समाज

असारमा तीन सचिव खाली हुँदै, दुई जना भइसके

इकागज |
असार १४, २०८० बिहीबार १४:२ बजे

काठमाडौँ- असार महिनामा नेपाल सरकारका तीन सचिव पद रिक्त हुँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दुई र आगामी असार २० गते एक गरी यो महिना तीन सचिव पद रिक्त हुन लागेको हो ।

अवकाश हुनै लाग्दा मुख्य सचिवमा नियुक्त भएका डा. बैकुण्ठ अर्याल र गत असार ४ गते सेवा अवधि पुगेका यादवप्रसाद कोइराला गरी दुई सचिव पद खाली छ । आगामी असार २० गते राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया सेवा निवृत्त हुँदैछन् ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको थुप्रो लागेपछि एउटा दरबन्दी कटौती गर्ने सम्बन्धमा छलफल भइरहेकाले उक्त निर्णय हुनेबित्तिकै सचिव नियुक्तिका लागि लोकसेवा आयोगले सिफारिस गर्ने आयोग स्रोतले बतायो । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिवसहित नौ सचिवको दरबन्दी छ । 

विभिन्न मन्त्रीहरूले आफूलाई मन नपराउने सचिवहरूलाई थन्काउने थलो यतिबेला प्रधानमन्त्री हुँदै आएको छ । यसको आलोचना पनि हुन थालेको छ । 

‘एउटा सचिवको दरबन्दी कटौती गर्ने कि भनेर छलफल भइरहेको छ,’ आयोग स्रोतले बिहीबार इकागजसँग भन्यो, ‘त्यो टुंगो लागेपछि आयोगले पनि त्यहीअनुसार सिफारिस गर्ने तयारी गर्दैछ, हिजो एउटा बैठक बसिकेको छ ।’

यही सरकारले अवकाश हुन तीन महिना बाँकी रहेका बेला तत्कालीन सचिव डा. बैकुण्ठ अर्याललाई सूचना तथा प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको थियो । यही असार ३ गते सचिवको अवधि पूरा भई अनिवार्य अवकाशमा जान लागेका डा. अर्याललाई सरकारले गत जेठ ३२ गते मुख्य सचिवमा नियुक्त गरेको थियो ।

आगामी असोज मसान्तसम्म कार्यकाल रहेका मुख्य सचिव शंकरदास बैरागीलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाई अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको थियो । परराष्ट्र सचिव रहेकै बेला केपी ओलीको सरकारले बैरागीलाई मुख्य सचिव बनाएको थियो । त्यतिखेरका मुख्य सचिव लोकदर्शन रेग्मीलाई भने ओली सरकारले बेलायतका लागि राजदूत नियुक्तिमा सिफारिस गरेको थियो ।

वर्तमान पुष्पकमल दाहालको सरकारले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्मा हुँदै नभएको पद ‘सल्लाहकार’ मा नियुक्त गरेको हो । 

यता गत असार ४ गते सचिव कोइराला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सेवा निवृत्त भएका हुन् । २०६६ साल असोजमा सहसचिव भएका कोइराला २०७५ असार ४ देखि नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा नियुक्त भएका थिए । 

आगामी असार २० गते सेवा निवृत्त हुन लागेका थपलिया हाल राष्ट्रिय तथ्यांक कार्यालयमा सचिवका रुपमा कार्यरत छन् । सरकारले २०७९ भदौदेखि केन्द्रीय तथ्यांक विभागलाई राष्ट्रिय तथ्यांक कार्यालयमा रुपान्तरण गरेपछि सहसचिव कार्यालय प्रमुख हुने ठाउँमा सचिवलाई नै प्रमुख बनाउने गरी तथ्यांक विधेयक सदनबाट पारित भएको थियो । 

साविकमा राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको तथ्यांक विभाग हाल तथ्यांक कार्यालयमा परिणत भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा रहने गरी ऐन पारित भएको हो । तथ्यांक ऐन २०१५ अनुसार स्थापित केन्द्रीय तथ्यांक विभागले झन्डै ६५ वर्ष कार्य गर्‍यो ।
 


Author

थप समाचार
x