समाज

योमरी मयजुको एक दिने कार्यशाला म्युजिक हाउस कीर्तिपुरमा सम्पन्न

इकागज |
असार १५, २०८० शुक्रबार २१:२३ बजे

काठमाडौँ- नेपाली संस्कृति प्रवर्द्धन गर्ने यमरी मयजुको प्रयासलाई निरन्तरता दिँदै म्युजिक हाउस कीर्तिपुरमा त्यहीका संगीत सिक्ने विद्यार्थीहरूबीच एक दिने कार्यशाला सम्पन्न भएको छ । 

कार्यक्रममा योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक र सामाजिक महत्व साथै नेपाली खानपानमा पञ्च तत्वको महत्वको बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठले बताइन् । 


अर्का को फ़ाउन्डर राज्य लक्ष्मी श्रेष्ठले आफ्नो भाषाको महत्व अनि रन्जना लिपिको बारे बताइन् । 

योमरी मयजुका बजार व्यवस्थापक तथा अर्का को - फ़ाउन्डर बिनिशा श्रेष्ठले नेपालमा मात्र नभई विदेशमा पनि आफ्नो भाषा संस्कृति बारे जान्न र बुझ्न किन जरुरी छ र आउने पुस्तालाई सिकाउन किन जरुरी छ भन्ने बारे बताइन् । म्युजिक हाउस कीर्तिपुरका तर्फबाट प्रख्यात बाँसुरी वादक रमन महर्जनले संगीत र कला संस्कृतिको समीश्रणबारे बताए ।

आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले योमरी मयजुको शुभारम्भ गरिएको हो । नेपाली समाजमा विदेशी संस्कृति  हाबी हुँदै गएकोले विशेषतः नयाँ पुस्तालाई कला संस्कृति किन बचाउन आवश्यक छ भनेर कार्यशाला सिरिजको सुरुवात गरिएको छ । 

यसलाई निरन्तरता दिन विभिन्न संघ संस्थाहरूसित सहकार्य जारी छ । यही अभियान अन्तर्गत गत वर्ष अमेरिकामा पनि नेपालीहरूको उल्लेखनीय संख्या रहेको प्रमुख ठाउँहरू कोलोराडो, टेक्सस, सान फ़्रांसिस्को र अन्य ठाउँमा पनि यमरी मयजुको नेपाली संस्कृति प्रवर्द्धन कार्यक्रम भएको थियो । 

सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले महत्त्वपूर्ण मानिने यःमरी सिंगो नेवार समुदायको सभ्यता र संस्कृतिको परिकार हो । 

नेवार भाषमा यःमरी को अर्थ मनपर्ने रोटी हो भने यसले समग्र नेवार समुदायको संस्कृतिलाई झल्काउने गर्छ । यःमरीलाई काठमाडौँ उपत्यकाको खाद्य पदार्थका रूपमा सीमित गरे पनि बिस्तारै यसको महत्वलाई बढाउने उनीहरूको उद्देश्य छ । 

विशेष गरी ठूला उत्सवमा यःमरीको माला लगाउने र पुष्पवृष्टिको सट्टा यःमरी वृष्टि गराउने पनि गरिन्छ । हाम्रो संस्कृति नै हाम्रो पहिचान हो ।’ सोही संस्कृतिलाई बचाउनका लागि देश विदेश मा समेत यःमरी मयजुको प्रवर्तन गर्ने निमण्त्रणा आउने गरेको छ ।

संस्कृति बचाउनका लागि मैले के गरेँ त ? भन्ने प्रश्न उठ्न सक्छ’, ‘संस्कृति पनि बचोस्, केही रचनात्मक काम पनि होस् र रोजगारीको अवसर पनि सिर्जना होस् भनेर एउटा प्याकेज कार्यक्रमको सुरुआत गरेका हौं ।’

नेवार समाजको अभिन्न अंग, यःमरीको धार्मिक एवं सांस्कृतिक महत्त्व छ । पूजापर्वदेखि जीवन संस्कारमा समेत उपयोगमा ल्याइने मनपर्ने रोटी यःमरी निकै मीठो र स्वस्थ्यवर्द्धक हुन्छ ।

पछिल्लो समय नेपाली समाजमा विदेशी संस्कृति हाबी भइरहेको समयमा यो कार्यक्रमले संस्कृतिको संरक्षण गर्न उल्लेख्य भूमिका खेल्ने हाम्रो विश्वास छ ।

‘नेपालमा विभिन्न जातजातिको उत्सव मनाउने निकै राम्रा चलन हुँदाहुँदै पनि जन्मदिन होस् या वैवाहिक समारोहमा विदेशी संस्कृति हाबी भएको पाइन्छ’! हामीले हाम्रो मौलिक महत्त्वका विषयलाई नयाँ पुस्तामा बीजारोपण गर्न सकेनौं भने यसले ठूलो क्षति पुर्याउँछ । तर, यो कार्यक्रमले केही हदसम्म संस्कृतिको संरक्षण गर्नेमा म विश्वस्त छु ।’ 

सांस्कृतिक रूपमा नेवार समाजसँग निकटतम् सम्बन्ध नरहे पनि यःमरीकै कारण नेवार संस्कृतिको अनुभूत गर्नेहरूको संख्या हाम्रो समाजमा उल्लेखनीय छ । 

के हो यःमरी ?

भौतिक रूपमा वर्णन गर्दा, चामलको पिठो मुछेर चोसिलो खोक्रो अण्डाकार बनाई त्यसभित्र चाकु र तिलको मिश्रण राखी बफ्याएर यःमरी बनाइन्छ । सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले हेर्दा, यसभित्र सिंगो नेवार समुदायको सभ्यता र संस्कृति समेटिएको मान्न सकिन्छ ।

यसैले नेवार समाजले यःमरीलाई जीवनको अभिन्न अंगका रूपमा प्रतिस्थापन गरेको छ । यसलाई मानसपटलबाट विमुख गर्न नसकिएकै कारण मंसिर पूर्णिमा अर्थात् धान्यपूर्णिमालाई समेत स्थानीयकरण गरी योमरी पूर्णिमाको रूपमा नामाकरण गरिएको छ । 

यःमरी मयजु’मार्फत अब घरघरमै यःमरी

यःमरीको सिर्जना कसरी भयो भन्ने सवालमा विभिन्न लोककथा र किंवदन्ती छन् । तिनै किंवदन्तीहरू सुनाएर यःमरी मयजुले यसको महत्वको विषयमा जानकारी दिनेछ । 

‘युवतीहरू साँस्कृतिक पहिरनमा सजिएर यःमरी मयजुका रूपमा तयार हुन्छन्’, उनले भनिन्, ‘उनीहरूले यःमरीसँग जोडिएका जानकारी दिँदै बोलाइएका समारोहमा नेवारी परम्परा झल्काउने गरी समारोहलाई स्मरणीय बनाउँछन् । साथै यःमरी होम डेलिभरीसमेत गर्छन् ।’

यःमरीले प्राकृतिक ज्ञान पनि दिँदै आएको छ । सूर्य उत्तरायण र दक्षिणायन हुँदा दिन र रातमा पनि परिवर्तन आउँछ । मंसिर पूर्णिमा अर्थात् योमरी पूर्णिमाका दिनदेखि दिन लम्बिँदै जान्छन् । यी विभिन्न कुराहरू यःमरी मयजुले कार्यक्रम स्थलमा गएर यःमरी हस्तान्तरण गर्दै जाने श्रेष्ठले बताइन् ।

यःमरी मयजुले रोजगारीको सिर्जना समेत गरेको छ । ‘एकातिर यःमरी बनाउने ८-१० जनाले रोजगारी पाए’, उनले भनिन्, ‘त्यस्तै यमरी मयजु भएर जाने युवतीहरूले पनि पार्टटाइम काम पाए । एकपटक गयो महत्त्व बुझायो, पकेट खर्च आई नै हाल्छ ।’ 

म्युजिक हाउस कीर्तिपुरसितको सहकार्य मा आयोजित कार्यक्रममा मौलिक नेपाली गीत संगीतको पनि प्रस्तुति रहेको थियो । 

कार्यक्रम को मुख्य आकर्षण नेपाली शैलीमा जन्मोत्सव मनाइने प्रक्रियाको प्रदर्शन, सुकुन्दा बाल्ने चलन, यमरी बनाउने तरिका र आ आफ्नो नाम रन्जना लिपिमा लेख्ने तरिका रहेको थियो । 

आज भएको कार्यक्रम पश्चात अरु विभिन्न संघ संस्था सित पनि योमरी मयजुको संस्कृति प्रवर्द्धन कार्यक्रम तय भएको छ । 

यमरी मयजुले बालबालिकामा सानैदेखि आफ्नो संस्कृतिको विषयमा ज्ञान हुन पर्ने आवश्यकता देखेर स्कुल स्कुलमा गइ यस विषयमा जानकारी दिन काम पनि सुरु गरिसकेको छ ।


Author

थप समाचार
x