समाज

प्रथम प्रदेश युवा सम्मेलन २०८० को तयारी पूरा

इकागज |
असार १०, २०८० आइतबार २०:११ बजे

मकवानपुर- बागमती प्रदेश युवा परिषद्ले भोलि (सोमबार) र पर्सी (मंगलबार) प्रदेशको राजधानी हेटौंडामा आयोजना गर्न लागेको प्रथम प्रदेश युवा सम्मेलन २०८० को तयारी पूरा भएको जनाएको छ । 

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराइएको हो । बागमती प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार १ सय ५० युवाको सहभागिता रहने कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए । 


प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना र अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० तथा सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका १५ जना युवाहरूको सहभागिता रहने छ । सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएका छन् ।

'हामीले सहभागीको छनोटका क्रममा महिला, जनजाति, अल्पसंख्यक, सीमान्तकृत समूह, विद्यार्थी युवाको सहभागितालाई प्राथमिकतामा राखेर छनोट गरेका छौँ,' कार्यकारी उपाध्यक्ष चौलागाईंले भने । 

युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको उनले बताए । प्रथम पटक आयोजना हुन लागेको सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दुई दिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् साेचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् । 

कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो । सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुन्  ।

सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछ। उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना सावले अन्तरक्रिया गर्नेछन् ।

डा कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक हुन् । साख्व युवा उद्यमी हुन । यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुति र अन्तरक्रिया गर्नेछन् ।


Author

थप समाचार
x