कमैया मुक्ति दिवस
अभियन्तालाई सत्ताको बागडोर
आन्दोलनका अभियन्ता नै मुख्यमन्त्री पाएपछि मुक्त कमैयामा सहज जीवनयापनको आशा
बुटवल- सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको आज २४ वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको ऐतिहासिक घोषणा गरेको थियो । वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरियो । त्यति मात्र होइन उनीहरूलाई गाँस वास र कपासको यथोचित प्रबन्धको पनि घोषणा भयो तर उनीहरूका आधारभूत आवश्यकताले अहिले पनि पूर्णता पाएका छैनन् ।
सुरुका वर्षमा कमैया मुक्ति दिवस खुसी र उल्लासका साथ मनाइए पनि पछिल्ला वर्ष आन्दोलनका रूपमा मनाउने गरिएको छ । तीन तहको सरकार बने पनि उनीहरूको गाँस बासको प्रबन्ध नमिलाइ दिँदा मुक्त कमैयाहरूले आन्दोलनका रूपमा मुक्ति दिवस मनाएर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा कमैया प्रथा व्यापक थियो । ती जिल्लाका मुक्त कमैयाहरूले अझैसम्म पनि पुनःस्थापना र व्यवस्थापन नभएको गुनासो गर्दै आएका छन् । मुक्त कमैयाहरू समस्यै समस्यामा गुज्रिएको भन्दै बर्दियाका पत्रकार भावुक योगी भन्छन्, ‘कतिपयको हातमा लालपुर्जा छ, तर जग्गा छैन, कतिपयसँग लालपुर्जा छैन, तर जग्गा प्रयोग गरिरहेका छन् । कतै सरकारले लालपुर्जा दिएको जग्गा बगरमा छ । बगरमा गएर बस्न मिलेन । कतै लालपुर्जा भएको स्थानमा अरु सुकुम्बासीका रूपमा बसेका छन् ।'
दासका रूपबाट उन्मुक्ति पाएर स्वतन्त्र भएका मुक्त कमैयाहरू समस्यै समस्यामा रुमलिएका बेला उनीहरूलाई आजाद बनाउने आन्दोलनका अभियन्ता डिल्ली चौधरी प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन् ।
दाङ जिल्लाका चौधरी मुक्त कमैया आन्दोलनका अभियन्ता हुन् । त्यही अभियानको जगबाट सामाजिक कार्यकर्तापछि राजनीतिक कार्यकर्ता बनेका चौधरी अहिले लुम्बिनी प्रदेश सरकारको नेतृत्वकर्ताका रूपमा छन् । उनी थारू कमैया, कमलरीहरूमा शैक्षिक जागरणको अभियान सुरु गर्ने राजनीतिकर्मी पनि हुन् । दाङ जिल्लामा जन्मिएका चौधरीका बाबु टुकलाल चौधरी जिल्ला पञ्चायत सदस्य र गाउँ पञ्चायतको उपप्रधानपञ्चसम्म भएका थिए । २०२६ असार १५ मा दाङको तुलसीपुरमा जन्मिएका डिल्ली १७ वर्षकै उमेरदेखि नै उनी सामाजिक काममा सक्रिय थिए ।
दाङ, बाँके, बर्दिया लगायतका जिल्लाको कमैया मुक्ति आन्दोलनका अभियन्ता नै प्रदेशको मुख्यमन्त्री भएपछि मुक्त कमैयामा सहज जीवनयापनको आशा पलाएको छ ।
२०४८ सालमा उनले बेस (ब्याकवार्ड सोसाइटी एजुकेशन) नामक गैरसरकारी संस्थाबाट कमैया र कमलरीलाई शिक्षाको पहुँचमा ल्याउने अभियान सुरु गरे । चौधरीले दाङसहित पश्चिम तराईका, बाँके, बर्दिया कैलाली, कञ्चनपुरमा पछाडि परेका आदिवासी थारूहरूलाई शिक्षा सारक्षरताको कामको थालनी गरे । गाउँ–गाउँमा गएर प्रौढ कक्षाहरू चलाए । ‘त्यो बेला कमैया कमलरीहरूलाई शिक्षाबाट वञ्चित गराइएको अवस्था थियो,’ प्रदेश योजना आयोगका उपाध्यक्ष एवं दाङकै नेता डा. नहकुल केसी मुक्त कमैयाको बिगुल फुक्ने अभियन्ता डिल्ली चौधरी हुन्,' उनले थपे, ‘खास गरी कमैया कमलरीका बालबालिकाहरूलाई शिक्षित बनाउने अभियन्ताका रूपमा काम गर्नुभयो । त्यही शिक्षाको जागरणले बिस्तारै एउटा अवस्थाको श्रृजना भयो र देशबाट कमैया मुक्तिको घोषणा भएको हो ।'
२०५२ सालबाट डिल्ली चौधरीले कमैया मुक्तिको आन्दोलनको नेतृत्व गरे । त्यस बेला दाङसहित पश्चिम तराईमा कमैया प्रथा व्याप्त थियो । पछि जमिनदारी प्रथाविरुद्ध थारू मुक्तिको आन्दोलनलाई चर्काउने र नेतृत्व डिल्ली चौधरीको नेतृत्वको संस्था बेसले गर्यो । त्यति बेला संयुक्त परिचालन समिति गरेर आन्दोलनलाई गाउँ गाउँबाट चर्कियो ।
त्यही समितिबाट प्रशासन अघि धर्ना बसेर कमैया मुक्ति आन्दोलनका कार्यक्रमहरू सुरु भयो । त्यसपछि थुप्रै कमैयाहरू साहुका घरबाट विद्रोह गरेर आन्दोलनमा सहभागी हुन थाले । काठमाडौँमा समेत पुगेर दिनहुँ धर्ना र प्रदर्शन गर्न थालेपछि सरकारको ध्यानाकर्षण भयो । र, ०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा भएको हो । पछि कमैया मुक्ति आन्दोलनको नेतृत्व र थारू समुदायमा शिक्षाको जागरण ल्याउने काम गरेबापत उनी थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान समेत पाए । उनले अमेरिकाले दिने अशोका फेलोसीप अवार्ड र रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारलगायतका पुरस्कार प्राप्त गरेका छन् ।
उनै चौधरी अहिले एउटा प्रदेशकै मुख्यमन्त्री भएपछि मुक्त कमैयाहरूमा धेरै ठूलो आशा जागेको छ । बर्दियाका पत्रकार योगी थप्छन्, ' जसले आन्दोलन गरेर मुक्त कमैया घोषणा गराउन सफल भयो त्यही व्यक्ति सरकार प्रमुख भएपछि मुक्त कमैयाहरूमा ठूलो आशा पलाएको देखिन्छ । उनका अनुसार बर्दियामा मुख्यमन्त्री चौधरीको भव्य स्वागत गरेर यस पटक मुक्त कमैया दिवस मनाइएको छ । सो अवसरमा मुख्यमन्त्री चौधरीले आफूमा मुक्त कमैयाहरूलाई व्यवस्थित गर्ने ठूलो दायित्व आएको भन्दै त्यसका लागि सबैसँग मिलेर काम गर्ने बताए ।
दिवसकै अवसरमा उनले शुभकामना समेत दिएका छन् ।
कमैया मुक्ति दिवसको मुख्यमन्त्रीको सन्देश
आज मुक्ति दिवस, जमिनदारको घरमा कमैया बस्ने कमैयाहरू मुक्त घोषणा भएको दिन । विक्रम संवत २०५७ साल साउन २ मा नेपाल सरकारले कमैयाको नामबाट प्रत्यक्ष वा अप्रत्यक्ष वा कुनै पनि तरिकाले असहाय तथा अशिक्षित श्रमिकलाई काममा लगाउनु पूर्णतः गैरकानुनी घोषित गरी कमैया मुक्तिको उद्घोष गरेको थियो । त्यही दिनलाई मुक्तिको दिनको रूपमा मनाउँदै आइएको यस दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट नेपालको पश्चिम तराईका ५ (दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर) जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाख जना मुक्त भएका थिए । सरकारका विभिन्न प्रयास भए पनि मुक्ति दिवसको समयमा जन्मेको एउटा सन्तान अहिले २३ वर्षको लक्का जवान भइसक्दा समेत साढे २७ हजार मुक्त कमैया परिवारका लाखौं जनाको व्यवस्थापन र पुनःस्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेकोमा म संवेदनशील समेत भएको छु । तसर्थ उहाँहरूको पुनःस्थापना र व्यवस्थापनको पक्षमा सबै एक भएर थप लागि पर्ने अवस्था आएको छ ।
कमैया आन्दोलनको प्रभावले तत्कालीन अबस्थामा सहयोग गर्नु हुने पूर्व प्रधानमन्त्री ज्यूहरू, राजनीतिक शीर्ष नेतृत्व, मन्त्रीहरू, आन्दोलन सफल बनाउन अग्रनी भूमिका खेल्ने आम सञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर तत्कालीन अवस्थामा सहयोग गर्ने मार्टिन चौतारी लगायतका संघ सस्थाहरू प्रतिको सहयोग स्मरण गर्दछु, साथै आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । उक्त आन्दोलनको अभिभावकत्व ग्रहंणगरी आन्दोलनमा समेत सहभागी भइ सफल बनाउन सहयोग पुर्याउने पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यू प्रति कृतज्ञता व्यक्त गर्दछु ।
यो अवसरमा कमैया आन्दोलनका अगुवा पहिलो विद्रोही नेता राजदेव चौधरीलाई स्मरण गर्दै समन्ययकर्ता दमननाथ ढुङगाना र पद्मरत्न तुलाधरको योगदानलाई सम्झना चाहन्छु । आज २३ वर्षपछि कति मुक्त कमैयाको पुनःस्थापना भयो? कतिको पुनःस्थापना हुन बाँकी छ? बाँकीको पुनःस्थापनाका लागि के हुँदैछ? यी प्रश्नहरू जगजायर छन । ती समस्या समाधानका लागि तीनै तहका सरकार अझै पनि गम्भीर हुनु पर्छ । लुम्बिनी प्रदेश सरकार यसमा पुर्ण रूपमा गम्भीर छ । आजको दिनले मुक्त कमैयामा उत्साह, उर्जा र श्रृजनशीलता बढाउन थप प्रेरणा प्रदान गरोस भनी शुभेच्छसहित मुक्त कमैयाहरूलाई स्वरोजगार बनाउने, उनीहरूको उत्पादन र सीपलाई बजारसम्म पुर्याउने अभियानमा कमैया आन्दोलनको अभियन्ताको हैसियतले सँगै रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया