समाज

धनुषामा सांस्कृतिक संग्राहालय बन्दै

इकागज |
बैशाख २८, २०८० बिहीबार २०:२१ बजे

जनकपुरधाम- धनुषामा सांस्कृतिक संग्रहालय बन्ने भएकाे छ । जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–२ स्थित बघचौडामा स्थानीय प्राध्यापक परमेश्वर कापडीले दिएकाे जग्गामा सांस्कृतिक संग्रहालय बन्न लागेको हो ।

सांस्कृतिक संग्रहालय निर्माणका लागि मिथिला अभियानी समेत रहेका प्राध्यापक कापडीले आफ्नो ४ कट्ठा निजी जग्गा दिएका हुन् ।


बिहीबार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले साे संग्रहालयकाे शिलान्यास गरेका छन् । संग्रहालयको शिलान्यास गर्दै सभामुख मण्डलले यसले मिथिला क्षेत्रमा एउटा नयाँ आयाम थपिएको बताए । उनले संग्रहालय निर्माण भएपश्चात् यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने दाबी गरे ।

शिलान्यास कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माला कर्ण, हंसपुर नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष जयनारायण कापड, स्थानीयबासी, भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।

सो संग्रहालयमा विभिन्न भेषभुषा झल्काउने पहिरन, मिथिला क्षेत्रमा हाल लोप हुँदै गएका विभिन्न सामग्रीहरू जस्तै ठेकी, बैलगाडा, पालकी, महफा, खरखरिया, करिन, माटोका भाँडाकुँडाहरू राखिने जनाइएकाे छ ।


Author

थप समाचार
x