Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

हाकिम र कर्मचारीबिनै नापी कार्यालय, सहयोगीको भरमा सञ्चालन

इकागज |
जेठ ४, २०८० बिहीबार १७:४२ बजे

सिरहा । सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण कित्ता नापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । यस कार्यालय मातहतमा करिब तीन दर्जन प्राविधिक कर्मचारीहरू कार्यरत रहे पनि कार्यालय भने सहयोगीको भरमा चलेको छ । जनगुनासोपश्चात सञ्चारकर्मीहरू कार्यालयमा पुग्दा दुईजना कार्यालय सहयोगी र एकजना  सवारी चालक मात्र भेटिए । त्यहाँ भेटिएका कार्यालय सहयाेगीहरूलाई कार्यालय प्रमुख कहाँ हुनुहुन्छ? भनी सोध्दा उनीहरूले फिल्डमा गएको जवाफ दिए । 


सञ्चारकर्मी पुग्दा कार्यालय सञ्चालन गर्न भाडामा लिएका जम्मा ११ वटा कोठामध्ये दर्ता चलानी गर्ने कोठा मात्र खुला थियो ।  कार्यालय प्रमुख बस्ने कोठा, प्रशासन, भण्डारण कक्ष, नापी अधिकृत लगायतका कोठाहरू महिनौँदेखि ताला लगाएर राखेको  देखियो। कार्यालय प्रमुखको कक्षको ढोकामा कयौं दिनदेखि नखुलेको जस्तो र पानीको जार राखिएको अवस्थामा  भेटिए ।

यसबारे बुझ्न कार्यालय प्रमुख दिलीप कुमार सिंहलाई फोन गरी कार्यालयमा आएको छु, भेटौं न भन्दा उनले ‘म अहिले अन्य कामले बाहिर आएको छु तत्काल भेट्न सकिन्न पछि भेटौला’ भन्ने जवाफ दिए । साथै उनले थप भने, ‘म अहिले अन्य कामको टेन्सनमा छु, दुई हप्ता अझै तपाइँहरूसँग भेट्न सकिन्न, कार्यालय पनि आउँदिनँ ।’

यस कार्यालय मातहतमा रहेर नरहा गाउँपालिका, मिर्चैया, कर्जन्हा, कल्याणपुर, सिरहा नगरपालिकाहरूमा नापजाँचको काम चलिरहेको छ । नाप जाँचको क्रममा कार्यालयमा सेवाग्राहीहरू भेट्न आउँदा कहिल्यै कर्मचारी फेला पर्दैनन्। 

आइतबारका दिन मध्यान्न तराईको तातो घाममा नरहा गाउँपालिका ४ का ६१ वर्षीय वैजनाथ यादव विशेष नापीले आफ्नो नम्बरी जमिन नापेको विषयमा बुझ्न गएका थिए । तर, उनी कर्मचारी नभएका कारण आफ्नो समस्या सुनाउन नपाई फर्किए । उनी यसअघि नापी कार्यालय सिरहा गएका थिए । सिरहामा विशेष नापीले नापेको हो, मिर्चैया जानुस् भनेर पठाएपछि मिर्चैया विशेष नापीमा त आए तर, उनी कर्मचारी नभेटेरै फर्किनु पर्‍यो ।

यादव मात्र हैन यहाँ आउने हरेक सेवाग्राही सम्बन्धित कर्मचारी नभएकै कारण निराश  भएर फर्किनुपर्ने बाध्यता छ । कार्यालयमा कर्मचारी नभेट्दा उनीहरू कहिले सिरहा त कहिले यसै कार्यालयको मातहतमा रहेको विभिन्न टोलीमा भौतारिने गरेको सुनाउँछन् । न्युजकारखाना
 


Author

थप समाचार
x