समाज

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

इकागज |
असार २४, २०८० आइतबार १८:१३ बजे

काठमाडौँ- ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । 

घिमिरेमाथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप लगाइएको छ । यस्तै अर्याल भने त्यस बेला जग्गा नापजाँचमा खटिएको जनाइएको छ । 


उनीहरूलाई यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । उक्त प्रकरणमा सिआइवीले यसअघि नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।  

किर्ते तथा सङ्गठित रूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् । 

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । 

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्यूरोले पुनः अनुसन्धान थालेको हो । रासस


Author

थप समाचार
x