दुई करोड ३३ लाखको लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ
काठमाडौँ- प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ गतेदेखि आजसम्म गरेको आठ वटा लागूऔषध विरुद्धको अपरेसनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूका साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागूऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिकहरू डेभिड मिनाडो, मार्टिन शेर्ना र पवल विष्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया