समाज

पत्रकारिताबारे सांसद बलायरले दिएकाे अभिव्यक्ति सच्याउन महासंघकाे आग्रह

इकागज |
बैशाख २३, २०८० शनिबार १८:४० बजे

कैलाली- कैलाली क्षेत्र नम्बर ५ का संघीय सांसद तथा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले पत्रकारिताविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति सच्याउन महासंघले आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघ कैलालीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका बलायरले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन आग्रह गरेको हो ।


महासंघ अध्यक्ष हिमालय जोशीद्वारा जारी गरिएको विज्ञप्तिमा समाचारका विषयलाई लिएर सार्वजनिक मञ्चमा पत्रकारविरुद्ध जिम्मेवार व्यक्तिले दिएको अभिव्यक्तिले पत्रकार र पत्रकारिता क्षेत्रप्रति अपमान गरिएको ठहर रहेको उल्लेख गरिएको छ । अध्यक्ष जोशीले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘समाचारका विषयमा असहमति भए कानुनी बाटो अपनाउने विकल्प हुँदाहुँदै पत्रकारविरुद्ध अभिव्यक्ति दिनु दुःखद हो । त्यसैले यस्ता अभिव्यक्ति सच्याउन महासंघ आग्रह गर्दछ ।’

सांसद बलायरले बिहीबार कैलालीको गोदावरी नगरपालिका–१ को सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा बिपी स्मृति नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को पार्टी कार्यालयको शिलान्यास गरेका थिए । सोही विषयमा विभिन्न सञ्चार माध्यममा वन क्षेत्रमा अतिक्रमण गरेर कांग्रेसले पार्टी कार्यालय बनाउन लागेको भन्दै समाचार प्रकाशन तथा प्रशारण भएका थिए । उक्त समाचारपछि बलायरको निकै आलोचना भएको थियो ।

आफूविरुद्ध समाचार लेखिएको भन्दै बलायरले गोदावरी नगरपालिकाकै लामितालमा आयोजित पार्टीको कार्यक्रममा पत्रकारविरुद्ध खनिएका थिए । उनले पितपत्रकारिता गरेमा पत्रकारलाई आफ्ना पार्टीका कार्यकर्ताले तह लगाउने अभिव्यक्ति दिएका थिए ।

र, याे पनि

सामुदायिक वनबाट सुकुम्बासीको घर भत्काएर पार्टीको भवन शिलान्यास


Author

थप समाचार
x