समाज

कपिलवस्तुमा सर्पले टोकेर दाजुभाइको मृत्यु

इकागज |
असार २६, २०८० मंगलबार १७:२७ बजे

फाइल तस्बिर

बुटवल- कपिलवस्तुमा सर्पले टोकेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका वडा नं. १ मा विषालु सर्पले टोक्दा १२ वर्षीय दीपक भुसाल र ९ वर्षीय प्रदीप भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार राति घरमा सँगै सुतिरहेको बेला उनीहरूलाई सर्पले डसेको हो ।


सँगै सुतिरहेका उनीहरू बिहान अचेत अवस्थामा भेटिएका थिए । बिहान उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा एक जनाको बाटोमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, मंगलबार बिहान बुद्धभूमि नगरपालिका १० की १६ वर्षीया ममता रैदास र महाराजगञ्ज  नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि सर्पले टोकेर मृत्यु भएको छ ।

रैदासलाई सोमबार बिहान सर्पले टोकेलगत्तै गोरुसिङ्गेस्थित कपिलवस्तु सर्प दंश उपचार केन्द्र लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएकोमा अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यादवलाई भने घर नजिकैको टौवाबाट पराल निकाल्ने क्रममा सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।


Author

थप समाचार
x