समाज

सर्प उद्धारकर्मीका लागि बजेट उपलब्ध गराउँदै देवचुली नगरपालिका

इकागज |
असार ७, २०८० बिहीबार ७:२८ बजे

देवचुली। देवचुली नगरपालिकाले सर्प उद्धारकर्मीहरुका लागि बजेट उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरभित्र सर्प उद्धारका लागि जाने काममा उद्धारकर्तालाई यातायात खर्च, खाजा खर्च तथा आवश्यक कामका लागि १ लाख रुपैयाँ बजेट उपलब्ध गराउने नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए ।

सर्प उद्धार कामको नेतृत्व गर्दै आएका देवचुली १६ का अश्विन ओझालाई कार्यालयमा बोलाई सर्प उद्धारको महत्त्वपूर्ण काममा सक्रिय भएकोमा नगर प्रमुखद्वारा धन्यवादसहित राय सुझाव लिएका थिए । सर्प उद्धारकर्मी ओझाले सर्पको संरक्षण गर्न र सरिसृप सर्पको म्युजियम बनाउनका लागि नगरपालिकाले विशेष योजना बनाउन अनुरोध गरे । सर्पको संरक्षण गरेर पनि नयाँ पर्यटनको क्षेत्र बनाउन सकिने भएकोले नगरले यसतर्फ सोच्न पनि उनले नगर प्रमुख न्यौपानेसँग अनुरोध गरे ।


देवचुली, गैंडाकोट र कावासोती नगरपालिकामा  सर्प उद्धारमा सक्रियहरुको आकस्मिक प्रतिकार्य समूह बनाई काम गर्न आवश्यक रहेको ओझाले बताए । देवचुलीको दुम्कौली र दलदले क्षेत्र आसपासमा गोमन सर्पको संख्या बढिरहेको बताउँदै ओझाले सर्पदंश उपचारका लागि देवचुलीको नगर अस्पतालमा  प्राथमिक सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्ने कुरामा जोड दिएका छन् । शिक्षण पेशामा आबद्ध ओझाले बिहान र बेलुकाको समयमा उद्धारमा आफै समावेश हुने साथै  दिउँसोमा समूहका उद्धारकर्मीहरुलाई सर्पको उद्धारमा पठाउने गरेको बताए ।

उद्धारकर्मी ओझाको सुझावपछि नगर प्रमुख न्यौपानेले युवाहरुले गरेको सकारात्मक कामका लागि नगरपालिकाको सदैव सहयोग रहने बताए । नगरपालिकाले सर्प उद्धारमा सक्रिय युवाहरूलाई प्रोत्साहन स्वरुप केही बजेट व्यवस्थापन गरिएको र आगामी दिनमा समेत सुझाव अनुसार काम गरिने न्यौपानेले बताए । सर्प संरक्षणको अभियानलाई समेत जनस्तरमा पुर्‍याउन उनले आग्रह गरे ।


Author

थप समाचार
x