गाँजाको बोटबाट बनेको घरमा रिसोर्ट : आगलागीबाट सुरक्षित, रोगीका लागि उपयुक्त
सिन्धुपाल्चोक- नजिकबाट खुलेको हिमाल हेर्ने मनसायका साथ गएको पुसमा सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु पुगेकी काठमाडौँकी बिना तामाङले अर्काे अनौठो अनुभव पनि संगालिन् । आँखै अगाडि हिमाल देखेर रमाएकी उनी कठ्यांग्रिने चिसोमा न्यानो कोठामा बास बस्न पाइन् त्यो पनि हिमाली गाउँमा ।
समुन्द्री सतहबाट २ हजार ५ सय मिटरको उचाइमा रहेको हेलम्बुको शेर्माथाङमा सञ्चालन गरिएको रिसोर्टमा बास बसेकी उनी त्यहाँको संरचना र भवन निर्माण गर्न प्रयोग गरेको सामग्रीबारे जानकार पाएपछि अचम्भित भएकी हुन् । यहाँ सञ्चालित याङ्ग्रीमा इको लजको साढे चार तलाको भवन पूरै गाँजाको बोटबाट बनेको सुनेपछि उनी दंगै परिन् ।
‘गाँजाको डाँठबाट यस्तो भवन बन्छ भन्ने सुनेको पनि थिइनँ, आफैँ यस्तो घरमा बस्न पाउँदा निकै खुशी भएँ,’ उनले भनिन्, ‘यति चिसोमा पनि कोठा न्यानो भएको अनुभव हुँदा छक्कै परेँ ।’ उनले शेर्माथाङ हिमाली गाउँ रहेकाले यहाँ अर्गानिक खानेकुरा पाउँदा नयाँ अनुभव भएको सुनाइन् ।
हेलम्बुमा ट्रेकिङका लागि पुगेका भक्तपुर बस्ने हेटौंडाका राजेन्द्र शर्माले पनि नयाँ अनुभव गरे । ‘गाँजाका डाँठ यत्तिको उपयोगी हुन्छ भन्ने थाहै थिएन,’ साथीहरूको समूहसँगै पुगेका उनले भने, ‘नेपालमा गाँजाको व्यावसायिक खेती हुनुपर्छ भन्ने बहस चलिरहेको बेला यो देखेर खेती नै गर्नुपर्ने रहेछ भन्ने लाग्यो ।’
गाँजाका बोटले वातावरणमा भएको कार्बन सोसेर भण्डारण गर्ने भएकाले यसले वायुमण्डलमा भएको कार्बन घटाउन मद्दत गर्दछ । ‘आगलागीबाट समेत सुरक्षित हुने सो घरको गाँजाको बोटको भित्ताले इन्सुलेसन’को कामसमेत गर्दछ,’ हेलम्बु घुम्न पुगेका त्रिभुवन विश्वविद्यालयका वातावरण विभागका प्रा. डा. विनोद बानियाँले भनेका छन्, ‘बाहिर बाक्लो हिउँ परिरहेको बेलामा पनि यस्ता घरभित्र सामान्य कपडा लगाएर बस्न सकिन्छ ।’
गुब्को गाउँ भनेर समेत चिनिइने सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँ फल्ने स्याउ, अलैंची, हिमाली गाउँको आलु र मुला राजधानीसहित छिमेकी जिल्लामा प्रख्यात छ । पहिले पहिले नेपाली साहित्य तथा गीतहरूमा पनि यहाँको स्याउको बखान गरिने गरिएको थियो । लगाउन छाडेको करिब १० वर्षपछि हेलम्बुवासीले इतिहास ब्यूँताउन फेरि स्याउका बोटहरू लगाएका छन् ।
यीसँगै हिमाल, झरना अवलोकनका आउने पर्यटकहरू स्थानीय होमस्टेमा बसोबास गर्छन् । अहिले यो गाँजाको डाँठबाट बनेको रिसोर्टले थप पर्यटक आकर्षित गर्ने विश्वास गरिएको सञ्चालक गोपाल लामा बताउँछन् ।
गाँजाको बोटको प्रयोग गरेर निर्माण गरिएको २२ वटा कोठा भएको चार तल्ले घरमा रिसोर्ट सञ्चालन गरिएको हो । हेलम्बु गाउँपालिका–२ शेर्माथाङमा लामाले निर्माण गरेको उक्त घरमा याङ्ग्रीमा इको लज सञ्चालनमा आएको हो ।
इँटा वा ढुङगा प्रयोग गरेको घरभन्दा सस्तो र टिकाउ हुनुका साथै गाँजाको बोट प्रयोग गरी निर्माण गरिएको घर कार्बन न्यूनीकरणमा पनि सहयोगी हुने रिसोर्टका सञ्चालक लामाको दाबी छ ।
यस्ता घर बाक्लो भित्ता हुने गरी बनाइएको र गाँजाको बोट र चुना प्रयोग गरिएको कारण यो आफैँ न्यानो पनि हुने भएकोले दम, वाथजस्ता रोग लागेका मान्छेलाई समेत यो घर उपयुक्त हुने उनी बताउँछन् । ‘त्यस्ता रोगीलाई सिमेन्ट घरको केमिकलले पनि असर गर्छ, तर गाँजाको बोटबाट बनेको घरमा कुनै रासायनिक पदार्थ नहुने भएकोले यो ज्यादै उपयोगी हुने अध्ययनबाट जानकारी भएपछि गाँजाका डाँठ ल्याएर घर बनाएका हौं,’ उनले इकागजसँग भने ।
चार तल्ला अग्लो उक्त घरमा शौचालय र बाथरुमबाहेक २२ कोठा छन् । घरको पिलर, बिम, ढलान, पार्टेसन र भर्याङ आरसिसि (कंक्रिट) मोडलबाट बनाइएको भए पनि घरको बाहिरी भित्तामा भने गाँजाका डाँठ प्रयोग गरिएको छ । गाँजाको डाँठमा चुनाको घोल बनाई फर्मा बनाएर शेरवाल लगाए जसरी उक्त पर्खाल लगाइएको छ । सो घर निर्माणमा आवश्यक १२ टन गाँजाका डाँठ बझाङबाट ल्याइएको सञ्चालक लामाले बताए ।
बझाङमा उत्पादन भएको गाँजाको बोटबाट गाउँपालिकाको रोहवरमा लागूपदार्थजन्य मानिने सामग्री हटाएर त्यहीँ नष्ट गरि गाउँपालिकाले लागूपदार्थ नभएको किटानी दिएपछि सोही सिफारिसका आधारमा जनकपुरमा ल्याएर सो डाँठलाई मेसिनको सहायताबाट टुक्रा गरिएको थियो ।
गाँजाको डाँठका टुक्रामा घोल्ने १६ टन चुना भने भारतको जयपुरबाट ल्याइएको हो । नेपालमा पाइने चुनामा मिसावट भएको फेला परेपछि त्यसबाट सोचे जस्तो फाइदा नहुने भएको र भारतबाट राम्रो चुना झिकाइएको उनले बताए । गाँजाको डाँठ मिसाएर बनाइएको घर सिमेन्टको भन्दा बढी टिक्ने गोपालको भनाइ छ । ‘घरको आयु धेरै हुनुमा चुना सिमेन्टभन्दा टिकाउ हुनु पनि हो । सोही चुनाले डाँठको आयु पनि बढाउँछ,’ उनी भन्छन् ।
गोपालले सो घर व्यावसायिक प्रयोजनका निम्ति बनाएका हुन् । घरको तीन वटा तलामा होटल तथा लज सञ्चालन भइरहेको छ । चौथो तल्ला उनले आफ्नै प्रयोगको लागि सुरक्षित राखेका छन् । दुई करोड पचास लाखभन्दा बढी लगानीमा बनेको घरलाई उनले व्यावसायिक रूप दिएका हुन् ।
गोपालले सो घरमा सञ्चालित रिसोर्टको आम्दानी पनि सामाजिक सेवामा खर्च गर्ने गरेका छन् । सो होटलमा भएको आम्दानी हेलम्बु क्षेत्रमै शिक्षा, युवा र विपद्को क्षेत्रमा काम गरिरहेको जस्ट नेपाल फाउण्डेसन नामक गैरसरकारी संस्थामार्फत सामाजिक काममा खर्च हुने गरेको छ । कोभिड महामारीमा व्यापार नहुँदै पनि रिसोर्टको नाफाबाट २ लाख ५० हजार रुपैयाँ फाउण्डेसनलाई सहयोग गरेको गोपालले बताए ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजा खेतीका लागि गाँजाको औषधिजन्य सम्भाव्यता अध्ययन गरिने व्यवस्था गरिने बताएको छ । सो वक्तव्यपछि गाँजा खेतीको चर्चासमेत चुलिएको छ । व्यावसायिक रूपमा खेती गरिनुपर्ने माग राखेका पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले यो विषयलाई सकारात्मक ठान्दै बजेटमै समावेश गरेकोमा खुशी व्यक्त गरेका छन् । तामाङले संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्तासमेत गरेका थिए ।
पूर्व मन्त्री तामाङले बजेटमा यो विषय आएपछि फेसबुकमा लेखेका छन्, ‘अब हामी सबै भएर लागौँ, हाम्रो अभियानले सार्थकता पाउनेतर्फ अघि बढेको छ ।’ तामाङ सिन्धुपाल्चोक–२ बाट प्रतिनिधित्व गर्छन् । हेलम्बु पनि यही क्षेत्रमा पर्छ ।
पर्यटकीय क्षेत्र हेलम्बुमा जुन र जुलाई बाहेकका सबैजसो समयमा पर्यटकहरू आउने गर्दछन् । पहिले पहिले विदेशी पर्यटकले मात्रै भ्रमण गर्ने सो स्थान अहिले नेपाली पर्यटकको रोजाइमा समेत पर्न थालेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘पर्यटनमा हेलम्बुको पहिचान छ,’ उनले इकागजसँग भने, ‘पर्यटकको आकर्षणका लागि एकीकृत बस्ती, होमस्टे, बन्जीहरूको व्यवस्था गरिएको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया