समाज

धौलीगंगा बाँध मंगलबार खोलिने, सतर्कता अपनाउन आग्रह

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने

इकागज |
असार २४, २०८० आइतबार २०:३ बजे

फाइल तस्बिर

बैतडी- भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध मंगलबार खोलिने भएको छ । 

एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ । 


बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बर्सातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । 

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो । धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बर्सातको बेला हरेक वर्ष खोलिने गर्दछ ।

परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो । रासस


Author

थप समाचार
x