समाज

भाेजमा विभेद प्रकरण : छलफलमा बोलाएर उजुरी हाल्ने यही हाे भन्दै कुटपिट

इकागज |
जेठ ११, २०८० बिहीबार ११:२८ बजे

सिरहा । भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले  छलफलमा बोलाएर ‘भोजको उजुरी हाल्ने यही मान्छे हो’ भन्दै दलितमाथि कुटपिट गरेका छन् ।

अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर भोजको विषयमा मुद्दा हाल्ने यही हो भन्दै सिरहाको भगवानपुर गाउँपालिका १ का विणुदेव पासवानमाथि कुटपिट भएको हो । 


गाउँमा बनाएको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्ने बाहानामा बोलाएर पासवानलाई नेकपा एमालेका गाउँ कमिटीका पदाधिकारी सूर्यनारायणप्रसाद यादव,  नन्दी यादव, घुरण यादव, देवन यादव, जीवछ यादवसहितले पासमानलाई सामूहिक रुपमा घेराबन्दीमा पारी कुटपिट गरेका छन् ।  

गाउँमा बनेको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्नुछ, हामी दुई/तीनजना बसेर छलफल गरौं भन्दै जीवछ साफीमार्फत योजनाबद्ध तरिकाले बोलाउन लगाएर आफूमाथि सार्वजनिक स्थलमा गाली गलौज र कुटपिट गरेको पासवानले बताए । 

‘मलाई जीवछ साफीमार्फत योजनाबद्ध तरिकाले भगवानपुर १ मुख्य चोकको प्राथमिक स्वास्थ्य केन्द्रमा बोलाएर अनावश्यक रुपले निहुँ खोज्दै गालीगलौज गर्दै यही हो भोजको विषयमा मुद्दा हाल्ने ? यसलाई बाँधेर थुन भन्दै कुटपिट गरे,’ पासवानले भने, ‘पहिला दुई/तीन जना बसेर छलफल गरौं भने पनि पछि उनीहरू सबै एक्कासि जम्मा भएर ममाथि साङ्घातिक आक्रमण गरे ।’ 

पासवानको अध्यक्षतामा रहेको उपभोक्ता समितिले गत आर्थिक वर्षमा गाउँकै मन्दिर निर्माण गरेको थियो । चुनाव नजिकिएकाले त्यसबेला भुक्तानी हुन नसकेका उनले गाउँपालिकाबाट अझै भुक्तानी नपाएको बताए । त्यसको विषयमा छलफलमा बोलाएकाले आफू गएको पासवानले बताए ।

भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवकी आमाको गत २२ फागुनमा भएको शुद्धि भोजमा जातीय आधारमा दलित, मुस्लिम र गैरदलित समुदायलाई छुट्टाछुट्टै ठाउँमा ब्यानर, प्लेकार्ड नै राखेर जातीय विभेद हुनेगरी भोज खुवाएको भन्दै  पासवानसहितका दलित अगुवाहरूले गत ५ चैतमा दिएको  उजुरी १४ गते जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको थियो ।

उजुरी हाल्ने क्रममा पनि गाउँपालिका अध्यक्ष यादव पक्षबाट पीडितहरूलाई धम्की दिएका थिए । त्यही मुद्दाको साक्षी बयानको लागि जिल्ला प्रहरी कार्यालय जानलाई ठिक परेका बेला नियोजित ढंगले बोलाएर आफूमाथि आक्रमण भएको पासवानको भनाइ छ । 

सोही मुद्दा दर्ता गराएको भन्दै पासवानमाथि अध्यक्ष यादवका निकट व्यक्तिहरूले पासवानलाई कुटपिट गरेका हुन् ।  कुटपिटबाट उनको अनुहारसहित शरीरको विभिन्न  भागमा चोटपटक लागेको छ । चोटका कारण उनको ढाडमा समस्या भएको प्रादेशिक अस्पताल लहानले जनाएको छ। 

बिहीबार बिहान छलफलमा बसेका बेला विवाद भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र राज पाण्डेले जनाएको छ । उनले भने, ‘बिहानी छलफलको क्रममा विवाद भएको भन्ने जानकारी पाएपछि प्रहरी टोलीपुग्दा साम्य भइसकेको थियो। त्यसपछि हामीले विशेष जानकारी लिएनौं ।’ न्युज कारखाना


Author

थप समाचार
x