समाज

गाउँपालिकाले सहयोग जुटाएरै बनायो डाइभर्सन पुल

इकागज |
असार ३१, २०८० आइतबार १७:४७ बजे

विराटनगर- मोटरेबल पुल बगाउँदा सदरमुकाम फिदिमसँग यातायात सम्पर्क टुटेपछि पाँचथरको फालेलुङ गाउँपालिकाले विभिन्न व्यक्तिहरूबाट सहयोग रकम जुटाएर हेवा खोलामाथि पक्की डाइभर्सन पुल बनाएको छ । असार २ गते राति हेवा खोलामा आएको भीषण बाढीले फालेलुङ–३ र ७ घुमाउने टार दोभानमा रहेको मोटरेबल पुल बगाएको थियो ।

गाउँपालिकाले देशभित्र र विदेशमा बसिरहेका व्यक्तिहरू र पालिकाबाट करिब २३ लाख रुपैयाँ सहयोग जुटाएर अहिले हेवा खोलामा ह्यूमपाइप राखेर डाइभर्सन पुल निर्माण गरेको हो । सहयोगबाट उठेको रकमले पुल निर्माण गर्न त्यहाँका सयौं स्थानीयले श्रमदान गरेका छन् ।


पाँचवटा ह्यूमपाइप राखेर त्यसको माथि ढलान गरेर पुलको आकार दिइएको छ । उक्त पुलबाट साना सवारी साधन सहजै तर्न थालेको जनाइएको छ । 
पालिकाको ११ लाख रुपैयाँको लगानी र बाँकी रकम सहयोगबाट जुटाएर करिब एक महिनाको प्रयासपछि पुल तयार गरेर सञ्चालनमा आइसकेको गाउँपालिकाका अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए ।

‘हेवा खोलामा ठूलो बाढी आएर पुल बगाएपछि सदरमुकामसँग सम्पर्क नै बन्द भयो, तत्कालै केही गर्न हामीसँग पैसा पनि थिएन,’ अध्यक्ष थाम्सुहाङले भने, ‘हामीले सुरुमा केही थिएन, अनि आम सर्वसाधारणलाई सहयोगको माग गर्यौं, तर हामीले सोचेभन्दा धेरै नै सहयोग पालिकावासी र देश विदेशमा रहने पाँचथरवासीले चन्दा दिएर सहयोग गर्नुभयो, आज त्यही सहयोगले हामीले पुल बनाएर यातायात सञ्चालन गर्न सफल भयौं ।’

उनले सहयोग गर्नेहरूको नामावली गाउँपालिकाले सूचना नै निकालेर सार्वजनिक गरेको जानकारी दिए । सहयोग रकम उठ्न थालेपछि वीरगञ्जबाट ह्यूमपाइप ल्याएर खोलालाई अर्कोतिर फर्काएर पुल बनाएको पालिका अध्यक्ष थाम्सुहाङले बताए । उनले पुल निर्माणका लागि स्थानीयले श्रमदान गरेर ठूलो सहयोग गरेको जानकारी दिए ।

हेवा खोलाको बाढीले फालेलुङको ३ र ७ जोड्ने घुमाउनेटार, वडा नं. ३ र ५ जोड्ने लुमाङदिन र वडा ३ र ४ जोड्ने खेवाथामको पुल बगाउँदा गाउँपालिका मुकाम र जिल्ला सदरमुकामसँगको यातायात सम्पर्क टुटेको थियो । पालिका र विभिन्न व्यक्तिहरूको सहयोगबाट उठाएको रकमले घुमाउनेटारमा भने डाइभर्सन पुल निर्माण गरिएको जनाइएको छ ।


Author

थप समाचार
x