समाज

मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना र रात्रिकालीन बजार सुरक्षाबारे छलफल

इकागज |
बैशाख २१, २०८० बिहीबार १७:२६ बजे

बुटवल- बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका बीचमा भेटवार्ता भएको छ ।

बुटवल उपमहानगरपालिकाको कार्यालयमा बिहीबार भएको भेटवार्तामा बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रिकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको छ ।


नगर प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना, रात्रिकालीन बजार सञ्चालनमा समन्वय र प्रहरी पोष्ट स्थापना, अपराध न्यूनीकरणमा तदारुकता देखाउनका लागि प्रहरी प्रमुख कुँवरलाई आग्रह गरे । उनले बुटवल क्षेत्रमा लागू पदार्थ दुर्व्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताए ।

नगर प्रमुख पाण्डेयले बुटवलको अमरपथ, कालिकापथमा रात्रिकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

भेटका क्रममा प्रहरी महानिरीक्षक कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने विश्वास दिलाए । उनले रात्रिकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र बुटवललाई अपराधमुक्त र शान्तिपूर्ण शहर बनाउनका लागि प्रहरी संगठनले सहयोग गर्ने बताए ।


Author

थप समाचार
x