समाज

जोर्डन जान लागेका १५ जना नेपालीलाई अध्यागमनले विमानस्थलबाटै किन फर्कायो ?

इकागज |
असार २४, २०८० आइतबार १६:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले १५ जनालाई फर्काएको छ । जोर्डन जान लागेका १३ महिला र २ पुरुषसहित १५ जना नेपाली कामदारलाई विमानस्थलबाटै फर्काएको अध्यागमन कार्यालयले जनाएको छ ।

आइतबार बिहान बिनाभिसा जोर्डन जान लागेकाले उनीहरूलाई अध्यागमनले विमानस्थलबाट फर्काएको थियो । एयर अरेबियाको जहाजबाट उनीहरू बिहान साढे १० बजे जोर्डनतर्फ जान लागेका थिए ।


अध्यागमनले उनीहरूको साथबाट भिसा फेला नपारेकाले फिर्ता पठाउनु परेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीले इकागजलाई जानकारी दिए ।

‘जोर्डनको फ्याक्ट्रीमा काम गर्न जान लागेका थिए । उनीहरूसँग श्रम स्वीकृति थियो,’ उनले भने, 'उनीहरूलाई भिसा मात्र नभएकाले फर्काएका हौं । विदेश जानेहरूसँग अनलाइन वा प्रिन्टेड भिसा हुन्छ । तर, उनीहरू दुवै जनासँग कुनै प्रकारको भिसा थिएन ।'

जोर्डनको आन्तरिक मन्त्रालयले लेखेको पत्र मात्र उनीहरूसँग रहेको सुवेदीले जानकारी दिए ।

उनका अनुसार जोर्डनबाट एजेन्सीलाई पत्र लेखेको बाहेक अन्य कागजपत्र उनीहरूसँग थिएन । भिसा नखुलेका कारणले उनीहरूलाई फर्काइएको मात्र हो । कारबाहीको कुनै पनि प्रक्रिया अगाडि बढाइएन ।

भिसा ल्याएमा सहजै अध्यागमनले स्वीकृति प्रदान गर्ने सुवेदीले प्रस्ट पारे ।

 


Author

थप समाचार
x