Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

समाज

नवराजपुर गाउँपालिकाकाे शिक्षक भर्नामा यादव मात्र उत्तीर्ण गराएकाे भन्दै विराेध

इकागज |
जेठ २, २०८० मंगलबार ९:३१ बजे

सिरहा- सिरहाको एक पालिकाले स्वयंसेवक शिक्षक भर्नामा जातीय समावेशी नगरेको भन्दै व्यापक विरोध भएकाे छ । जिल्लाको नवराजपुर गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयका लागि जम्मा २४ जना विषयगत स्वयंसेवक शिक्षक छनोट परीक्षाबाट जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा एकल जातीय भएको भन्दै व्यापक टिकाटिप्पणी भएको हो । 

पालिका भित्रका २० विद्यालयका लागि २४ वटा विषयगत स्वयंसेवक शिक्षक छनौटका लागि लिइएको लिखित परीक्षामा जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा छनोट गरिएका उम्मेदवारहरू मध्ये एक जना शिक्षक ठाकुर थरको र अन्य सबै यादव थरको शिक्षक भर्ना गरिएकाे छ । पालिकाले माग गरेको २४ जना सिट संख्यामा जम्मा ६२ जनाले आवेदन दिएका थिए ।


पहिलो चरणको परीक्षामा ५३ जना सहभागी रहेको मध्ये ४० जना यादव थरको रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम किशोर साहले जानकारी दिए । ‘पहिलो चरणको परीक्षामा जम्मा १५ जना उत्तीर्ण भए जस मध्ये १४ जना यादव र एक जना ठाकुर समुदायका छन्,' उनले भने, ‘आधारभूत तहका लागि जम्मा १७ जना कक्षा ६ देखि ८ सम्मका लागि ३ जना र माध्यमिक तहका लागि ४ जना शिक्षक माग भएको थियो ।’ 

‘हामीले जातीय रूपमा छनोट गरेको हैन, यस गाउँपालिकामा यादव जातिको संख्या बढी भएकाले स्वाभाविक रूपमा यादव नै छनोट हुन पुगेकाे हो, यसमा कसैले केही चलखेल गरेको छैन, ढुक्क भए हुन्छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत साहले, ‘पालिकाको शिक्षा कार्यविधि अनुसार नै परीक्षामा एक जना जिल्ला प्रशासनका प्रतिनिधि, चार जना जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधिहरूको उपस्थितिमा परीक्षा लिएको हो, विषय विशेषज्ञहरूलाई राखेर प्रत्यक्ष रूपमा प्रश्न पत्र बनाएर परीक्षा लिएका हाैँ,’ भने ।  त्यसैले पनि कुनै आशंका नरहेको उनको भनाइ छ । 

शिक्षक छनोटको नतिजा सार्वजनिक भएसँगै विभिन्न खालका प्रतिक्रिया सार्वजनिक भएको छ । नतिजाले आरक्षणको धज्जी उठाएको जानकारहरूको आरोप छ । छनोट भएको सबै एउटै जातिको हुनुले विधि र प्रकृया उल्लङ्घन भएको आरोप पनि लागेको छ । न्युजकारखाना


Author

थप समाचार
x