समाज

उद्यमशीलताका लागि प्रदेश स्तरीय युवा सम्मेलन गरिँदै

इकागज |
जेठ २९, २०८० सोमबार १९:२८ बजे

मकवानपुर- युवालाई उद्यमशीलता र उच्च व्यक्तित्व विकासमा टेवा पुर्याउँदै आत्मर्निभर र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ बागमती प्रदेशको हेटौंडामा बागमती प्रदेश युवा सम्मेलन २०८० हुने भएको छ ।

बागमती प्रदेश युवा परिषद्ले आगामी ११ र १२ असारमा हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको हो । यसका लागि प्रदेश युवा परिषदको कार्यालयमा सचिवालय समेत स्थापना गरिसकिएको छ । 


सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशीताको आधारमा युवाको सहभागिता रहने युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए । 

युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको चौलागाईंले बताए ।

सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातिप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई स्रोत व्यक्तिका रूपमा सहभागी गराइने छ ।

सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर अन्तरक्रियात्मक सहभागिता जनाउने छन् ।

दुई दिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ। सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् । कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो ।

यसैगरी सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुन् । 

यसैगरी सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् ।

उद्यम एवं व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछन् । 

डा कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक छन् भने पूर्वमिस नेपाल श्रेष्ठ नेपाली उत्पादनको प्रवर्द्धनमा सक्रिय छिन् ।

यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतको प्रस्तुति रहनेछ ।

सम्मेलनमा १५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुन २० देखि ३५ वर्ष उमेर समूह तोकिएको छ । 'युवाको सहभागितालाई प्रभावकारी बनाउन जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तीमा २ जना युवा महिलालाई सहभागी गराउने छौ,' चौलागाईंले भने । 

यसका लागि प्रत्येका जिल्लाबाट जिल्ला युवा समितिमार्फत नै ७५ जना सहभागी सिफारिस गर्नेछ । यसैगरी अनलाइनमार्फत सहभागिताका लागि ६० जना युवा सहभागी हुनेछन् । यस्तै सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुनेछन् ।

कार्यक्रमबारे पत्रकार सम्मेलन गर्दै चौलागाईंले लक्ष्यित वर्ग र समुदायको व्यक्तिलाई सहभागी गराउन विशेष पहल गरिने बताए । पत्रकार सम्मेलनमा प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले युवालाई स्वरोजगार र स्वावलम्बी बनाउन यो सम्मेलन महत्वपूर्ण हुने बताइन् ।

सम्मेलनमा सहभागिताका लागि केही मापदण्ड तोकिएको चौलागाईंले बताए । जसअनुसार मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा र दोलखाको ८ जिल्लाबाट दलित जनजाति तथा सीमान्तकृत समुदायबाट १ जना, सामाजिक सार्वजनिक संघ संस्थामा क्रियाशील रहेकाबाट १ जना, युवा उद्यमी १ जना, स्नातक तहको विद्यार्थी उत्कृष्ट १ जना र खुल्ला १ जना गरी ४० जना रहने छन् । 

तोकिएको लक्षित क्षेत्रबाट काठमाडौँ जिल्लाबाट ८ जना सहभागी रहने छन् । यसैगरी ललितपुर, भक्तपुर र चितवनबाट २१ जना, काभ्रेपलाञ्चोक जिल्लाबाट ६ जना र बागमती प्रदेश युवा परिषद्को सिफारिसमा १५ जना गरी कूल १५० जना सहभागी हुने छन् । यसका लागि करिब १२ लाख खर्च अनुमान गरिएको छ ।


Author

थप समाचार
x