मेलम्ची बन्द
फाइल तस्बिर
काठमाडौँ- सरकारले एसियाली विकास बैंक (एडीबी) को ‘सल्लाह’ मा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी पठाउन बन्द गरेको छ ।
जलवायु परिवर्तनका कारण कतिखेर कत्रो र कुन किसिमको बाढी आउँछ भन्ने आँकलन गर्न नसक्ने भन्दै एडीबीले वर्षायामभरि मेलम्चीको सुरुङ बन्द गर्न खानेपानी मन्त्री महिन्द्र राय यादवलाई ‘सल्लाह’ दिएको मन्त्रालय स्रोतले बतायो ।
दुई वर्षअघि मेलम्चीमा आएको लेदो (सेडिमेन्ट) सहितको बाढीले मेलम्चीको संरचनामा मात्र झन्डै एक अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको थियो । सरकारले मेलम्चीमा पूर्ण रूपमा मुहान संरचना (हेडवर्क्स) नबनाइकन अस्थायी रूपमा पानी छाडेको थियो ।
सानोतिनो पानी पर्दा पनि धमिलो आउन थालेपछि दुई वर्षअघिको बाढीलाई ल्याएको विनाश स्मरण गर्दै खानेपानी मन्त्रालयले उपत्यकामा मेलम्चीबाट पानी आपूर्ति अघिल्लाे सातादेखि बन्द गर्न लगाएको हो ।
‘मन्त्रालयमा भएको छलफलअनुसार नै हामीले केही दिनलाई मेलम्ची सुरुङ बन्द गरेका हौं,’ मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मंगलबार इकागजसँग भने, ‘सुरुङमा थेग्रो जम्मा हुने जोखिम बढेकाले उच्चतम वर्षायाम (पिक) का बेला स्थगित गरिएको हो ।’
दु्ई वर्षअघिको उक्त बाढीले मेलम्चीभन्दा माथिको जलाधार क्षेत्र क्षतविक्षत तुल्याएकाले सानोतिनो पानी पर्दा पनि नदीमा धमिलो पाउने आउने गरेको श्रेष्ठले बताए । ‘पहिला पहिला एकदमै ठूलो बाढी आएका बेलामा मात्रै मेलम्ची खोलाको पानी धमिलिन्थ्यो,’ श्रेष्ठले भने, ‘अहिले अलिकति पानी पर्नासाथ खोलो धमिलो भइहाल्छ, दूध हालेर पकाएको चिया जस्तो ।’
यस्तो धमिलो पानी सुरुङभित्र हुलेर लेदोको भार बढाउनुको साटो केही समय स्थगित गर्नु उपयुक्त देखिएको उनको भनाइ थियो । ‘कदाचित् बाढी पस्यो भने त यत्रो लगानी गरेको संरचना खत्तम हुने ठूलो जोखिम देखियो,’ उनले भने, ‘फेरि हाइड्रोलिक सिष्टमबाट ढोका खोल्ने र बन्द गर्ने गर्नुपर्दा केही गरी बिग्रिहाल्यो भने त्यसको ब्याक अप छैन, झन् बर्बाद हुन्छ ।’
वर्षायाम सुरु भएसँगै काठमाडौँ उपत्यकाका स्थानीय स्रोत (इनार, ट्यूबवेल, घरका पम्प) पनि बढ्ने र काठमाडौँमा खानेपानीको हाहाकार पनि नहुने भएकाले मेलम्चीको पानी स्थगन गर्दा समस्या नपर्ने ठहर मन्त्रालयको छ ।
आगामी वर्ष डिस्याण्डर (बालुवा थिग्य्राउने पोखरी) सहितको संरचना निर्माण गर्ने योजना छ । त्यसपछि सदाका लागि मेलम्ची सञ्चालनमा ल्याउन सकिने श्रेष्ठको भनाइ छ । ‘यो वर्षायामको एक, डेढ महिनालाई जोखिम नलिउँ भनेर हाललाई रोकिएको मात्र हो,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया