थिमि बसस्टप : दिनमा सुनसान, साँझमा भीडभाड (भिडियोसहित)
‘जब रात छिप्पिदै जान्छ, चहलपहल उत्तिकै बढ्छ’
काठमाडौँ : आइतबार साँझ आठ बजेतिर केही हुल मानिस भक्तपुर, थिमिको बसस्टपमा निस्किए । उनीहरूका साथमा थिए, साइज-साइज पोकापन्तरा । तर, ती पोका पन्तरामा कोसेली थिएनन् । थिए त, केबल औषधि, लुगाफाटा र किताब ।
दिनमा चकमन्न हुने यो बसस्टप अचेल साँझ पर्न थालेपछि भरिभराउ हुन थालेको छ । जतिजति रात छिप्पिदै जान्छ, गाउँ जाने मानिसहरूको चहलपहल उत्ति नै बढ्दै जान्छ । बालकदेखि बृद्धसम्म यो सडकमा भेटिन्छन् । औषधिको ठूलो पोको बोकेर लरुबतीको परिवार पनि आइतबार साँझ यो बसस्टपसम्म आइपुग्यो । उनीहरू उदयपुरको गाइघाट जाने गाडी कुरिरहेका थिए । घाँटीमा समस्या हुन थालेपछि निषेधाज्ञा हुनुभन्दा केही दिनअघि मात्रै छोरा मिश्रिलाल र बुहारी सुनिताले लरुवतीलाई भक्तपुर ल्याइपुर्याएका थिए ।
उपचार गर्ने क्रममा पत्ता लाग्यो, लरुवतीलाई त घाँटीको क्यान्सर पो भएछ । रोग निको नहुने अवस्थामा पुगिसकेकाले भक्तपुर क्यान्सर अस्पतालका डाक्टरले उनलाई घरै फर्काउन सल्लाह दिए । तर त्यतिबेलासम्म उपत्यकामा निषेधाज्ञा सुरु भइसकेको थियो । 'रोग निको नहुने अवस्थामा पुगेकाले हामीले घरै लैजाने निर्णय गर्यौँ, तर निषेधाज्ञाले गर्दा गाडी नै पाएनौँ,’ बुहारी सुनिता भन्छिन्, ‘आज बल्ल बल्ल गाडी भेटियो । त्यसैले राति नै भएपनि जान लागेका हौँ ।’
लरुवतीलाई रोगले निकै च्यापेको जस्तो देखिन्छ । न बोल्न सक्छिन्, न अडेस बिना बस्न । उनी छोरासँग अडेस लागेकी छन् । छोरा चाहिँ बसस्टपमा रोकिएको प्रत्येक माइक्रो र बसको नम्बरप्लेटमा आँखा दौडाउँदै छन् । झन्डै नौ बजे उनीहरूलाई लैजान एउटा माइक्रो आइपुग्यो, जुन पहिल्यै पेसेन्जरहरूले भरिभराउ थियो ।
‘आम्मै कति धेरै मान्छे ! यस्तो गाडीमा बिरामीलाई कसरी लैजाने होला ?’ सुनिताको यस्तो गुनासो सुनेर चालकले ‘म मिलाएर लगिहाल्छु नी’ भन्दै औषधिका पोका पन्तेरा छतमा कसे । उनीहरूलाई चाहिँ जसोतसो माइक्रोभित्र कोचेर सवा नौ बजेतिर हुइँकिए ।
अर्को माइक्रोमा चन्द्रदीप यादव (१८) र उनका साथी पुरुषोत्तम यादव(१९) हुइँकिने तयारीमा थिए । उनीहरूले बोकेका तीनवटा झोलामध्ये ठूल्ठूला दुई झोलामा किताबैकिताबले भरिएका थिए । उनीहरूको सीए बन्ने सपना त्यही झोलाभित्र थियो । जसलाई उनीहरूले जतनसाथ पोको पारेर जनकपुरसम्म लाँदै थिए ।
उपत्यकाको साँधुरो गल्लीले तर्साएपछि तराईका विशाल फाँटमा जाने योजनामा थिए उनीहरू । ‘यो साँघुरो गल्लीका स-साना कोठामा गुम्सिएरै मर्ने डर भयो । न अक्सिजन छ, न आफन्त, केही भइहाले बेहाल होला भन्ने पीर,’ चन्द्रदीपले भने, ‘बरु घर गइयो भने कमसेकम तातो पानी तताएर खुवाउने आफन्त त भेटिन्छन् । ठाउँ पनि यहाँभन्दा तराईमा धेरै खुल्लमखुल्ला छ ।’
निषेधाज्ञाले कलेज बन्द भएपछि उनीहरूको दैनिकी एउटै कोठाभित्र बित्न थाल्यो । समय कटाउने माध्यम बन्यो मोबाइल । सोसलमिडिया खोलेपिच्छे देखिने समाचारका शीर्षकले उनीहरूलाई झनै तर्साउन थाल्यो । ‘समाचार हेरेरै इम्यूनिटी पावर कमजोर होला जस्तो हुन्थ्यो, रातभरि निन्द्रा लाग्दैनथ्यो,’ चन्द्रदीपले भने, ‘हल्का ज्वरो, खोकी आउँदा पनि कोरोना नै लाग्यो भनेर सातो उड्न थाल्यो ।’
अघिपछि ६ सय रूपैयाँमा जनकपुर पुर्याउने गाडीले अहिले उनीहरूलाई झन्डै डबल ११ सय रूपैयाँ लाग्ने बताएको छ । उनी भन्छन्, ‘दुई जनाको २२ सय रूपैयाँ तिर्नुपर्छ भनेको छ, बार्गेनिङ गरेर दुई हजारमा मिलाउँछ कि !’
साथीहरूलाई बिदाई गर्न बसस्टपमा आइपुगेका थिए, उनीहरूका साथी सर्बेन्द्र पाण्डे । उनको घर बिरगंज हो । कहिले गाडी पाइएला र घर जाउँला भनेर मौकाको खोजीमा छन् उनी । केही दिनअघि मात्रै अक्सिजन नपाएर ४० वर्षीय मामाको मृत्यु भएपछि त उनी झनै आत्तिएका छन् । ‘अब त ट्रक नै पाइयो भनेपनि जान्छु,’ उनी भन्छन् ।
भक्तपुर, गाम्चा बस्ने रीता कार्की (२६) दुई छोरी च्याप्दै चोकमा गाडी कुरिरहेकी थिइन् । उनी आठ वर्षीया गृष्मा र चार वर्षीया गरिमालाई लिएर दोलखा, पोगटी जाने तरखरमा थिइन् । दुई साता अघि माल्दिभ्सबाट काठमाडौँ झरेका पति गोविन्दसँगै स-परिवारै लिएर रीता गाउँ जान लागेकी हुन् ।
उनीहरू अरनिको सुपर एक्सप्रेसमा गाउँ जाँदैछन् । ‘सबै आफन्तै आफन्त चिनेजानेका मात्रै जम्मा भएर जान लागेका हौँ,’ गोभिन्दले भने, ‘सबै विश्वास गरिएका मान्छे मात्रै छौँ । उनीहरूलाई कोरोना सोरोना छैन ।’ उनीहरूलाई सहरभन्दा गाउँ नै सुरक्षित हुन्छ भन्ने लागेको छ । कोभिडको कहर नथामिएसम्म नफर्किने उनीहरू बताउँछन् । अब गाउँ गएर बिहे, भोज कतै नजाने, घरभित्रै बस्ने उनीहरूको योजना छ ।
अघिल्लो लकडाउनमा पनि उनीहरू यसै गरी गाउँ गएका थिए । फर्किँदा नौ महिनाको कोठा भाडा तिर्न भारी रकम ल्याउनु परेको थियो । त्यो नियति फेरि दोहोरिने भएको छ । ‘अब यो कहर कहिले थामिन्छ, थाहा छैन,’ रीता भन्छिन, ‘जति सुकै लम्बियोस्, अवस्था सामान्य नभएसम्म त यता आउँदै नआउने ।’
उनकी कान्छी छोरी गरिमा मास्क खोल्नै मान्दिनन् । कोभिड सर्छ भनेर मेडिकल देखेपिच्छे ‘औषधि किन्दिनू’ भन्छिन् । गाडी कुरिरहँदा पनि पन्जा किन्दिनु भन्दै झगडा गरिरहेकी थिइन् । महानगरीय प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले अप्ठ्यारोमा परेकाहरू जिल्ला प्रशासन कार्यालयको पास लिएर उपत्यका छाड्ने अनुमति पाएको बताए । ‘अप्ठ्यारो र अलपत्र परेका मान्छेलाई जिल्ला प्रशासनबाट पास बनाएर जान दिइएको हो,’ उनी भन्छन् ।
(भिडियो : सृजना खड्का, सुनीता साखकर्मी र सरोज बैजु )
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया