समाज

मानव अधिकार शान्ति समाजद्वारा रूसी दूतावास अगाडि प्रदर्शन

इकागज |
असार २८, २०८० बिहीबार १४:१८ बजे

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौँस्थित रूसी दूतावास अगाडि प्रदर्शन गरेको छ । रूस–युक्रेन युद्धको ५०५ औँ दिन पुग्दा पनि युद्ध नरोकिएको भन्दै समाजले युद्ध रोक्न आग्रह गर्दै रूसी दूतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले रूसः तत्काल युद्ध अन्त्य गर, युद्धको ५०५ दिनः मानवता पराजित, रूसी आक्रमण बन्द गर, युद्धको ५०५ दिनः इतिहास लज्जित, रूसी आक्रमणका कारण हजारौँ नागरिकको मृत्यु, मानवता पराजित हुँदैछ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शन पश्चात रूसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रूसी राजदूतावास अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो ।


शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले युद्धका कारण मानवता पराजित भइरहेको दु:खद अनुभव भएको र यसले समग्र विश्वमा नै असर परेकाले ध्यानाकर्षण गरिएको बताए ।

रूसलाई युद्ध रोक्न आग्रहसहित समाजले विगतमा पनि रूसी राजदूतावसा अगाडि पटक पटक र देशभर धेरै पटक प्रदर्शन गरिसकेको जनाएको छ । 


Author

थप समाचार
x