कोभिड-१९ महामारीको एक महिनामै हराए ४३४ बालबालिका
काठमाडौँ : पहिलो चरणको कोभिड-१९ देखिँदा ६ महिना भएको लकडाउनमा सात सय ५२ बालबालिका हराएका थिए । त्यसबेला पाँच सय ८८ बालिका र एक सय १६ बालक हराए । चैतदेखि साउनको लकडाउन अवधिमा चार सय ६७ बालिका र एक सय ३१ बालकसहित पाँच सय ९८ जना हराएका थिए ।
यस पटक गत वैशाख १६ गतेदेखि ७० बढी जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञाको समययमा बालबालिका हराउने क्रम रोकिएको छैन । बढी जनघनत्व भएको काठमाडौँ उपत्यकाबाट बालबालिका हराउने क्रम नरोकिँदा सहरमा बालबालिका असुरक्षित भएका छन् । महामारीमा धेरै मानिस घर भित्रै बसे पनि बालबाबालिका हराउने क्रम घटेको छैन ।
अधिकांश बालबालिका नाम परिवर्तन गरी बसेकाले फेला पार्नसमेत गाह्रो भएको र सम्पर्कमा आए पनि अभिभावकसँग जान नमानेको पाइएको छ । रौतहट, सप्तरी, रामेछाप, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र कर्णालीका सबै जिल्लाका बालबालिका हराउने गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ ।
वर्षको सुरुवाती महिनामा मुलुकभरबाट चार सय ३४ बालबालिका हराएका छन् । त्यसमा बालिका तीन सय ३५ र बालक ९९ जना छन् । यो समयमा काठमाडौँ उपत्यकाबाट मात्र ५१ बालबालिका हराएका छन् ।
बागमती प्रदेशमा एक सय ११ बालबालिका हराएका छन् । ती मध्य बालिका ८७ र बालक २४ छन् । प्रदेश २ मा बालक १६, र बालिका ८० गरी ९६ बालबालिका हराएका छन् । । प्रदेश १ मा ६८ बालिका र बालक २५ गरी ९३ बालबालिका हराएका छन् । गण्डकीमा २७ बालिका, ७ बालकगरी ३४ बालबालिका हराएका छन् । लुम्बिनीमा २६ बालिका र ८ बालकगरी ३४ बालबािलका हराएका छन् । कर्णालीमा ८ बालक, १६ बालिकागरी २४ बालबालिका र सुदुरपश्चिममा ११ बालक र ३१ बालिकागरी ४२ बालबालिका हराएका छन् ।
परिषद्का अनुसार हराएकामध्ये कम संख्यामा बालबालिका भेटिने गरेका छन् । अहिलेसम्म हराएका मध्ये एक सय ४५ बालिका र ४२ बालकगरी एक सय ८७ बालबालिका मात्रै फेला परेका परिषद्का प्रवक्ता राम बहादुर चन्दले जानकारी दिए । चन्दले एक सय ९० बालिका र ५७ बालक गरी दुई सय ४६ बालबालिकाको खोजी भइरहेको जानकारी दिए ।
काठमाडौँ उपत्यकामा मात्र ८ बालक र १० बालिका गरी १८ बालबालिका बेवासरिसेमा अवस्था फेला परेका छन् । उपत्यका बाहेकका जिल्लामा ३ बालिका र ४ बालक गरी ७ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् ।
१५ बालबालिकालाई अभिभावकको जिम्मा लगाएको प्रवक्ता चन्दले जानकारी दिए । उनका अनुसार उपत्यकामा ४ बालिका र ५ बालक गरी ९ बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ । उपत्यका बाहिर ३ बालक र ३ बालिका गरी ६ बालबालिकालाई परिवारको जिम्मा लगाएको उनले बताए ।
गत चैतमा तीन सय ९ बालिका र एक सय ३५ बालक गरी चार सय ४४ बालबालिका हराएका थिए । जसमध्ये एक सय ८९ बालबालिका फेला परेका थिए ।
'खाना समस्या भएको भन्दै फोन आउँछ'
निषेधाज्ञा जारी भएपछि बालबालिकालाई खाना समस्या भएको भन्दै फोन आउने गरेको परिषद्का अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए । 'खानाको समस्या भएकालाई चामल उपलब्ध गराइरहेका छौं,' उनले भने, 'बालगृहमा रासन सकिएकालाई उपलब्ध गराएका छौं ।'
गत वर्षको लकडाउनमा परिवारमा सौतेनी आमा र सौतेलो बाबा भएका धेरै बालबालिकाहरू परिवारबाट भागेको फेला पारिएको उनले जानकारी दिए । परिवारबाट माया नपाउँदा घर छोडेर जाने गरेको उनको भनाइ छ ।
'अभिभावक सचेत हुनुपर्छ'
महामारी फैलिएका बेला लामो समयसम्म बालबालिकाहरू घरमा बस्दा पारिवारिक वातावरणमा समायोजन हुन नसक्दा स्वतन्त्रता खोजीका लागि हराएको हुनसक्ने मनोविश्लेषक बासु आचार्य बताउँछन् । परिवारमा राम्रो मेलमिलाप नहुँदा पनि यस्तो हुन सक्ने उनको भनाइ छ ।
'बालबालिकामा खान मन लागेको कुरा खान नपाउने, स्वेच्छाले हिँडडुल गर्न नपाउँदा मानसिक तनाव बढी हुने गर्छ,' आचार्यले भने, 'पारिवारिक वातावरणका कारण मनोवैज्ञानिक असर परेको हुन सक्छ। काम गर्न जान्छन् र फर्केर आउँदैनन् । मानव बेचबिखनमा पर्न सक्ने सम्भावना बढी छ। '
बालबालिकाको मानसिक अवस्था कमजोर हुँदा हराउने र साथीको संगतमा लागेर काम गर्न जान खोज्दा हराउन सक्ने आचार्यले बताए । बच्चा हराउन नदिन अभिभावक आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ । बाक्लो जनधनत्व भएका सचेतनामूलक र माइकीङ गर्न उनले सुझाए ।
१३ वर्षमा २८ हजार भन्दा बढी हराए
१३ वर्षमा २८ हजार ३ सय ८ बालबालिका हराएका छन् । त्यसमा १५ हजार ७ सय ६ बालिका र १२ हजार ६ सय २ बालक छन् । हराएका मध्ये १५ हजार ९ सय ८१ फेला परे । फेला पर्नेमा बालिका ८ हजार १ सय २१ र ७ हजार ८ सय ६० बालक छन् । १२ हजार ३ सय २७ अझै फेला परेका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया