हेटौंडाका होटलहरूमा बाल श्रमिक : चार जनाकाे उद्धार, जिम्मेवार बन्दैनन् अभिभावक
तस्बिर : हेटौंडाका होटल व्यवसायीहरूमा गरिएकाे अनुगमन ।
मकवानपुर- बालबालिकाहरूलाई श्रममा लगाउनु गैरकानुनी भए पनि हेटौंडाका होटल व्यवसायीहरूले बाल श्रमिक राख्न छाडेका छैनन् । बालबालिकाहरूलाई विद्यालय छुटाएर काममा लगाइएको अवस्थाबाट चार जनाको उद्धार गरिएको छ । उद्धार गरेपछि पनि अभिभावकहरू जिम्मेवार नबन्ने गरेको पाइएको छ ।
सिविन बाल हेल्प लाइन, श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिका लगायतबाट खटिएका प्रतिनिधिहरूले हेटौंडा १० बसपार्क क्षेत्रमा अनुगमन गरी ४ बालबालिकाहरूको उद्धार गरिएका हो । जसमा ३ बालिका र १ बालक छन् ।
हेटौंडा १० मा रहेको १ डाँफे होटलबाट १५ वर्षीय बालकको उद्धार गरिएको हो । कैलाश गाउँपालिका वडा नं ८ कालिकाटार घर भएका उनी विगत १० महिनादेखि बाल श्रमिकका रूपमा कार्यरत थिए ।
स्थानीय विद्यालयमा कक्षा ५ पढेर छाडेका उनका अभिभावक गाउँमै बस्छन् । उनीहरूलाई होटल संचालक मानमाया थिङले श्रमिकका रूपमा काममा लगाउँदै आएको पाइएको छ । सोही होटलबाट १५ वर्षीया बालिकाको पनि उद्धार गरिएको छ । भिमफेदि गाउँपालिका ६ माण्डु भन्ने ठाउँमा घर भएकी ती बालिका पनि डेढ महिनादेखि श्रममा थिइन् ।
यसैगरी हेटौंडा १० बसपार्क मै रहेको धादिङ होटल एण्ड लजबाट १३ वर्षीया बालिकालाई उद्धार गरिएको सिविन बाल हेल्प लाइनले जनाएको छ । धादिङ जिल्ला, रोराङ गाउँपालिका, जरुङ भन्ने ठाउँमा घर भएकी ती बालिका १ महिनादेखि होटलमा श्रमिकका रूपमा कार्यरत थिइन् ।
यसैगरी गण्डकी होटल एण्ड लजबाट १५ वर्षीया बालिकाको उद्धार गरिएको छ । विगत १ महिनादेखि होटलमा काम गर्दै आएको बालिकाले बताइन् । कक्षा ४ पढेर छोडेकी बालिकाले श्रमबाट उद्धार भएपछि स्कुल जाने रहर रहेको बताइन् । उद्धार गरिएका सबै बालबालिकाहरूले पढ्न वातावरण भएमा पढ्ने मनशाय प्रकट गरे ।
हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागू भएको स्थानीय तहका रूपमा घोषणाको तयारीमा रहेको छ । यसै सिलसिलामा होटल अनुगमन गर्दा १० दिन अघि पनि ती बालबालिकालाई बाल श्रममा लगाइएको पाएपछि उनीहरूलाई अभिभावकको जिम्मा लगाउन एक साताको समय दिइएको थियो ।
प्रशासन, नगरपालिका, श्रम कार्यालय र सिविन समेतको उपस्थितिमा ती होटलका सन्चालकहरूलाई सचेत गराइएको भए पनि उनीहरूले बाल श्रमिकबाट काम लिइरहेको पाइएपछि उद्धार गरिएको हो ।
अनुगमन टोलीले हेटौंडा १० को मूनलाइट गेष्ट हाउसमा एक साता अघि बाल श्रमिक भेटिएपछि अभिभावकको जिम्मेवारीमा पठाउन दिइएको निर्देशन अनुसार हाल बाल श्रमिक नभेटिएको टोलीले बताएको छ ।
यसैगरी महालक्ष्मी इन्जिनियर वर्कसप राममन्दिर नजिक सल्यान जिल्लाको अन्दाजी १६ वर्षीय बालक श्रममा रहेको तर जन्मदाता नभएको उमेर एकिन गर्न कठिन भएपछि उमेर एकिन हुने कागजात पेश गर्न एक हप्ता समय दिइएको छ ।
अनुगमन टोलीमा हेटौंडा उपमहानगरपालिका बालअधिकार समिति अन्तर्गत बाल श्रम अनुगमन उपसमितिका सदस्यहरू जिल्ला प्रहरी कार्यालयबाट चुडाकुमारी खड्का, श्रम कार्यालयबाट भीम शर्मा बाल हेल्पलाइनका प्रबन्धक झबिन्द्र ज्ञवाली, नगर बालमैत्री सहजकर्ता आपना ढुंगाना, सि एस सी नेपालका कल्याणी बस्नेत, जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रतिनिधि, हेटौंडा १० का जनप्रतिनिधि, महिला तथा बालबालिका सरोकार केन्द्र र टाइनी हेन्सका प्रतिनिधिहरूसमेतको उपस्थिति थियो ।
उद्धार गरिएका बालबालिकाहरू हाल बालहेल्पलाइन १०९८ को संरक्षणमा रहेका छन् । उनीहरूको काम अवधि, उपलब्ध पारिश्रमिक, बालबालिका माथि दुर्व्यवहार तथा शोषण भए नभएको परामर्श पश्चात जरिवान क्षतिपूर्तिलगायतको कानुनी प्रक्रिया बारे टुङ्गो लगाउन बाँकी छ ।
अनुगमन टोलीमा सहभागी र अन्य सरोकारवाला समेतलाई झिकाएर वास्तविक तथ्यमाथि छलफल गरिने र बालबालिकाहरूलाई सम्बन्धित अभिभावकको साथ पुनःस्थापना गरिने सिविनका प्रबन्धक ज्ञवालीले बताए ।
अभिभावक नै जिम्मेवार नहुँदा बालबालिका बाल श्रममा पर्ने गरेको बाल हेल्पलाइनकी मनोसामाजिक परामर्शकर्ता सम्झना अधिकारीले बताइन् ।
'हामीले श्रमबाट उद्धार गरेर ल्याएपछि बोलाउँदा पनि सम्पर्कमा आउन भ्याउँदिन भनेर जवाफ आउँछ,' अधिकारीले भनिन्, 'अभिभावकलाई नै परामर्श आवश्यक छ ।'
उनीहरूलाई आगामी दिनमा अध्ययनका लागि छात्रवृत्ति सहयोग गरिने, अभिभावकलाई आयआर्जनमा सहयोग गर्ने, बालबालिकालाई पनि अवस्था हेरेर सीप सिकाउने जस्ता पक्षमा पनि सहयोग गरिने ज्ञवालीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया