समाज

रास्वपाका जिल्ला संयोजकले गरे पत्रकार अपहरण र आक्रमण, महासंघद्वारा कारबाही गर्न माग

इकागज |
साउन ९, २०८० मंगलबार १४:४६ बजे

काठमाडौँ- रेडियो खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई अपहरण गरी बन्दी बनाएर आक्रमण गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाका सदस्यसमेत रहेका मण्डेललाई निवासबाटै अपहरण गरेर बन्दी बनाइ आक्रमण गरिएको महासंघ बझाङ शाखाले जनाएको छ ।


महासंघले आज विज्ञप्ति जारी गरी हिजो साउन ८ गते सोमबार होटल होलिडे इनका सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निर्देशनमा पत्रकार मण्डेललाई अमानवीय र अपराधिक शैलीमा आक्रमण गरिएको जनाएको छ

'यो घटना प्रेस स्वतन्त्रता विरोधी हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो,' महासंघले भनेको छ ।

'पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउँदछ,' विज्ञप्तिमा छ ।
 


Author

थप समाचार
x