मनाइयो आठौँ राष्ट्रिय पत्रकारिता दिवस, पत्रकारलाई सम्मान र पुरस्कार
काठमाडौं– आठौँ राष्ट्रिय पत्रकारिता दिवस, ‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने नाराका साथ मनाइएको छ ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ पत्रकार सम्मान राजेन्द्र दाहाल र बलराम थापालाई प्रदान गरे भने राष्ट्रिय पत्रकार पुरस्कार अनिता बिन्दु, अम्विका दाहाल, गणेश लम्साल, गन्धिरा सहनी, रामकृष्ण ज्ञवालीलाई र लक्ष्मी आचार्यलाई प्रदान गरेका थिए। सो क्रममा प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि भएको बताए ।
राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको उनले बताए । उनले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढङ्गले पहल भइरहेको जानकारी समेत दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया