिकामा विशेषगरी गाँजा खेती हुने गरेको छ ।


Author

थप समाचार
x