समाज

सामुदायिक वनबाट सुकुम्बासीको घर भत्काएर पार्टीको भवन शिलान्यास

इकागज |
बैशाख २१, २०८० बिहीबार २०:६ बजे

कैलाली- सोमबार कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा सामुदायिक वन क्षेत्रमा बाढीपीडित र सुकुम्बासीको नाममा अतिक्रमण गरी बनाएका घर टहरामा डोजर चलाएको थियो । महिला सामुदायिक वन र बडिमालिका सामुदायिक वन क्षेत्रमा एकै दिनमा करिब ४५० घर टहराहरू स्थानीय सरकार, वन डिभिजन कार्यालय लगायतको टोलीले हटाएको थियो ।

सामुदायिक वन अतिक्रमण खालि गराउने अभियान चलिरहेकै बेला सोही नगरपालिका भित्रको एक अर्को सामुदायिक वन भित्र पार्टीको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कैलालीको गोदावरी नगरपालिका-१ स्थित सुरक्षा महिला सामुदायिक वन क्षेत्र भित्रै नेपाली कांग्रेस क्षेत्र न-४ को क्षेत्रीय पार्टी कार्यालय बीपी स्मृति भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।


सामुदायिक वनबाट सुकुम्बासीको घर भत्काएर पार्टीको भवन शिलान्यास गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध गरिएको छ ।‌ सामुदायिक वनको जग्गामा पार्टीको भवन निर्माणका लागि शिलान्यास गर्न केन्द्रीय सांसद नै त्यहाँ पुगेका थिए । नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले सुरक्षा महिला सामुदायिक वन क्षेत्र भित्रै शिलान्यास गरेका हुन् ।

एउटै नगरपालिका भित्र बाढीपीडित र सुकुम्बासीको नाममा वन क्षेत्र कब्जा गर्दा डोजर चलाएको र पार्टीको नाममा भने वन क्षेत्र भित्रै पक्की भवन बनाउन दिएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको हो । जनप्रतिनिधिहरूले नै यसरी वन अतिक्रमण गर्ने कार्यलाई प्रोत्साहन गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

केन्द्रीय सांसद बलायरले क्षेत्रीय कार्यालय भवनको शिलान्यास गरिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनीसँगै प्रदेश सभा सदस्य प्रकाश बम र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट पनि देखिएका छन् । सोमबार अतिक्रमण हटाउँदा नगरपालिकाकै डोजर प्रयोग गरिएको थियो । एकातर्फ आफै वन अतिक्रमण हटाउने अर्को तर्फ आफ्नै उपस्थितिमा वन क्षेत्रमा संरचना निर्माणका लागि शिलान्यास गर्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । 

सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले वन क्षेत्र भित्र कुनै पनि संरचना निर्माण गर्न नदिइने बताए । उनले भर्खरै यही पालिकामा ४५० टहरा हटाएका बताउँदै वन क्षेत्र भित्रै भवन बनाउने गरि शिलान्यास गरेको कुरा सुनेको बताए ।  

सामुदायिक वनले निर्णय गरेर जग्गा दिएको भन्दै त्यस्तो अधिकार सामुदायिक वनमा नरहेको वन अधिकृत कडालले उक्त काम रोकिने बताए ।

 


Author

थप समाचार
x