हेटौंडामा बृहत् उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न
मकवानपुर- हेटौंडामा बृहत् उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता भएको छ । हेटौंडा उपमहानगरपालिका-४ नम्बर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको समन्वय तथा व्यवस्थापनमा बृहत् उद्यमशीलता प्रदर्शनी तथा अन्तर वडा स्तरीय नृत्य प्रतियोगिता भएको हो ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा उद्यमशीलता प्रदर्शनीमा हेटौंडाका महिलाहरूले उत्पादन गरेका १९ वटा स्टलमा सामग्रीहरू राखिएको थियो । त्यसैगरी हेटौंडाका १७ वडाको सहभागिता रहेको नृत्य प्रतियोगितामा स्थानीय कला र संस्कृतिको सम्वर्द्धन गर्ने गरी आफ्ना-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
नृत्य प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकारले सडक निर्माण मात्रै विकास हो भन्ने कुरालाई छोडेर सबै क्षेत्रको काममा जोड दिन आग्रह गरे । ‘विकासका हरेक कामसंगै अतिरिक्त क्षेत्रमा पनि जोड दिनुपर्छ,’ पौडेलले भने, ‘उद्यमशीलता प्रवर्द्धन कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणलाई सहजता हुनेछ ।’
यसैगरी उद्यमशीलता प्रदर्शनीको उद्घाटन गर्दै बागमती प्रदेशसभाका सदस्य तथा पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले उद्यमशीलतासंगै उद्योगी व्यवसायीहरूको प्रवर्द्धनमा लागि पर्नुपर्ने बताए । श्रेष्ठले भने, ‘यस्ता कार्यक्रमले अन्यलाई पनि प्रेरणा मिल्नेछ ।’
यस्तै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले स्थानीय रूपमा उत्पादित वस्तुहरूको प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । लामाले आगामी दिनमा उपमहानगरपालिकाले उत्पादित वस्तुहरूको बिक्री र बजारीकरण गर्ने सन्दर्भमा थप कार्यक्रमहरू आगामी बजेटमा समावेश गरी अगाडि बढ्ने जानकारी दिइन् ।
कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले आफ्नो वडामा विकास निर्माणका कामसंगै यस्ता महत्वपूर्ण काम गरेर हरेक क्षेत्रको विकासमा जोड दिने बताए । कार्यक्रममा उद्यमशीलता तर्फ हेटौंडा उपमहानगरपालिका वडा नम्बर-५ प्रथम, वडा नम्बर-४ द्वितीय, वडा नम्बर ६ तृतीय, वडा नम्बर २ र १९ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृत हुने वडाहरूलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५/५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै नृत्य तर्फ हेटौंड वडा नम्बर १८ प्रथम, वडा नम्बर १० द्वितीय, वडा नम्बर २ तृतीय, वडा नम्बर ११ र ५ ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कृत हुने वडाका समूहलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३५ हजार, २० हजार र १०/१० हजार प्रदान गरिएको टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा गीतसंगीतको माध्यमबाट सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्ने गायक एवं संगीतकार आशाकाजी श्रेष्ठलाई नगद २५ हजार र सम्मान पत्रसहित स्रष्टा सम्मान गरिएको थियो ।
लोक गायक बद्री पंगेनी र नायिका तथा मोडल ऋचा थापा लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहेको कार्यक्रममा हेटौंडा नगरका विभिन्न टोल विकास संस्था, विभिन्न संघ संस्थाका गरी ५ हजारभन्दा बढी व्यक्तिहरूले अवलोकन गरेको बताइएको छ ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समापन तथा पुरस्कार वितरण हेटौंडा उपमहानगरपालिकाका मेयर लामाले गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया