‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने
काठमाडौँ- उपत्यकाका स्थानीय तहले ‘लामखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगीको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग गरेको छलफलमा चार महिनासम्म उक्त अभियान सञ्चालन गरिने महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।
'अबको चार महिना डेंगी सङ्क्रमण बढ्ने निकै नै जोखिम हुन्छ,' उनले भने, 'स्थानीय तहले चार महिना लामखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्नेछन् ।'
स्थानीय तहले प्रत्येक हप्ता टोल–टोलमा गएर पानी जम्ने सम्भावना भएको ठाउँ खोजी गरी नष्ट गर्नेछन् । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले महाशाखाबाट उपत्यकाका सबै स्थानीय तहलाई रोकथाम र नियन्त्रण गर्न आग्रह गर्दै यसका लागि आवश्यक सहयोग उपलब्धसमेत गराइने जानकारी दिए ।
बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले लामखुट्टे खोज्न र नष्ट गर अभियान चाँडै नै सञ्चालन गरिने बताए । उनले पालिका भित्रका गाउँ टोलमा पनि डेंगी नियन्त्रण तथा रोकथामका लागि सचेतना अभियानसमेत सञ्चालन गरिने उल्लेख गरे ।
पानी परेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेंगीको जोखिमसमेत बढ्दै आएको छ । महाशाखाका अनुसार काठमाडौँमा ४६ ललितपुरमा १२ भक्तपुरमा ३५ जना डेंगीका बिरामी भेटिएका छन् । सन् २०२३ यता अहिलेसम्म एक हजार २४ मानिस डेंगीका कारणले बिरामी हुनाका साथै सुनसरीमा एक जनाको ज्यान गएको छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ । डेंगीले गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्दछ ।
लामखुट्टेबाट बच्न सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल तथा ढोकामा जाली हाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेंगी देखिएको र यसबाट ८८ जनाको ज्यान गइसकेको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगी देखिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया