‘लम्पी स्किन’ को महामारीमा कर्णालीका सात जिल्ला
सुर्खेत- कर्णालीमा गाई–भैँसीमा देखिने ‘लम्पी स्किन’ नामक रोगको महामारी फैलिएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका सात जिल्ला बढी जोखिममा रहेका छन् । कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालिकोट र हुम्लामा यो रोग देखा परेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै सल्यानमा महामारीका रूपमा फैलिएको छ । मुगु, जुम्ला र डोल्पामा भने यो रोग देखा परेको छैन । यो रोगको फैलने दर बढी रहेको मन्त्रालय अन्तर्गतको पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत प्रचण्ड खडले जानकारी दिए ।
‘कर्णालीमा दिन प्रतिदिन यो रोगको फैलावट बढिरहेको छ,’ पशु विकास अधिकृत खड्काले भने, ‘यो रोगबाट मृत्यु हुने दर भन्दा पनि फैलावट नै बढी देखिएको छ ।’
संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् भने कतिपय ठाउँमा चौपाया मरेको खड्काले बताए । प्रदेशका सात जिल्ला मध्ये सबैभन्दा बढी सल्यान जिल्ला प्रभावित बनेको छ । अधिकृत खड्काका अनुसार सल्यानका सबै पालिकामा रोग फैलिएको छ । प्रदेशबाट विज्ञको टोली पुगेर केही दिन त्यहाँ रोग नियन्त्रणबारे अन्तरक्रिया समेत गरेको उनले बताए ।
‘केही दिन अघि हामी विज्ञ टोलीसहित सल्यान पुगेका थियौँ,’ उनले भने, ‘त्यहाँ त्रिवेणी गाउँपालिकाका तीन सय ३२ पशुचौपायाको निरीक्षण गर्ने क्रममा सात वटा मरेको पाइएको थियो ।’
‘लम्पी स्किन’ रोग क्याप्रिपक्स भाइरसका कारण गाई-भैँसीमा लाग्ने अत्यधिक संक्रामक रोग हो । यस रोगका मुख्य लक्षणहरूमा पेट, थुन, घाँटी, पुच्छर वरिपरिको भाग लगायत शरीरका विभिन्न भागमा गिर्खा देखिन्छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी रहने पशु चिकित्सक बताउँछन् । यही रोगको संक्रामकका कारण ८० प्रतिशत दूध ह्रास भएको खड्काकाे भनाइ छ ।
त्यसैगरी पशुले घाँ, पानी नखाने, नाक, खुट्टा सुन्निने र पशु हिँड्डुल गर्न नसक्ने यसका लक्षण हुन् । यस्तै रोग ठीक भएका पशुहरू दुब्लो हुने, निमोनिया हुने र छालामा धब्बा वा प्वाल हुने गर्दछन् । विशेषगरी यो रोग लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाइबाट बढी सर्ने गर्दछ ।
रोग नियन्त्रणको लागि भ्याक्सिन पठाउँदै
कर्णालीका अधिकांश जिल्लामा फैलिएको ‘लम्पी स्किन’ नियन्त्रणका लागि प्रयास हुँदै गरेको मन्त्रालयले जनाएको छ । रोग नियन्त्रणका लागि भ्याक्सिन खरिदको पहल भइरहेको मन्त्रालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले जानकारी दिए । अहिले ४० लाख बराबरको भ्याक्सिन खरिद गरेर पठाउन लागिएको उनले बताए । उक्त भ्याक्सिन नेपाल बाहिरबाट ल्याउनुपर्ने भएको कारण आगामी आइतबारसम्ममा आइपुग्ने उनले बताए ।
रोगको नियन्त्रणको लागि चारदेखि आठ लाखसम्म बजेट रकमान्तर गरी प्रकोप बढेका जिल्लामा समेत पठाइएको खड्काले जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया