समस्याको रुप बन्दै लागूऔषधको प्रयोग : मन्त्री श्रेष्ठ
काठमाडौं–उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन्
सोमबार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागूऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको भन्दै गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिनलगायत तोकिएका नियन्त्रित पदार्थ लागूऔषधका रुपमा प्रयोग गर्ने गरिएको पाइएको बताए ।
उनले लागूऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको भनाइ राखे । उनले नेपालमा लागूऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको तथ्यांकले देखाएको बताए । उनले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने बताए ।
लागूऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले सम्बद्ध निकायको समन्वय र सहकार्यबाट लागूऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनःस्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुनःस्थापना जनचेतना मुलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मुल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको बताए ।
लागूऔषध दुरुपयोगविरुद्धको ऐक्यवद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता भन्ने नाराकासाथ यस वर्षको लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया