समाज

एक सातादेखि अवरुद्ध मेची राजमार्गमा एकतर्फी यातायात सुचारू

इकागज |
असार १२, २०८० मंगलबार १६:४ बजे

काठमाडौँ- एक सातादेखि अवरुद्ध मेची राजमार्ग आजदेखी सुचारु भएको छ । मंगलबार एकतर्फी यातायातको साधन आवतजावत गर्न मिल्ने गरी यातायात सञ्चालनमा आएको हो ।

अपरान्ह २ बजेदेखि एकतर्फी यातायातका साधन ओहोरदोहोर गर्न थालेको ट्राफिक प्रहरी कार्यालयका ट्राफिक जवान दलबहादुर विष्टले इकागजलाई जानकारी दिए ।


एकसाता अघि आएको बाढी पहिरोले पुल बगाएपछि आवागमन ठप्प भएको थियो । हेवा खोलास्थित मेची राजमार्ग पुनः संचालनमा आएको हो । आजैदेखि यातायातका साधन अस्थायी रुपमा आवतजावत गर्न थालेका छन् । बाढीले ताप्लेजुङ र पाँचथरको सम्पर्क विच्छेद भएको थियो ।

‘पुल बनाउनका लागि १२ वटा हेम पायप राखिएको छ,’ विष्टले भने,’ पुलबाट साना तथा ठूला सवारीसाधन एकतर्फी जान सक्छन् ।‘

बाढी आएर पुल बगाएमा राजमार्ग अवरुद्ध हुन सक्ने उनको भनाइ छ । आजदेखि सहजै एकतर्फी यातायातको साधन आवतजावत गर्न थालेको उनले बताए ।

सांसद लिलादेवी बोखिमले पूर्वी पहाडी ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढी पीडितलाई पुनर्वास गराउन माग गरेकी थिइन् । ‘बाढी पहिरोबाट पीडितलाई तत्कालै खाद्यान्नको व्यवस्था गर्नुपर्छ,’ उनले भनेकी थिइन्,’ पीडितहरू अहिले पनि खुल्ला आकाश मुनि बस्नुपर्ने बाध्यता छ । सबैलाई पर्याप्त यथाशिघ्र आवश्यक टेन्ट पुर्‍याइयोस् ।‘
 
ताप्लेजुङको अर्को जिल्लासँग सम्पर्क विच्छेद भएको सांसद बोखिमले बताएकी थिइन् । उनले तत्कालै मानिसलाई आवतजावत सहज बनाउन पुल निर्माण गर्न पनि आग्रह गरेकी थिइन् ।


Author

थप समाचार
x