समाज

साढे ६ लाख रुपैयाँ ठगेको आरोपमा वीरेन्द्रनगरका वडाध्यक्ष पक्राउ

इकागज |
असार २४, २०८० आइतबार १९:१७ बजे

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोद सिंह विष्टलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीका अनुसार विष्टलाई आइतबार दिउँसो प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्ध उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।


उक्त उजुरीका आधारमा शनिबार दुई जना पक्राउ परेका थिए । पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको प्रवक्ता शाहीले जानकारी दिए ।

‘अध्यक्ष ज्यूलाई आज साढे तीन बजे पक्राउ गरेका हौँ,’ डिएसपी शाहीले इकागजसँग भने, ‘उक्त साढे ६ लाखमध्ये दुई लाख अध्यक्षलाई दिएको भन्ने अघिल्लो दिन दुई जना पक्राउ भएकाबाट बयान दिएपछि अध्यक्षलाई पक्राउ गरेका हौ ।’

वडाध्यक्ष विष्टमाथि थप अनुसन्धान भइरहेको शाहीको भनाइ छ ।


Author

थप समाचार
x