टिकटकले बढायो साइबर अपराध, बालबालिका र महिला उच्च जोखिममा
चार वर्षमै १८ हजारले गराए निवेदन दर्ता
काठमाडौँ- दुई वर्षअघि कल्पना मगर ( नाम परिवर्तन ) कक्षा आठमा पढ्थिन् । पढाइ राम्रो भएकाले उनले जे जे भन्यो परिवारले त्यो त्यो कुरा पूरा गर्दै गइरहेका थिए । तर समय बित्दै जाँदा उनको पढाइलाई माेबाइलले उछिन्यो । काठमाडौँ स्थायी घर भएकी १४ वर्षीया कल्पनाको ध्यान पढाइ भन्दा मोबाइलले तान्न थालेको थियो । स्कुलबाट आएपछि आँखाले मोबाइल खोज्थ्यो । झोला बिसाएपछि उनका हात सिधै मोबाइलमा पुग्थे ।
स्कुल जाने बेलामा मात्र कल्पनाले झोला खोज्थिन् । उनले होमवर्क बिर्सिन् र मोबाइललाई सबैथोक ठान्न थालिन । तर, स्कुलको पढाइलाई भने नियमित गरिरहेकी थिइन् ।
उनको कक्षा र उमेर सँगसँगै बढ्दै थियो । योसँग बढ्दै गयो मोबाइल खेलाउने समय । युट्युब छाडेर कल्पना यतिबेला मोबाइलको ‘स्न्याप च्याट’ लती बनिसकेकी थिइन् । स्न्याप च्याटबाट उनको मनीष भुजेलसँग चिनजान भयो । चिनजान मात्र भएन उनीहरूले एकआपसमा माया साटिसकेका थिए । मन र नम्बर पनि साट्न भ्याए ।
कक्षा ८ बाट अंकुराएको उनीहरूको प्रेम फक्रँदै गयो । कक्षा १० सम्म पुग्दा उनको प्रेम र उमेर बढिसकेको थियो । पोखराका २१ वर्षीय मनिषले कल्पनालाई अनलाइनबाटै माया जालमा पारेका थिए । उनीहरूको बाक्लै कुराकानी भइरहन्थ्यो र दिनप्रतिदिन प्रेम झांगिदै गयो । किताब र स्कुलको ज्ञानले भन्दा उनलाई मनिषको प्रेमले बढी तानेको थियो ।
उनी मनिषको प्रेममा थिइन् । कहिल्यै नदेखेको मनिषसँग खुलिन् । परिवारको बारेमा बताइन् । आमाको फेसबुक आइडी पनि सेयर गरिन । उनले भनेको सबै कुरा मान्दै गइन ।
स्न्याप च्याटबाट कुरा भाइबरमा हुन थाल्यो । म्यासेज आदान-प्रदान सामान्य भयो । भिडियो कल पनि हुन थाल्यो । तर, उनीहरूको अहिलेसम्म प्रत्यक्ष भेटघाट भएको थिएन।
कल्पनालाई उनीसँग भएको कुरा सामान्य लाग्दै गयो । मनिषले उनलाई फोटो माग्न थालेका थिए । फोटो पनि पठाइन् । बिस्तारै उनले नंग्न तस्विर माग्न थाले । त्यो पनि पठाइन् ।
‘सुरुमा फोटो पठाउन मानेको थिइन् । विश्वास लागेपछि फोटो पठाएँ,’ कल्पनाले भनिन,’ केही दिनमा नांगै भिडियो बनाएर पठाउन भन्यो त्यो पनि मान्दै गएँ ।‘ उनीहरू दुवै बीच नियमित फोटो र भिडियो पठाउने क्रम चलिरहयो । विस्तारै उनलाई वास्ता गर्न छोडिन् ।
उनी बिस्तारै मनिषबाट टाढा हुँदै गइन् । उनीहरूबीच बोलचाल पातलिदै गयो । कुराकानी हुँदा पनि मनिषले फोटो र भिडियो मागिरहे । उनले मनिषलाई बेवास्ता गर्दै गइन् ।
कल्पनालाई धम्की दिदैँ भन्थे,’ मलाई फोटो र भिडियो नपठाए यसअघि पठाएको भिडियो सार्वजनिक गरिदिन्छु ।‘ भिडियो र फोटो उनले रेकर्ड गरेर राखेका थिए ।
नबोल्दा ती पुराना फोटो, भिडियो र सामग्री उनको म्यासेज बक्समा पुग्थ्यो । उनी डराइन र बिस्तारै टाढा हुँदै गइन् । छोरीसँग सम्पर्क नभएपछि फेसबुकमा आमाको खोजी गरे ।
मनिषले आमाको फेसुबकमा पनि छोरीको फोटो र भिडियो पठाउन थाले । छोरीको फोटो र भिडियो म्यासेजमा आउँदा उनी अवाक् बनिन् । यता भने छोरीको पहिलेजस्तो बानी-व्यवहार थिएन । परिवर्तन आइसकेको थियो ।
कल्पना शौचालयमा धेरै समयसम्म बस्ने । बानी-व्यवहार र अरु कुरामा पनि परिवर्तन आएको थियो । टोलाएर बस्ने । छोरीमा आएको परिवर्तनलाई आमाले नियालिरहेकी थिइन् । उनको हरेक व्यवहारलाई आमाले नियाल्दै थिइन् ।
‘के भयो किन टोलाएको । पहिले जस्तो अहिले छैनौँ । कसरी परिवर्तन आयो?,’ कल्पनालाई आमाले सोधिन् । उनले आमालाई आफूले भोग्दै आएको सबै समस्या बताइन् । आफू कुनै युवकबाट पीडित भएको कुरा आमालाई सुनाइन् ।
आमाले पनि उनलाई भनिन्,’ मैले सबै थाहा पाइसकेको छु । अब यसको समाधान खोज्नुपर्छ ।‘ आमाले उनलाई तत्कालै भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा लगिन । ब्यूरोमा निवेदन दर्ता गराइन् । उजुरी दिएको केही दिनमा कास्की प्रहरीको सहयोगबाट मनिष भएको ठाउँ पत्ता लाग्यो र पक्राउ परे ।
यो साइबर अपराधको एउटा दृष्टान्त मात्र हो । जसले हजारौं मानिस साइबर अपराधबाट पीडित बन्दै गइरहेको पुष्टि गर्छ । भोटाहिटीस्थित साइबर ब्यूरोमा दैनिक यस्ता घटनाको उजुरी बढ्दो क्रममा छ । ब्यूरोमा ५० भन्दा बढी निवेदन दर्ता हुने गरेको छ ।
वार्षिक रुपमा सामाजिक सञ्जालबाट देशभर पीडित हुनेहरूको संख्या पनि बढ्दै गएको छ । ब्यूरोमा दर्ता भएका निवेदनको संख्याले मुलुकमा साइबर अपराधका घट्ना बढ्दै गएको देखिन्छ ।
चार आर्थिक वर्षको व्यूरोबाट प्राप्त तथ्यांकका आधारमा कुल १७ हजार ८ सय ४९ निवेदन दर्ता भइसकेका छन् । विभिन्न समयमा गरी फेसबुक, भाइबर, इमो, युट्युब, ह्यवाट्सएप, टवीटर, इन्स्टाग्राम, टिकटक, इमेल, इसेवा, वेभसाइट ह्ययाकिङ र बैंक जस्ता वित्तीय अपराधका घटनाबाट पीडित बनेर ब्यूरोमा दर्ता हुने गर्नेको संख्या बढ्दै गएको छ ।
साइबर ब्युरोमा आर्थिक वर्ष २०७६/०७७ मा पीडितले २३०१ निवेदन दर्ता गराए । २०७७/०७८ मा ३९०६ दर्ता भयो । २०७८/०७९ मा ४६८६ र २०७९/०८० मा ६९५६ निवेदन दर्ता भएको थियो ।
ब्युरोले दर्ता भएका निवेदनका आधारमा हालसम्ममा ३ सय ६० जनामा मुद्दा चलाइसकेको छ । आ.व २०७६/०७७ मा ५० मुद्दा दर्ता भएका थिए । २०७७/०७८ मा ७६ मुद्दा दर्ता भए । २०७८/०७९ मा १३२ र २०७९/२०८० मा ११० मुद्दा दर्ता भएका थिए ।
साइबर अपराधका घटनामा महिला र बालिकाहरू पीडित हुने गरेको ब्यूरोबाट प्राप्त तथ्यांकले जनाएको छ । आ.व २०७६/०७७ मा ११५८ महिलाले निवेदन दर्ता गराएको थिए । आ.व २०७७/०७८ मा २००३, आ.व २०७८/०७९ मा २३८९ र २०७९/०८० मा ३५४७ महिलाले निवेदन दर्ता गराएका थिए ।
ब्युरोका अनुसार निवेदकले दिए पनि पीडकको परिचय मात्र पत्ता लगाउन माग गर्छन् । कतिले आइडी डिलेट गर्न माग गर्छन् । आवश्यक कारबाही गराइपाउँ भन्ने पीडितको संख्या भने कम हुने गरेको ब्युरोकाे भनाइ छ । यसरी पीडित बनाउनेमा आफन्तहरु पनि हुने र यही कारण जाहेरी नपर्ने पनि ब्युरोको निष्कर्ष छ ।
ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले पीडित हुनेमा अविवाहित महिलाको संख्या पहिलो नम्बरमा रहेको बताए। पछिल्लो समय भने साइबर अपराधबाट दुवै थरीका विवाहित महिला पनि पीडित हुन थालेको उनको भनाइ । बालबालिका पनि आजभाेलि साइबर अपराधको सिकार बन्न थालेको खड्गीले बताए ।
'महिला र बालबालिका साइबर अपराधबाट पीडित हुनेको संख्या बढ्दै गएको छ,' उनले भने,' दैनिक निवेदन दिनेमा बालिकाको पनि निवेदन दिने क्रम बढ्दो छ । बालबालिकाको हातमा मोबाइल दिनु नै उनीहरू पीडित हुने मुख्य आधार हो ।'
‘महिलाहरूमा फुर्सद हुँदा जानेर वा नजानेर पनि मोबाइल चलाउँदा साइबर आक्रमणमा पर्ने गरेका छन्,’ उनले दृष्टान्त सुनाउँदै भने,’ सामाजिक सञ्जालमा साथी बन्छन् र विस्तारै तिनीहरूबाट पीडित हुन्छन् । बालबालिकाहरूलाई सुरुदेखि मोबाइल दिने बानीले पनि उनीहरूको व्यवहार बिग्रेको हुन सक्छ ।' तिनै पीडित ब्युरोमा उजुरी लिएर आइपुग्ने गरेको उनले प्रस्ट पारे ।
सञ्जालमा दुवैले सम्बन्ध राम्रो हुँदा फोटो र भिडियो पठाउने र सम्बन्ध बिग्रिएपछि त्यही सामग्री पठाएर पुरुषले महिलालाई पीडित बनाउने खड्गीले जानकारी दिए ।
सामाजिक सञ्जाल मध्ये पनि टिकटकबाट पीडित हुनेको संख्या बढ्दै गएको छ । टिकटकमा महिलाले बनाएका भिडियोमा पीडकले अनावश्यक कमेन्ट गर्दा उनीहरू पीडित भएको गुनासोसहित ब्युरोमा निवेदन लिएर पुग्छन् ।
ब्युरोमा पीडित स्वयम उपस्थित भएर पनि निवेदन सक्छन् । पीडित उपस्थित हुन नसकेमा ब्युरोको इमेल ठेगानमा प्रमाणसहित निवेदन दिएमा अनुसन्धान गर्न सक्ने खड्गीले जानकारी दिए ।
बालबालिकाका हातमा मोबाइल हुँदा जोखिम बढ्यो
मध्यमस्तर आय भएका महिलाहरू साइबर अपराधको सिकार हुने गरेको ब्यूरोका प्रहरी प्रमुख नवीन्द्र अर्याल बताउँछन् । निम्न आय भएका महिलाहरू कम पीडित छन् ।
हाइ प्रोफाइलका महिलाहरूमा यस्ता समस्या देखिए पनि उनीहरू उजुरी गर्दैनन् । उनी भन्छन्,’ इज्जत जाने र आफ्ना कुरा सार्वजनिक हुने त्रासले पनि उनीहरू निवेदन लिएर आउँदैनन् ।‘
साइबर ब्युरोले दिएको तथ्यांकअनुसार अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका महिलाहरू पीडित छन् । गृहिणी, चर्चित महिला कलाकार , सामाजिक सञ्जालमा भाइरल र शिक्षित महिला पीडित हुने गरेको ब्यूरोले जनाएको छ । सम्बन्ध बिग्रेपछि बदलाको भावले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दा यस्ता घटनाबाट पीडित हुने अर्यालले बताए ।
उनका अनुसार भौतिक रुपमा अगाडि बढ्न नसक्नेहरूले साइबर क्राइम गर्न पुग्छन् । कुनै पनि समुदाय र सम्प्रदायका कुरासँग सहमत हुन नसक्दा र प्रविधिमा ज्ञानको अभाव आदि कारणले साइबर क्राइमका घट्ना हुने गरेका छन् ।
साइबर क्राइम जिल्ला अदालत काठमाडौँले मात्र हेर्छ । सरकारले साइबर क्राइमको मुद्दा अन्य अदालतले हेर्ने व्यवस्था नगर्दा काठमाडौँले मात्र हेर्ने गरेको छ ।
पुरुष पनि साइबर अपराधको घटनाबाट टाढा रहन नसकेको तथ्यांकले जनाएको छ । आ. व २०७६/०७७ मा ९५७ जना पुरुष थिए । २०७७/०७८ मा १४७१ जना पुरुष छन् । २०७८/०७९ मा १८९८ र २०७९/०८० मा २८५६ जना पुरुष पीडित बनेका छन् ।
प्रत्येक वर्ष पीडितको निवेदनका आधारमा प्रतिवादीहरू पक्राउ पर्नेको संख्या बढ्दै गएका छन् । आ.व २०७६/०७७ मा पुरुष र १ महिला पक्राउ परेका थिए । २०७७/०७८ मा ५० पुरुष पक्राउ परे । २०७८/०७९ मा ९७ पुरुष र १५ महिला पक्राउ परेका थिए । त्यसैगरी, २०७९/०८० मा ७८ पुरुष र १२ महिला पक्राउ परेका थिए ।
बालबालिका पनि साइबर अपराधको निशानामा पर्न थालिसकेका छन् । अहिले किशोरकिशोरीको हातमा मोबाइल राखिदिँदा उनीहरू साइबर अपराधको उच्च जोखिममा परेका छन् । साथीहरूसँग सम्पर्क गरेर बाहिर निस्कने र अवाञ्छित गतिविधि गरेर सामाजिक सञ्जाललाई प्रयोग गर्ने गरेको पाइएको छ ।
आ.व २०७९/०८० मा बालक ३३ र ८७ बालिका पीडित भएको ब्युरोले जनाएको छ । २०७८/०७९ मा ४१ बालक र १४२ बालिका छन् । २०७७/०७८ मा ५६ बालक र १५२ बालिका छन् । २०७६/०७७ मा १६ बालक र ८८ बालिका रहेका छन् ।
आ.व २०७९/०८० मा साईबर ब्युरोमा ५५२३ निवेदन दर्ता भयो । कोशी प्रदेश प्रहरी कार्यालयमा २६१, मधेस प्रदेशमा १५२, बागमती प्रदेशमा २५०, गण्डकी प्रदेश प्रहरी कार्यालयमा १२६, लुम्बिनी प्रहरी प्रदेश कार्यालयमा ३०४, कर्णाली प्रदेश प्रहरी कार्यालयमा ८४ र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा १०५ निवेदन दर्ता भएका थिए ।
साइबर अपराधमा कस्ता कानुन आकर्षित हुन्छन् ?
विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद-९ मा उल्लेख गरिएका अपराधहरू साइवर अपराध अन्तर्गत पर्छन् । दफा ४६- कुनै संस्थालाई गलत तरिकाले हानी नोक्सानी पुर्याउनका लागि कम्प्युटरमा रहेको कुनै सूचनालाई नष्ट गरेमा, क्षति पुर्याए वा मेटाएमा र हानिकारक प्रभाव पारेमा कसुर गर्ने व्यक्तिलाई दुई लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै हुन सक्छ ।
दफा ४७मा उल्लेख भएअनुसार सार्वजनिक रुपमा नैतिकता शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा । कसैप्रति घृणा वा द्वेष फैल्याउने वा कम्प्युटर वा इन्टरनेटको प्रयोगबाट विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गरेमा, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा अर्मयादित कार्य गरेमा र गर्न लगाएमा साइबर अपराध गरेको मानिने छ । यस्ता अपराध गर्ने व्यक्तिलाई १ लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद गरिने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
‘साइबर सेक्युरीटीको ज्ञान छैन’
अधिवक्ता तथा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले विद्युतीय कारोबार, साइबर सुरक्षा, अनलाइन नियमनका केही पक्ष समेट्ने गरी विद्युतीय कारोवार ऐन २०६३ रहेको भए पनि हालको अवस्थामा उक्त कानुन अपर्याप्त र अपुरो रहेकाे बताउँछन् ।
‘नेपालमा साइबर सेक्युरिटी सम्बन्धी अभ्यासले व्यापकता पाइसकेको छैन ।संस्थागत रुपमा केही हदसम्म साइबर सुरक्षाको अभ्यास भइरहेको भए पनि त्यो त्यति बलियो छैन,’ अधिवक्ता सिग्देलले भने,’ निजी तथा सरकारी निकायहरूमा पछिल्लो चरणमा भइरहेका साइबर आक्रमण र तथ्यांक चोरीका घटनाहरूले पनि त्यसलाई पुष्टि गर्दछन् । धेरै मानिसलाई साइबर सेक्युरिटी सम्बन्धी ज्ञान छैन ।‘
नीतिगत रुपमा हेर्दा साइबर सुरक्षा सरकारको मूल प्राथमिकतामा नपरेको जस्तो देखिएको उनको भनाइ छ । ’सरकारले राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदा ल्याएको ३ वर्ष बितिसक्दा पनि टुंगोमा पुर्याएको छैन । त्यसैगरी सूचना प्रविधि विधेयक पछिल्लो संसदमा लामो समय अल्झिएर अस्तित्वविहिन भयो,’ उनले अगाडि थपे ।
अब सूचना प्रबिधि विधेयक संसदमा लैजादा सरोकारवालासँग छलफल पश्चातमात्र लगिनुपर्ने उनले धारणा राखे । अहिलेको समय र आवश्यकतालाई सम्बोधन गर्न सक्छ सक्दैन भनेर सार्वजनिक परामर्श हुनुपर्ने सिग्देलको तर्क छ ।
सूचना प्रविधि क्षेत्रलाई यथोचित रुपमा सम्बोधन गर्न सूचना प्रविधि विधेयक सँगसँगै साइबर अपराध सम्बन्धी कानुन, साइबर सुरक्षा सम्बन्धी कानुन र इ-कमर्स कानुन संसदले यथाशिघ्र निर्माण गर्नुपर्ने अधिवक्ता सिग्देल बताउँछन् ।
‘राम्रो कामको लागि थलो बनाउनु’
फेसबुकमा स्वयम् व्यक्तिले किन र कसका लागि लेख्ने त्यो कुरा थाहा पाउनुपर्ने समाजशास्त्री डा. मिना उप्रेती बताउँछिन् । व्यक्तिगत कुरा, सामाजिक संरचना तथा समाजले कस्तो संकेत गरिरहेको त्यस बारेमा थाहा पाउनुपर्ने उनको बुझाइ छ ।
‘हामीले के लेख्नुहुन्छ, के बोल्न हुँदैन त्यस बारेमा हेक्का राख्दैनौँ । मनमा लागेको जे कुरा पनि बोल्न पाइन्छ भनेर अभिव्यक्त गरिन्छ । गाली र कुण्ठा पोख्ने ठाउँ भएको छ । कालान्तरमा यसले असर गर्छ भनेर ख्याल गर्न छौड्यौँ,’ उनले भनिन् ।
सामाजिक सञ्जाललाई निगरानी गर्ने निकाय प्रभावकारी हुनुपर्ने उप्रेतीले बताइन् । ‘कडा कानुन भए फेसबुकमा के लेख्ने र के बोल्ने नहुँने त्यस विषयमा सचेत हुन्थे । डरले आफूलाई नियन्त्रण गर्दै जाने थिए । आज सामाजिक सञ्जालको लेखाइ र बोलाइ सुन्दा सोझै अनुमान गर्न सकिन्छ समाज कता गइरहेको छ,’ उनी भन्छिन् ।
समाजलाई अगाडि बढाउन सहयोग गर्नुपर्ने सामाजिक सञ्जाल डरलाग्दा चरित्र स्थापित गर्न लालायित भएको उप्रेतीको तर्क छ । अपराध बढ्नुमा यसलाई मान्न सकिने उनको ठम्याइ छ । युट्युब जस्ता माध्यमबाट परिवार र व्यक्ति विरुद्ध लाञ्छना लाग्नेगरी आवाज बाहिर आउने गरेको उनले बताइन् । सामाजिक सञ्जालमा महिला सबैभन्दा बढी पीडित हुनुपरेको उनको ठम्याइ छ । अभिभावकले बालबालिकालाई मोबाइल दिनुहुँदैन । दिनु परेमा पनि आवश्यक कामका लागि मात्र दिनुपर्ने उनले बताइन् ।
सामाजिक सञ्जाललाई कुनै पनि व्यक्तिलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने स्थान बनाउनुपर्ने धारणा राखिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया