खोटाङमा विद्यालय आउने जानेमा नै बित्छ विद्यार्थीको ६ घन्टा
खोटाङ। विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न बाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माविमा अध्ययनरत छात्र/छात्रा पठन–पाठनका लागि दैनिक एकतर्फी तीन घण्टासम्म हिँड्न बाध्य बनेका हुन् । फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान, चित्रे लगायतका छात्र/छात्रा दैनिक तीन घण्टा पैदल हिँड्ने गरेको कुहुडाँडा माविका प्रअ चन्द्र राईले बताए ।
तापखोला किनारभन्दा केही माथि रहेको विद्यालयका अधिकांश छात्र/छात्रा उँदो झर्नुपर्ने हुन्छ । बिहान ओरालाे झर्न तीन घण्टाको हाराहारीमा समय लागे पनि बेलुका फर्कनेक्रममा उकालो तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । विद्यालय आउने र जानेक्रममै करिब ६ घण्टा समय खर्च भए पछि विद्यार्थीलाई घरमा गृहकार्य र पठन–पाठन गर्ने समय व्यवस्थापन गर्न सकस भइरहेको छ ।
'ओरालो भएकाले स्कुल झर्दा अलि चाँडो हुन्छ,' प्रअ राईले भने, 'तर उकालो निस्कँदा तीन घण्टाभन्दा बढी समय लाग्छ ।'
फेदीका वडाध्यक्ष निरकुमार राईका अनुसार थुम्की, खोलाखर्क, ठूलोखरे, माखम्ला, शेर्पाटोल, केलसी लगायतका गाउँका विद्यार्थीलाई पनि विद्यालय पुग्न तीन घण्टाको हाराहारीमा समय लाग्ने गरेको छ । विद्यालय पुग्नका लागि छात्र छात्रा बिहान सात बजे नै विद्यालय हिँड्ने गरेका छन् । विद्यार्थी विद्यालयबाट छुट्टी भएपछि साँझ अबेर मात्र घर पुग्ने गरेका छन् । विद्यालय जाँदा साँढे दुई घण्टा र घर फर्कँदा तीन घण्टा समय लाग्ने गरेको थाकुकी कक्षा ९ मा अध्ययनरत छात्रा मन्जिता राई बताउँछिन् । उकालो बाटो छिचोलेर अबेर घर पुग्दा थाकेर गृह–कार्य गर्नै समस्या हुने गरेको छ ।
हालको केपिलासगढी गाउँपालिका–१ फेदी र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा एउटै वडा थियो जसलाई पञ्चायतकालमा खार्ताम्छा गाविस भनिन्थ्यो । एउटै वडा भएको बेला सेन्टरमा पर्ने गरी २०१७ सालमा कुहुडाँडा मावि स्थापना गरिएको थियो ।
पञ्चायतकालमा खार्ताम्छालाई फुटाएर खार्ताम्छा र फेदी गाविस बनाइए पछि कुहुडाँडा मावि फेदीको किनारामा पर्न गएको हो । हाल कुहुडाँडा मावि फेदी र खार्ताम्छाको सिमानामा पर्छ । कुहुडाँडालाई फेदीको केन्द्रमा बनाउने विषयमा कसैको ध्यान जान सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया