समाज

घर बनाउने सपनाले सडकमा पुर्‍याएको भीमाको कथा

लक्ष्मी घिमिरे |
असार १६, २०८० शनिबार १८:२२ बजे

नाम भीमा डाँगी । ठेगाना हो दाङको घोराही ।

रोल्पामा जन्मिएकी भीमा गालाभरी भरभराउँदो बैँस फुल्दा फुल्दै १६ वर्षको उमेरमा नै मागी विवाह  गरेर दाङ घोराही आइन्। जस्ताको छानोले छाएको एउटा सानो माटोको घर जहाँ खुट्टा तनक्क तन्काउँदा पनि नपुग्ने । 'त्यस्तो घरमा कसरी  जुनी बिताउने होला ?' उनी सोचाइको बन्दी हुन पुग्थिन् । तर पनि उनको साथमा अबको वर्तमान चुपचाप स्वीकार्नु शिवाय अर्को विकल्प थिएन।


समय बित्दै गयो।

सुरुसुरुमा त जिन्दगी चुरोटको डिब्बाभित्र गुम्सिएको चुरोटका खिल्लीहरु जस्तो बनेरै भएपनि चल्दै थियो। बिस्तारै जीवनले हावामा उडेको धुवाँले जस्तो आकार बदल्दै गयो ।
उनको श्रीमान्  सशस्त्र प्रहरी सेवामा कार्यरत थिए। बाबाट अंशबण्डामा केही पनि पाएका थिएनन्। कसरी पो पाउँछन् र ! भएको त्यही सानो घर पनि सरकारी स्कुल रहेको ऐलानी जग्गामा बनाइएको थियो।

यसैले,उनले रातमा मात्र होइन, दिनमा पनि एउटै सपना देख्ने गर्थिन्। इँट्टाको एउटा त्यस्तो सुन्दर घर बनाउँन सकुँ जहाँ- बिहानै घामले छानोको प्वालबाट छिरेर नउठाएसम्म खुट्टा पसारेर लमतन्न सुत्न पाइयोस् । र,बेलुकी सबै काम सकेर घरभित्र छिर्दा ढोकाबाट टाउको न निहुर्याइकनै सर्लक्कै छिर्न पाइयोस्।

चाहे दिनभरी ज्यालादारी गरेर हुन्छ या बुढालाई फकाएर हुन्छ उनलाई एउटा घर बनाउने भूत चढेको थियो। बुढाले कमाएर पठाएको घरखर्च बाट १/१ हजार खुत्रुकेमा जम्मा गर्दै गइन्। घरमा भैंसी तीन चार वटा पालेर दूध,दही ,घ्यू बनाएर बजारमा बेच्न थालिन्।

हुँदाहुँदै घरमै आफूले रक्सी पनि पार्न थालिन् । यसरी नै पैसाको जायजेथा जोरजाम गर्दै समय बित्न थाल्यो। सुरुसुरुमा बुढाको जम्मा तलब  दस हजार रुपैयाँ थियो। आफ्नो खर्च टालेर घर खर्च पठाउन पनि धौधौ पर्ने जागिर थियो। केही वर्षपछि मात्र तलब बढेर १६/१७ हजार पुगेको थियो। केही वर्ष यता दुई बच्चा जन्मिए। त्यसयता जिम्मेवारी पनि हुर्किँदै जान थाल्यो।

बच्चा जति बढ्दै जान्छन् ,त्यति घर साँघुरो हुँदै जान थाल्यो। जति घर साँघुरो हुँदै जान थाल्यो,उति मनमा चिन्ताले अग्लो घरको जग उठाउन थालेको अनुभूति हुन थाल्यो।

तर अहिले यही सपना देख्नु नै उनको लागि प्राण खोस्न आएको यमदूत जस्तै बनिदिएको छ।

समयको पावन्दी सँगै,उनका श्रीमान् प्रहरी सशस्त्रबाट शान्ति सेनामा ६ महिनाका लागि गए। जसबाट आएको जम्मा रकमले चार लाख पचास हजार खर्चिएर १०मिटर(धुर) माटो किने। त्यसको एक वर्षपछि यही जग्गा बैंकमा धितो राखेर छ लाख रुपैयाँ निकालेर सानो एकतले घर बनाए।

घर नजिकैको ५ धुर जग्गा बिक्रीमा थियो। उनीहरुले सो जग्गा ऋण लिएर सात लाख रुपैयाँमा किने। यसरी नै सुरु भयो तीन कराेड ६९ लाख चाैध हजार रुपैयाँकाे अग्लो पर्वत।

घर बनाउँदा लिएको बैंकको ऋण तिर्न ५ वटा लघुवित्तको समूहमा पसेकी थिइन्। एउटा समूहबाट लिएर बैंकमा बुझायो, फेरि त्यही समूहको तिर्न अर्को समूहबाट लियो, अर्को समूहको कमिसन ब्याज तिर्न अर्को समूहबाट । धेरै पढ्न नपाएकी उनको आर्थिक व्यवस्थापनको सूत्र गज्जबको थियो ।

जहाँ,४ वटा समूहले ३/३ लाख र,एउटा समूहले भने पचास हजार दिने गर्थ्यो। यही समूहमा छिरेर बैंकको  ६ लाख रुपैयाँ रकम ३/३ महिनाको किस्ता ३१,५०० रुपैयाँ गरेर लगभग त्यस्तै ६ वर्षमा चुक्ता त गरिन्।

तर त्यही चुक्ता गर्दा समूहको ऋणको उचाई भने धेरै आकासिएको थियो। त्यही पुनः समूहहरुको साँवा,ब्याज तिर्नको लागि ब्यक्ति साहु महाजनसङ्ग ऋण लिन बाध्य भइन्।

यही बाध्यता र आवश्यकताको भड्खालोमा परेर नै छिमेकी एकजना साहुकहाँ पुगिन्।

जहाँ मिति २०७७/०५/०२ गते का दिन दाङ,घोराही-१० नारायणपुर निवासी साहु मीना बस्नेतसँग ऋण लिइन्। उनले ऋण लिएको किस्ता यस प्रकार थियो ।

सावाँ               
वैशाख   महिनामा        रु.१८,०००००
वैशाख   महिनामा        रु.१०,०००००
पुस       महिनामा        रु.१,०००००
माघ       महिनामा        रु.३,०००००
फाल्गुन  महिनामा        रु.६,०००००
चैत        महिनामा        रु.५,६०,०००

जम्मा रु. ४३,६०,००० सावाँ लिँदा कमिसन १३,५४००० रुपैयाँ रकम कटाएर पीडित डाँगीको हातमा मात्र ३०,०६००० रुपैयाँ आयो। तर साहुले हिसाब ४३,६०,००० कै गरेका थिए।

यसरी नै उनले ब्याज र कमिसन गरी प्रत्येक ३/३ महिनाको किस्ताले रु.३,६०,००० गरि १४,४०,००० रुपैयाँ तिरिन्। जसको साँवा १३,६०,००० रुपैयाँ तिरेर जम्मा २८,००००० रुपैयाँ तिरी सकेकी छन्।

तर साहुले अझै रु. २,००,००,००० करोड तिर्न बाँकी रहेको बताउँदै पैसा दिनुस् कि त चेक दिनुस् भन्दै बारबार दु:ख दिइरहेको उनी बताउँछिन्।

समय पनि कस्तो अजिव बनेर उपस्थित भैदियो। जबकि घरभित्र छिर्दा पनि अँध्यारो र बाहिर निस्किँदा पनि जति प्रचण्ड घामको उज्यालोले पनि अँध्यारो नै पोखिदिएको थियो। आखिर ऋणको प्रकाश जति वटै घाम लागेनी अँध्यारो नै त देखिँदो रहेछ। कालो रगत जस्तो परिस्थिति सङ्ग पौँठेजोरी खेलिरहेको बेला कहाँबाट ल्याउँन सक्थिन् र २ करोड रकम । उनीसङ्ग ख्यामत छैन। सबैतिर ऋणको पर्खाल अग्लिएको छ। पर्खाल नाघेर बाहिर टेक्ने भुइँ भेटिन्न।
न त खुड्किला छन् टेक्दै टेक्दै उक्लिने। मानौं पर्खाल साहु हो,उनी  ऋणको लहरो हुन्। जो कहिल्यै नसुक्ने,नचुटिने गरी बेरिएकी छिन्।

उनी चाहन्थिन्-

"नरोएस् बुढी,

जति सकिन्छ प्रयास गरौंला।मरे सङ्गै मरौँला,बाँचे सङ्गै बांचौंला।​ म तेरो आँखाको रुमाल बन्छु,तँ मेरो आँखाको रुमाल बनिदे।" भनेर झ्याप्प श्रीमानले अङ्गालो हालुन् । तर उनको श्रीमानले यही समयमा उनलाई छाडिदिए।

समय सोचेजस्तो सहि घुमिदिएन।

भनिन्छ,ब्याट्री सक्किएको घडिले पनि २४ घण्टामा जम्मा दुई पटकसम्म सही समय दिन्छ।तर उनको जीवनको घडी भने खै कस्तो थियो उनी पत्तो पाउँदिनन्।
भूकम्प गए झैं ठूलो धक्काले दिमागमा ठक्कर दिन्छ। टेकिरहेको जमिन भित्रभित्रै भासिँदै गइरहेको झैं लाग्न थाल्छ।वरिपरिका सबै रुखबिरुवा हिँडिरहेको झैं लाग्छ,आँखाले पनि एउटै मान्छेका तीनवटा टाउका भएको जस्तो दृश्य देख्न थाल्छ।

एकातिर बिछोडको बादलले खर्लप्पै छोपेको छ भने अर्कोतिर साहुको दबाबको चट्याङले हानिरहेको छ। यही ऋणको चक्रव्यूहमा परेर परिवारको बिचल्नी भयो। बालबच्चाको बालमनोबिज्ञान नाङ्गो हात बिजुलीको तारको झड्कामा परे जसरी डढेको छ। उनले न समाउने हाङ्गो भेटिन्,न टेक्ने जमिन भेटिन्। यो दु:खको चरम उत्कर्षमा छोरी छटपटाइरहेको सहन नसकेर माइतीले घर आउन निम्तो दिएपछि केही समय माइतै बसिन्।

यस्तो वेदनामय घडीमा आफ्नी दिदीले साहसको चोरी औँला पक्रिन दिएर उठाउने यत्न नगरी बस्न सकिनन्।

उनले आफूसँग भएका सबै चेक साहुलाई बुझाइ सकेकी थिइन्।

दिदीले आफूसँग भएको १२ लाख रुपैयाँ रकम पनि  दिइन्। र,फेरि दिदीले आफ्नो श्रीमानको २ वटा खाली चेकमा सिग्नेचर गरेर अर्को चेक पनि  दिइन्।
भाइको ,नन्दको सबैको चेकमा साइन गरेर साहुलाई नै बुझाइन्। तर भिनाजु निम बहादुर रावतको चेक साइन गरेर साहुलाई दिएपछि,साहुले उनको सम्बन्धित व्यक्ति रामप्रसाद भट्टराईलाई र भाइको चेक जानुका रेग्मीलाई दिएको कुरा पछिबाट मात्र थाहा पाइन्।

 रामप्रसाद भट्टराईले निम बहादुर रावतको घरैमा आएर डरधम्की दिन सुरु गरे।  बिहानीको घाम आँगनमा आइपुगे झैं साहु आगनमा टुप्लुक्क आइपुग्ने र साँझ घाम धुरिबाट नडुब्दै पुनः साहु घरमा आइपुग्ने क्रम एकदमै चलिरह्यो।

"पैसा बुझाउनोस्,नभए मुद्दा  हाल्दिन्छु कि त तपाईंको जागिर उडाइदिन्छु।" साहुले बोल्ने एउटै लाइन्  यही थियो। साहुले कहिले घोराही भरतपुर स्कुलको डाँडामा आइज भनी डाकेर मानसिक यातना दिने गर्थे त कहिले  दुई तीन जना अपरिचित मान्छे बाइकमा लिएर घरमै आएर त्रासदीको पहरो खसाली  फर्किने गर्थे।
 

बच्चाहरु डरले थरथर काँप्ने गर्थे।स्कुल जाँदा पनि घरमा सधैं जसो साँझ बाइकमा आउने तिनै अपरिचित मान्छेको समूहले आफ्नी ममी र,बुवालाई हप्काएको दृश्य अचानक आँखै अगाडि घटिरहेको जस्तो हुने र, थुर्‍र शरीर काँप्ने,घरिघरि बेहोसी भई अकास्मत भुइँमा ढल्ने जस्तो घटना आफूहरुमा घटिरहेको कुरा आफ्नो ममी र बुवालाई सुनाउँदै रुने गर्थे।

यो क्रम रोकिनका सट्टा झन्झन् तीव्र  गतिमा बढ्दो र चलायमान हुँदै गएपछि छोराछोरी पनि डिप्रेसनको सिकार बन्न पुगे।

रावतले सशस्त्र प्रहरीको जागिर खाएको १८ वर्ष पुगेको थियो। सेवाकालको  १६ वर्ष  काम गरिसकेपछि पेन्सन पाके पनि उनले काम गरिरहेकै थिए। तर,साहुले मुद्दा हाल्दिने ,जागिर उडाइदिने अफिसमै गएर बेइज्जती गर्दिने जस्तो दबाब दिएपछि उनले बेइज्जती हुनु भन्दा बरु जागिर नै राजिनामा दिई छाडिदिने निधो गरेर बेरोजगार भई बस्न थाले। उक्त जागिर छाड्दाताका आएको रकमको रु.३ लाख रुपैयाँ कमिसन भनी घरमै आएर साहुले बुझी लिएका थिए। यसको १५/२० दिन पछि साहुले खाली चेकमा आफ्नै मनोखुसीले रु.१५ लाखको चेक बाउन्स गरी रावतलाई मुद्दा हाल्दिएका थिए। । साहुले भन्ने गर्छन् कि- मुद्दा फैसला भैसकेको छ जुन मैले जितिसकेँ।

अब तपाईंको एउटै मात्र विकल्प छ, कि त पैसा दिनुहोस्,या त तपाईंको जग्गा काटेर सरकारी रेटमा रु.१५ लाख रुपैयाँको जग्गा जति भेट्छ त्यति दिनुहोस् भन्दै बारबार फोनमा दबाब दिइरहेका छन्।

दुइटा खाली चेकमध्ये दोस्रो चेक साहु मिना बस्नेतले उनको अर्को सम्बन्धित ब्यक्ति दाङ घोराही उप.म.न. वडा नं १० नारायणपुर निवासी  जानका रेग्मीलाई दिएको जुन चेक थियो त्यो चेक पनि आफ्नै ढङ्गबाट उनले रु.१० लाख रकम राखी चेक बाउन्स गरी आफ्नै भाइ नरेश वलीलाई मुद्दा हाल्दिएको छ। तर रोजगारीको सिलसिलामा भाइ मलेशियामा रहेको कारणले उनको ६१ वर्षका बुढा बुवा पूर्णबहादुर वलीले  उक्त मुद्दाको तारिख बोकिरहेका छन्।

दोस्रो साहु:

यसैक्रममा मिति २०७७/०९/०७ मा पुष्पा बिक सङ्ग  रु. २१ लाख साँवा लिइएकी थिईन्।जसमा कमिसन रु. ४,२०,००० कटाई रु.१६,८०,००० मात्र उनले बुझी लिएकी थिइन्।

प्रत्येक महिना साँवा ३,००००० को  ६९,००० को दरले १८ महिनासम्म १२,४२,००० तिरिन्। यसैगरी,क्रमशः साँवा २,००,००० को ४६,००० को दरले १८ महिनामा ८,२८,००० तिरिन्।

साँवा ३,००००० को रु.१२,४२,०००, साँवा ७,००००० को २८,९८,०० साँवा २,००,००० को ८,२८,००० र साँवा रु.४,००,००० को  १६,५६,००० तिरिन्।
जम्मा ९४,९४,००० तिरिसक्दा पनि ऋण नघटी जतिको त्यति नै रहेको भन्दै साहु पुष्पा बिकले पटकपटक प्रताडना दिइने गरेकी छन्।

यतिमात्रै होइन, दिदी लालमती रावतलाई खाली चेकमा आफ्नै मनोमानी ढङ्गले रकम रु. ३६,००,००० राखी मुद्दा  हाल्दिएको छ।जहाँ रावतले ३६ लाख नलिकनै लगेको करार गरेपछि उनले साहु बिकलाई तुलसीपुर उच्च अदालतबाट पुनरावेदन गरेको हुनाले अहिले अदालतमा सोही मुद्दा  चलिरहेको छ।
पुनः साहुले दबाब दिएकोले दिदीको आफ्नो ससुराको १४ कठ्ठा जमिन समेत रोक्का गरिएको छ।

र,फेरि बहिनीसङ्ग गएर धम्काउँदै भएभरको १ तोला सुन, २ आना सुनको सिक्री हडपेको,

नारायणपुर दोगरेणाचोकमा रहेको ५ मिटर घडेरी समेत छिनुवा पासमा राखी ८,००००० मा असुलेको छ (जुन जग्गाको हाल मूल्य अनुमानित  १५,००००० हुन जान्छ।)
यति बिघ्न तिरेर पनि साहुले दु:ख दिइरहेकै छन्।

तेस्रो साहु:

मिति २०७७/०७/१० गते साहु भरत कुमारी खड्कासँग रु.१७,२०,००० साँवा लिइएको जसमा कमिसन रु.१,७२,००० कटाएको थियो। जसमा साँवा रु.५,००,००० को  ११,७०,००० तिरेको, साँवा  ५,००,००० को ११,७०,००० तिरेको, साँवा ५,००,००० को ११,७०,००० तिरेको, साँवा २२,००,०० को  ५,१४,८०० तिरेको, जम्मा .१७,२०,००० रकम ऋण लिँदा १,७२,००० कमिसन बुझाईसकेर पनि फेरि  ४०,२४,८०० तिरिसकिन्।

साहुले अझ त्यतिले नपुगेको भनेपछि दिदीले आफ्नो श्रीमानबाट लुकाएर रु.३,००,००० को चेक पनि दिइएको थियो।

भिनाजुको खाली चेक सिग्नेचर गरी पुनः दिइएको जसमा साहुले आफ्नै मनोमानी ढङ्गले ३५,००,००० को चेक अनादर मुद्दा  हाली अदालतको फैसला भई कार्यन्वयनको प्रक्रियामा रहेको छ।आफ्नो समेत १४ वटा चेक ,नन्द आरती डाँगीको २ वटा चेक पनि लगिएको छ।
र ३ वटा फर्जी लिखत वडा कार्यलयबाट बनाइएको छ । २ वटा फर्जी कागज ५,००,००० को र, १ वटा २,२०,००० को र,कान्छी बहिनी लक्ष्मी खत्रीसँग ३,००,००० को कागज समेत बनाएर साहुले अझै रकम दिन भनि धम्की दिदै आइरहेकी छन्। मैले तिरिसकेँ कति तिर्नु अझै भन्दा साहुले खोइ कहाँ तिर्नुभयो ? केही तिरेको छैन सबै बाँकी छ भनी प्रतिउत्तर फर्काउने काम भैरहेको छ।

चौथो साहु:

मिति २०७७/१२/२६ मा साहु बिना डाँगीसँग ६,००,००० रुपैयाँ लिइएको थिइन्। जसमा,प्रत्येक महिना ब्याज र कमिसन गरि एक वर्षमा १६,५६,००० तिरिसकिन्।

तर पनि साहुले ६,००,००० को वडा कार्यलयमा गएर फर्जी तमसुक बनाई पटकपटक रकम माग्ने गरिरहेकी छन्।

पाचौं साहु:

साहु रेखा खनालसँग ६,५०,००० रकम ऋण लिएकी थिइन्। जसमा कमिसन र ब्याज गरि १५ महिनासम्म मा १२,६७,५०० रुपैयाँ बुझाइसकेकी छन्।
र,पनि अझै साहुले  ३६,००,००० रकम दिनुपर्ने दाबी गर्दै डर, धम्कि दिइरहेकी छन्।

छैठौं साहु:

दाङ घोराही मै छिमेकी साथीको आफन्तीबाट ८,००,००० रकम ऋण लिएकी थिइन्। जसमा ६,००,००० रकम तिरेको र २,५०,००० कमिसन समेत तिरिसकेको छ।
५ वटा खाली चेकमा सिग्नेचर गरेर समेत बुझाइन्। जम्मा र ८,५०,००० तिरिसक्दा पनि साहुले अझै  १५,००,०००  तिर्नुपर्ने दाबबी गर्दै आएका छन् ।

जसमा रु. १,९८,०१,९०० रकम बुझाइसकेकी छन् तर अझै साहुमहाजनहरुले सिङ्गै ऋण बाँकी रहेको बताउने अर्थात, ३,६९,१४,०००रुपैयाँ दिनुपर्ने  दाबी गर्दै बारबार यातना दिने गरिरहेका छन्।

यसरी एउटा सानो घर बनाउने सपना पूरा गर्दा घरवारविहीन हुन पुगेकी छन् उनी । उता दिदी लालमती पनि बहिनीलाई ऋणको कालो नदीबाट तार्ने हुँदा आफैँ घरवारविहीन बन्न पुगेकी  छन्।

हरेक दिन श्रीमानले फोन गरेर हेल्लो शब्द उच्चारण गर्नुका सट्टामा अनेकथरी बोल्ने गर्छन् ।

दिदी पुलुक्क बहिनीको अनुहार हेर्छिन्,बहिनी पुलुक्क दिदीको अनुहार हेर्छिन्। केवल दुवै जना अहिले एउटाको टेक्ने साहारा लौरो अर्को बनेर बाँचिरहेका छन्। घरको बास नभएको पनि धेरै समय भैसक्यो। बालबच्चा हजुरआमाको साथमा छाडेर सडकको वासमा आकास ओढेर बाँच्न विवश बनेका उनीहरु जीवनको  अनकन्टर रनवनमा हुरहुरी बलेको आगो पिएर बाँचिरहेका छन्।


Author

थप समाचार
x