समाज

दुई किलोमिटर सडक पाँच वर्षमा पनि सम्पन्न नगरी अलपत्र पारेर राखेको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

इकागज |
असार २, २०८० शनिबार १७:५१ बजे

काठमाडौँ- करिब दुई किलोमिटर सडक पाँच वर्षमा पनि सम्पन्न नगरी अलपत्र पारेर राखेको भन्दै बाँके खजुराका स्थानीय आन्दोलित भएका छन् ।

नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरूको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहीन काम भएको भन्दै स्थानीयले नेपालगन्ज-गुलरिया सडक अवरुद्ध गरेका हुन् ।


खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा खजुरा बजारका हरेक घरबाट एक सदस्य सडकमा निस्केर प्रदर्शन गरिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चार लेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्षदेखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन् ।

ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरबाही र अराजकता बढेको स्थानीयको आरोप छ । 


Author

थप समाचार
x