समाज

आर्थिक वर्ष २०७९-८० मा काठमाडौँमा अपराधका घटना बढे

सबैभन्दा बढी बैंकिङ कसुरसम्बन्धी मुद्दा

इकागज |
साउन १, २०८० सोमबार १४:५९ बजे

काठमाडौँ- आर्थिक वर्ष २०७९–८० मा काठमाडौँमा अपराधका घटनाहरू बढेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८–७९ को तुलनामा २०७९–८० मा काठमाडौँमा अपराधका घटनाहरू बढेको जनाएको हो । २०७८–७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९–८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएको कार्कीले बताए । त्यस्तै आर्थिक वर्ष २०७९–८० मा प्राप्त २ हजार १ सय ६२ उजुरी मध्ये ६ सय ४१ को मात्रै फर्छ्यौट भएको छ । कार्कीले अनलाइन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरू पनि पछिल्लो समय बढ्दै गएको बताए ।

उनले काठमाडौँ जिल्लामा देखिएका अपराधका चुनौतीहरूलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताए । कार्कीले नाकामा प्रविधियुक्त प्रणाली जडान गरी अपराध नियन्त्रणतर्फ ध्यान दिने धारणा राखे ।

त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनाहरू हुन गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरिने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाडौँ निर्माणको अवधारणालाई मुर्तरूप प्रदान गर्ने कार्कीले बताए ।


Author

थप समाचार
x