आउँदाे बर्खामा कहाँ कति हुन्छ वर्षा ?
काठमाडाैं । आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना आँकलन गरिएको छ । आगामी जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थान विशेष फरक रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको विवरण अनुसार आउँदो मनसुनमा सरदभन्दा कम वर्षा हुने अवस्था ३५ देखि ५५ प्रतिशत छ । तथापि कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भू-भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
जसका कारण अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
धेरैजसो भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू-भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भू-भाग र मधेश प्रदेशका पूर्वी भू-भागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
कर्णाली प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका धेरैजसो भू-भाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भू-भाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
कोशी प्रदेशका पश्चिमी भू-भाग, बागमती प्रदेशका धेरैजसो भू–भाग, लुम्बिनी प्रदेशका केही भू–भाग र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बैतडी तथा बझाङलगायतका भू–भागमा सरदरभन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वका थोरै भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया