समाज

मेची राजमार्गमा १६ वटा ह्यूम पाइप राखी पुनः यातायात सुचारु

इकागज |
असार १३, २०८० बुधबार २०:११ बजे

काठमाडौँ- मेची राजमार्ग पुनः सुचारु भएको छ । गएराति आएको बाढीले अवरुद्ध भएको पुलमाथि पानी बगेपछि आज दिनभर यातायातमा अवरोध भएको थियो ।

एकतर्फी यातायातको साधन आवतजावत गर्न मिल्ने गरी यातायात सञ्चालनमा आएको हो ट्राफिक प्रहरी कार्यालयका ट्राफिक जवान दलबहादुर विष्टले इकागजलाई जानकारी दिए ।


एक साता अघि आएको बाढी पहिरोले पुल बगाएपछि आवागमन ठप्प भएको थियो । बाढीले ताप्लेजुङ र पाँचथरको सम्पर्क विच्छेद भएको थियो ।

हेवा खोलास्थित मेची राजमार्ग हिजो १२ वटा हेम पाइप हालेपछि पुनः संचालनमा आएको हो । आज थप ४ वटा ह्युम पाइप थप गरी यातायातका साधन अस्थायी रुपमा आवतजावत गर्न थालेका छन् ।

‘अहिले एकतर्फी मात्र सवारीसाधन सञ्चालनमा आएका छन्,’ उनले भने, ’दुवैतिरका गाडी पास हुन करिब १ घण्टा लाग्नेछ ।‘ भोलि पुनः ४ वटा होम पाइप लगाइने उनले जानकारी दिए ।

असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो ।

पानीको बहाव घटेपछि गए राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो । प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गए रातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।

 

 

 


Author

थप समाचार
x