समाज

बालिकाको प्रयोगबाट लागूऔषध कारोबार, यसरी अन्तर्राष्ट्रिय ट्रान्जिट बन्दैछ नेपाल

इकागज |
साउन २, २०८० मंगलबार २१:२७ बजे

काठमाडौँ– उमेरले भर्खर १६ टेकेकी सविता (परिवर्तित नाम)को नाममा आइतबार अमेरिकाको क्यालिफोर्नियाबाट एउटा पार्सल आयो । आफ्नो नाममा अमेरिकाबाट सामान आएपछि उनी तुरुन्तै त्रिभुवन विमानस्थलस्थित कार्गो कम्प्लेक्स पुगिन् । उनले आफ्नो नाममा आएको लत्ताकपडा कम्प्लेक्सबाट बुझिन् । तर, यसरी बुझेको कार्गो खोलेर हेर्न पनि पाएकी थिइनन्, प्रहरीले पक्राउ गरिहाल्यो ।

सविता राजधानीमा रहेर जागिरमा संघर्ष गरिरहेकी किशोरी हुन् । प्रहरीले पक्राउ गरेलगत्तै आत्तिइन् । प्रहरीले नियन्त्रणमा लिएको बारे उनी अनविज्ञ थिइन् ।  जब प्रहरीले सविताले बुझेको कार्गो, अरु नभई गाँजा रहेको बतायो, सविता छाँगाबाट खसिन् । प्रहरीका अनुसार उनको नाममा आएको पार्सलभित्र अवैध लागूऔषध गाँजा थियो । प्रहरी भन्छ, ‘उनको पार्सलभित्र अवैध रुपमा लुकाइ छिपाई ओसारपसार गर्न लागिएको २ केजी गाँजा थियो ।’ उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिई गएको प्रहरी टोलीले त्रिभुवन विमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध २ केजी लागूऔषध गाँजासहित पक्राउ गरेको थियो ।


सविता फैज उल्लाह साहका लागि काम गर्थिन् । साहले भ्याकेन्सी सेन्टरबाट सवितालाई ‘मेरोमा काम गर्नु’ भनेर लिएर गएका थिए । उनले फाट्टफुट्ट काम लगाउँथे । यसैगरि गएको असार ३१ (आइतबार) उनको नाममा अमेरिकाबाट पार्सल आएको भन्दै साहले उनलाई एअरपोर्टमा सामान लिन पठाए । उनले भनेका थिए, ‘क्यालिफोर्नियाबाट तिम्रो नाममा सामान आएको छ । लिएर आउ ।’ उनलाई साहले ट्याक्सी भाडा भनेर दुई हजार रुपैयाँसमेत दिएका थिए । 

के काम गर्थिन् पक्राउ परेकी बालिका ?

सविता प्लस टु को परीक्षा दिएर काठमाडौँमा त्यत्तिकै भौतारिरहेकी थिइन् । उनलाई जागिरको अफर आयो, एउटा ‘जब सलुसन एजेन्सी’मा रिसेप्सनिस्टको कामका लागि । त्यहीँ काम गरिरहेकी उनलाई एक दिन कुनै अर्काे कम्पनीमा कर्मचारी आवश्यक रहेको जानकारी आयो । ‘उनलाई अर्कै अफिसबाट जागिरको कुरा सुनाएको व्यक्तिले नै केही दिनपछि फोन गरेका रहेछन्,’ बालिकाले प्रारम्भिक अनुसन्धानमा बोलेको उद्धृत गर्दै लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी चक्रराज जोशीले भने, ‘पहिलाको मान्छेले काम राम्रो नगरेको र अहिले उनले गरिरहेको भन्दा बढी तलब दिने प्रलोभन दिएर लगिएको रहेछ ।’ उनका अनुसार ती बालिकालाई नयाँ भनिएको अफिसले मासिक बीस हजार रुपैयाँ दिने सर्तमा लगेको पाइएको छ ।

काम गरिरहेको जब एजेन्सीको भन्दा राम्रो र धेरै तलब पाइने भएपछि सविता राजी भइन् । र, उनले आफूले गर्नुपर्ने कामबारे सोधिन् । उत्तर आयो- ‘ कहिलेकाहीँ मात्रै काम हुन्छ । विदेशबाट आएको सामान (चकलेट, सजावटका समान, खेलौना र कपडा)हरू एअरपोर्ट गएर बुझेर ल्याउने हो ।’ कामको विवरण सुनेपछि सविता साहसँग काम गर्न लोभिइन् ।

उनलाई काम लगाउने व्यक्तिले नागरिकता मागे । सामान बुझेर ल्याउन परिचय पत्र बनाउन भन्दै उनको नागरिकता माग गरिएको खुल्न आएको प्रहरीको भनाइ छ । काम लगाइ दिनेले उनलाई फोटोकपी मात्रै मागेका थिए । ती काम लगाइदिने व्यक्ति थिए, पर्साको धोबीनी गाउँपालिका वडा नं. ५ का २७ वर्षीय उही फैज उल्लाह साह ।

सजिलो जागिर र आकर्षक तलबको प्रलोभनमा परेर नागरिकताको फोटोकपी साहलाई दिएकी सविताले यो थाहै पाइनन् कि उनको नागरिकताको फोटोकपी अवैध कामका लागि भारत, हुँदै अमेरिका पुगेको छ । साह अरुकै नामको फोटोकपी प्रयोग गरेर अमेरिकाबाट विभिन्न सामानमा लागूऔषध राखेर नेपाल भित्र्याउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न समेत आएको छ ।

तस्करहरूले प्रयाेग गर्छन् सोझा सिधाको परिचयपत्र 

लागूऔषध अपराधमा बालबालिका र सामान्य व्यक्तिलाई कारोबारीले कसरी फसाउँछन् भन्ने यही घटनाले पुष्टि गर्छ । ‘लागूऔषध तस्करहरूले अन्य व्यक्तिको नागरिकता तथा पासपोर्ट प्रयोग गरी विदेशबाट लागूऔषध मगाउने गरेको पाइएको छ,’ ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी चक्रराज जोशी भन्छन्, ‘आफ्नो परिचय पत्र, नागरिकता, पासपोर्टलगायत कागजात कसैले मागेमा कुन प्रयोजनको लागि हो नबुझी दिँदा यसरी सोझासिधा फस्न पुग्छन् ।’ उनले यस्ता डकुमेन्टको प्रयोगबारे सबै नागरिकलाई समयमै सचेत हुनसमेत अनुरोध गरेका छन् ।

दोषी पनि अभिभावक हुन्

पछिल्लो समय अनलाइन जब सेन्टरका नाममा खुलेका कम्पनीहरूले बालिका तथा युवतीहरूलाई यसरी प्रलोभनमा पार्ने गरेको प्रहरीको भनाइ छ । ‘जागिरको नाममा नचिनेका व्यक्ति तथा कम्पनीको विश्वासमा पर्दा गैर कानुनी कार्य तथा लागूऔषध कारोबार जस्तो अपराधमा समेत फस्न पुग्ने गरेका घटनाहरू क्रमशः बढ्दै छ,’ उनी भन्छन्, ‘यसमा अभिभावकहरूको पनि दोष हुने देख्छु ।’ उनले आफ्ना छोराछोरी कहाँ के गर्दैछन् भन्नेबारे समयमै बुझ्ने नगर्दा दुर्घटना निम्तिने गरेको बताए ।

जागिरका लागि अभिभावकले आफ्ना छोराछोरीलाई खुल्ला छाड्ने गर्दा समस्या निम्तिने गरेको उनको बुझाइ छ ।

विदेशी नागरिकले यसरी बनाउँदैछन् नेपाललाई लागूऔषधको ट्रान्जिट

पछिल्लो समय नेपालमा लागूऔषध कारोबारी गर्ने विदेशी नागरिकहरू बढेका छन् । जसमा छिमेकी मुलुक भारतीय नागरिकहरू धेरै रहेको ब्यूरोले जनाएको छ । ‘भारतसँगको खुला सिमाना यसको प्रमुख कारण हुन सक्छ,’ ब्यूरोका प्रहरी उपरीक्षक तथा जोशीले इकागजसँग भने, ‘यसको नियन्त्रणका लागि सिंगो नेपाल प्रहरी सक्रिय छ, तर उनीहरूको चलाखीपनले चुनौती भने थपिएको छ ।’ उनी लागूऔषध नियन्त्रणका लागि प्रहरीलाई नागरिक समाजलगायत सबैको साथले शून्यमा ल्याउन सहज हुने दोहोर्याउँछन् ।

ब्यूरोले पटकपटक लागूऔषध कारोबारमा विदेशी नागरिक संलग्न भएको घटनाहरू बाहिर ल्याएको छ । विदेशी नागरिकलाई पक्राउ गरेर ठूला सफलता पनि हात पारेको छ, नेपाल प्रहरीले  । विदेशमा रहेका नेपालीबाट मात्रै नभई विदेशी नागरिककै सक्रियतामा नेपाल लागूऔषध कारोबार तथा ओसारपसारको ट्रान्जिट बन्दै गइरहेको प्रहरी उपरीक्षक जोशी स्वीकार्छन् ।

ब्यूरोले गएको असार १३ गते विदेशीसहित १० जनालाई पक्राउ गरेको थियो । अवैध लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ब्यूरो तथा मातहत शाखा कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले कारोबारीलाई पक्राउ गरेको हो ।

सोही दिन टर्किस एअरलाइन्सको टिके ०७२७को फ्लाइटबाट काठमाडौँबाट टर्की हुँदै स्वीटजरल्याण्ड जान लागेको एक व्यक्ति विमानस्थलबाटै पक्राउ परेका थिए । मोल्दोभा देशका रोमानियाको राहदानीवाहक  डेनिसले साथमा बोकी ल्याएको लगेजमा ८ किलो ७४० ग्राम लागूऔषध गाँजा फेला परेको थियो । यो घटनाले पनि विदेशी नागरिक संलग्न भई काठमाडौँ लागूऔषधको ट्रान्जिट बन्दै गरेको अर्काे पुष्टि गर्छ । ‘काठमाडौँको विमानस्थल हुँदै लागूऔषध अन्य मुलुकबाट ल्याउँदै गरिएको र काठमाडौँबाट लैजाँदै गरेको अवस्थामा पक्राउ परेका धेरै घटना छन्,’ उनले भने । उनलाई लगेज एक्स–रे मेसिनमा स्क्यानिङ गरेपछि गाँजा भेटिएकाले पक्राउ गरिएको हो ।

त्यस्तै सोही दिन भन्सार आयातको गोदामबाट रिपब्लिक अफ एमनबाट जारी भएको राहदानीवाहक ३९ वर्षीय मोहम्मद याहा एबदो मोहम्मद पनि पक्राउ परेका थिए । उनको साथबाट लागूऔषध खात २० के.जी. र उनी बस्दै आएको ठमेलस्थित एक होटेलबाट खातको धुलो जस्तो देखिने पदार्थ १ के.जी. १६० ग्राम गरी जम्मा २१ के. जी. १६० ग्रामसहित पक्राउ गरिएको हो ।

असारमै लागूऔषध कोकिन ३ ग्राम ७०० मिलि ग्राम, एलएसडी स्टिकर २६ पिससहित १ विदेशी र २ नेपाली गरी ३ जना पक्राउ परेका थिए ।

ठमेलबाटै जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं १८ ठेगाना भएका वर्ष ४२ का मुखिया गुरुङलाई अवैध लागूऔषध कोकिन ३ जीएम ७०० एमजीसहित पक्राउ गरिएको हो । उनीसँगै चेक रिपब्लिक देशका नागरिक पासपोर्ट नं ४६५७०३३३ बाहक वर्ष ३२ मार्थिना पक्राउ परेको पनि ब्यूरोले जनाएको छ । 

ब्यूरोका अनुसार भारतपछि रोमानिया, नाइजेरिया, केन्यालगायतका नागरिक लागूऔषध कारोबारमा संलग्न हुने गरेको पाइएको छ । पछिल्लो समय  ब्यूरो लागूऔषध नियन्त्रणमा सक्रिय बनेको छ ।


Author

थप समाचार
x