आज २० औँ धान दिवस :
एक वर्षमा ४० लाख मेट्रिक टन चामलको भात खान्छन् नेपाली
४७ अर्ब ५७ करोड रुपैयाँको चामल आयात, प्रतिवर्ष प्रतिव्यक्ति १३७ किलो चामल आवश्यक
काठमाडौँ- आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ ।
कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिसद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ । उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीको सहभागिता रहनेछ ।
यस वर्ष जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि मूल नाराका साथ विभिन्न सरोकारवालासँगको समन्वय तथा सहकार्यमा ‘२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ ।
यसै अवसरमा उत्पादन र उत्पादकत्व दिगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायु अनुकूलित कृषकमैत्री प्रविधिको सम्बन्धमा अधिकतम् प्रचार–प्रसार गरी राष्ट्रिय कार्यक्रमलाई सफल कृषि विभागका महानिर्देशक एवं रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा हरिबहादुर केसीले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेका छन् ।
धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि हो ।
कृषि विभागका अनुसार समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकामा कृषि क्षेत्रका ग्राहस्थ्य उत्पादनमा धानको १५ प्रतिशत योगदान रहेको छ । यस तथ्यले पोषण सुरक्षामा धानको उल्लेखनीय महत्व दर्शाउँछ ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत धानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आर्थिक वर्ष २०६१/६२ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको हो । यसै सन्दर्भमा देशको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नारा तय गर्ने सिलसिलामा यस वर्ष धानमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने कुरालाई मध्यनजर गरी राष्ट्रिय धान दिवसको नारा तय गरिएको छ ।
विभागको विवरणमा आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धानखेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल शून्य दशमलव १९ प्रतिशतले घटेको भए पनि उत्पादन भने छ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।
जलवायुमैत्री कृषि प्रविधिले जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गरी हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्ने, धान उत्पादनमा वृद्धि गर्ने तथा खाद्य सुरक्षालाई सुनिश्चित गर्दछ । जलवायु अनुकूलन भन्नाले बदलिँदो वातावरणसँग मिल्दो हुने गरी प्रविधि विकास गर्ने भन्ने बुझिन्छ ।
विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
मुलुकभरका नेपालीले वर्षदिनभरि भात खान ४० लाख मेट्रिक टन चामल चाहिन्छ । उत्पादित धान (५५ लाख मेट्रिक टन) बाट जम्मा ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुन्छ । ४ लाख ८० हजार मेट्रिक टन चामल आयात गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०७८/७९ मा चामल मात्रै ४७ अर्ब ५७ करोड रुपैयाँको आयात भएको थियो । मकै, गहुँ, आलु, प्याज, तेल, स्याउ, केरा, सुन्तला माछा, मासु आदि गरी उक्त वर्ष कुल ३ अर्ब ४१ अर्ब ५१ करोड रुपैयाँको कृषि तथा पशुजन्य आयात भएको थियो ।
धान उत्पादन घट्नेबित्तिकै चामल आयात पनि बढ्छ । अर्काेतर्फ, चामल, गहुँ, मकै, कोदो, फापरलगायत खाद्यान्नको आवश्यकता मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष एक सय ८१ केजी लाग्ने कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्यांक छ । यस हिसाबले प्रतिवर्ष प्रतिव्यक्ति १२१ केजी चामल आवश्यक पर्ने देखिन्छ । नेपालमा औसत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी चामल उपभोग भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया