जो अरुको घरमा रङ लगाउँछन्, तर आफ्नै जिन्दगी छ रङहीन
२९ वर्षीय लवकुमार ठाकुर मजदुर हुन् । उनी घरमा रङ लगाउने काम गर्छन् । तर, अरुका घर रङ्याएर चिरिच्याँट्ट बनाउने उनको जिन्दगी भने रङहीन छ । यसो भनौँ, उनको जीवन रङहीन बनाइन्छ, काम गरेको ज्याला नदिएर । विगत ९ वर्षदेखि यो पेसा अँगाल्दा उनी दशौँपल्ट ठेकेदारबाट ठगिएका छन्, शोषित भएका छन् । उनलाई कुनै ठेकेदारले एक सुको पनि दिँदैनन् त कसैले आधा मात्र दिन्छन् ।
गत शनिबार ठाकुरसँग एक ठेकेदारले जडीबुटीस्थित एउटा घरमा रङ लगाउने प्रस्ताव राखे । उनले प्रस्ताव सकारे । दुई पक्षबीच ७ हजार रुपैयाँमा काम गर्ने, गराउने सहमति भयो । उनले चार दिन लाएर काम सके । तर, उनले अहिलेसम्म पैसा पाएका छैनन् । ठेकेदारलाई फोन गर्दा उठ्दैन । उठिहाल्यो भने पनि गाली पाइन्छ ।
फोन गर्दागर्दा थाकेपछि आफूमाथिको अन्याय सुनाउन ठाकुर प्रहरीकहाँ पुगे । तर, उनले प्रहरीबाट पनि सहयोग पाउन सकेनन् । प्रहरीले यसमा आफूले केही गर्न नसक्ने भन्दै उनलाई श्रम कार्यालय जान सिफारिस गर्यो । उनी गए । तर, श्रम कार्यालयले उनलाई प्रहरीमै जान भन्यो । ‘म प्रहरी र श्रम कार्यालयको चक्कर काट्दा काट्दा थाकिसकेँ,’ उनले इकागजसँग दिग्दारी पोखे, ‘म काम गरुँ कि प्रशासन धाऊँ ?’
प्रहरी र श्रम कार्यालय धाएको यो पहिलोपल्ट होइन । दशौँपल्ट धाइसकेका छन् । सम्बन्धित निकायबाट पनि सुनुवाइ नभएपछि अब भने उनले थप नधाउने निधो गरेका छन् । अचेल उनी मिडिया गुहार्दै हिँडिरहेछन् । यही क्रममा ठाकुर इकागजमा आइपुगे ।
धनुषा शान्तिपुर स्थायी घर भएका ठाकुर सिनामंगलको एउटा होटलमा बस्छन् । खाना र बसाइका लागि उनलाई दैनिक ७ सय रुपैयाँ आवश्यक पर्छ । त्यो रकम सधैँ जुट्न सक्दैन । ‘ठेकेदारबाट पैसा नपाउँदा कहिलेकाहीँ भोकै बस्न सकिन्छ, तर होटलको भाडा त सधैँ तिर्नुपर्यो नि,’ उनले सुनाए, ‘ढिलो हुँदा साहुले कराउँछ ।’
गएको वैशाख ४ गतेको कुरा हो । उनलाई एक ठेकेदारले हरिहर भवनस्थित एक घरमा रङ लगाउने काममा लगे । एक सातामा काम सकियो । ठेकेदारले पैसा भोलि दिन्छु भन्दै आफ्नो नम्बर थमाए । तर, अर्को दिन कल गर्दा फोन उठेन । थुप्रैपल्ट प्रयास गर्दा बल्लबल्ल फोन उठ्यो, तर उनले पैसा होइन गाली पाए । ‘ठेकेदारले धेरै हल्ला नगर नत्र तँलाई गायब बनाइदिन्छु भन्यो,’ उनले भने ।
ठाकुरले केही ठेकेदारको नम्बर हामीलाई उपलब्ध गराए । हामीले थुप्रैपल्ट फोन गर्दा पनि कुनै उठेनन् । सधैँ एउटै सँग काम नगर्ने भएकाले उनलाई ठेकेदारको नाम थाहा हुँदैन । ठेकेदारहरूले पनि उनलाई आफ्नो नाम भन्दैनन् । भन्छन् त केवल, उनीहरूले ठाकुरलाई आफ्नो सधैँ अफ हुने, लागे नउठ्ने र उठिहाले भने पनि गाली फर्काउने नम्बर ।
ठाकुर यो श्रृंखलावद्ध शोषण र ठगीबाट आजित भइसकेका छन् । तर, उनीसँग कतै जाने ठाउँ छैन । गाउँमा गरिबीले सताएपछि कामको खोजीमा ९ वर्षअघि काठमाडौं आएका थिए, उनी । सहरमा उनले काम त पाए, तर त्यसले उनको गरिबी छलिएन ।
ठेकेदारको सास्तीबाट मुक्त हुन ४ वर्षअघि उनी साउदी अरब गए । तर, त्यहाँ उनलाई हावापानीले साथ दिएन । अस्वस्थ भएपछि उनी केही महिनामै नेपाल फर्किए । नियतिले उनलाई फेरि त्यहीँ पुर्यायो, जहाँबाट उनी उम्किन खोजेका थिए ।
उनको नागरिकता पनि एक ठेकेदारले लगेर हराइदिए । नागरिकता नभएकै कारण उनी थुप्रैपल्ट राम्रो दाम आउने कामबाट वञ्चित हुनुपरेको छ । पैसा नभएरै पुनः नागरिकता प्राप्तिका लागि उनी गाउँ जान सकेका छैनन् ।
धनुषामा उनका बाआमा छन् । ‘उहाँहरूले छोराले केही ल्याइदेला भन्ने आशा गर्नुहुन्छ, तर उहाँहरूको अपेक्षा पूरा गर्न सक्ने मेरो अवस्था छैन । त्यसैले पनि धेरै भयो म घर गएको छैन,’ फिस्स हाँस्दै उनले भने ।
ठाकुर आफ्नो व्यथा सुनाउन विभिन्न पार्टीका किसान–मजदुर संगठन पनि पुग्छन्, तर न्याय दिलाउन कसैले पहल गर्दैन । उनलाई किसान–मजदुरको हकहितका लागि खुलेका संगठनहरू बुख्याँचामात्र लाग्छन् । उनी भन्छन्, ‘यो देशमा किसान–मजदुरको न्यायका लागि न पार्टी बोल्छन् न त तिनका संगठनहरू ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया