समाज

ब्राउन सुगर : एक डाेजकाे दुई हजार !

इकागज |
साउन ७, २०८० आइतबार ७:५६ बजे

कैलाली । कैलाली र कञ्चनपुरमा लागूपदार्थको ओसारपसार र दुर्व्यसनमा संलग्न भएको आरोपमा औसतमा हरेक दिन चार जना पक्राउ पर्ने गरेकाे पाइएकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार २०८० असार महिनामा ५४ पुरुष र सात महिला गरी ६१ जना पक्राउ परे । एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा लागूपदार्थ सम्बन्धी ४३ मुद्दा दर्ता भए । कञ्चनपुरको अवस्था पनि यो भन्दा फरक छैन ।

कैलाली र कञ्चनपुरमा पछिल्ला दुई वर्षमा प्रहरीले पक्राउ पर्ने लागूपदार्थ दुर्व्यसनी र मुद्दाको संख्या दोब्बर संख्याले वृद्धि भएको छ । कैलाली र कञ्चनपुरमा आर्थिक वर्ष २०७९/८० मा लागूपदार्थ दुर्व्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा ८०४ जना पक्राउ परेका थिए ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७९/८० मा कैलालीमा लागूपदार्थ दुर्व्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा ५२२ जना पक्राउ परेका थिए । यो अवधिमा लागूपदार्थ सम्बन्धी ३४७ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ३२३ जना पक्राउ परेकोमा २०१ मुद्दा दर्ता भएका थिए । यसअघि आर्थिक वर्ष २०७७/७८ मा १३१ जना पक्राउ परेकोमा ९१ वटा मुद्दा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आर्थिक वर्ष २०७९/८० मा लागूपदार्थ ओसारपसार दुर्व्यसनका १९४ मुद्दा दर्ता भए । सो अवधिमा २८२ पक्राउ परेका थिए । जसमा २५५ पुरुष र १३ महिला थिए । अन्य पक्राउ पर्नेमा १४ जना भारतीय नागरिक समेत थिए । उनीहरुबाट २६ किलो चरेस र ५७० ग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।

यसअघि कञ्चनपुरमा आर्थिक वर्ष २०७८/७९ मा लागु पदार्थ ओसारपसार र प्रयोग गरेको आरोपमा २३९ जना पक्राउ परेका थिए । सो अवधिमा लागूपदार्थ सम्बन्धी १४३ मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा लागूपदार्थ सम्बन्धी दर्ता भएका १४१ मुद्दामा २३० जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागूपदार्थ सम्बन्धी ५५ मुद्दा दर्ता भएकोमा ८७ जना पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले पछिल्लो दुई वर्षमा लागूऔषध दुर्व्यसनी र कारोबार गर्नेहरुको संख्यामा दोब्बर वृद्धि भएको बताए ।

हरेक वर्ष पक्राउ पर्ने लागूपदार्थ सेवनकर्ताहरुको संख्या दोब्बरले बृद्धि भएको छ । उनले यति तीव्र गतिमा लागू पदार्थको कारोबारी र पक्राउ पर्नेको संख्या अरु क्षेत्रमा नभएको बताए ।

उनले लागूपदार्थको मुद्दा चलाईएकाहरुमा सेवनकर्ता र यसको अवैध व्यापारमा संलग्न व्यक्तिहरु रहेको बताए । पक्राउ परेका मान्छेहरु हेर्दा सामान्य लाग्छन्, डिएसपी चन्द भन्छन्, तर उनीहरु मध्ये अधिकांश कारोबार र ओसारपसारमा संलग्न हुनेहरु हुन् ।

सीमापारी भारतबाट लागूपदार्थको कारोबार हुने गरेकोले यस्को मुख्य कारोबारीहरु भने पक्राउ गर्न कठिनाइ भईरहेको डिएसपी चन्दले सुनाए ।

नेपाली भूमिमा ब्राउन सुगरको भण्डारण पनि हुँदैन । यहाँबाट यसको व्यापार पनि हुँदैन । यसको भण्डारण र व्यापार भारतीय भूमिबाट हुने गरेको छ, डिएसपी चन्द भन्छन्, यही कारण हामीलाई यसको मुख्य कारोबारी पक्राउ गर्न कठिनाई भएको छ ।

प्रहरीका अनुसार लागूपदार्थको कारोबार गर्नेहरुले ब्राउन सुगर(खैरो हेरोईन) लाई डोजका रुपमा बिक्री गर्ने गरेको पाईएको छ । एउटा डोज १० मिलीग्रामको हुने गरेको छ । र, प्रति डोज एक हजारदेखि दुई हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको पाईएको छ ।

उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागूपदार्थको ओसारपसार र दुर्व्यसनको अवस्था भयावह भएको बताए । उनले लागूपदार्थले समाज आक्रान्त भएको बताए ।

एसपी थापाले प्रहरीको प्रयासबाट मात्र लागु पदार्थको ओसारपसार र दुर्व्यसनको समस्या नियन्त्रणमा आउन सक्ने अवस्था नरहेकोले समाजको सहयोग र साथ आवश्यकले मात्रै रोकथाम गर्न सक्ने बताए ।


Author

थप समाचार
x