समाज

भत्ता नै बुढेसकालको सहारा

इकागज |
साउन ९, २०८० मंगलबार १८:२४ बजे

सांकेतिक तस्बिर

तनहुँ- 'कान्छो छोरा अमृत चितौन बस्छ, सधैं उतै बस्न जाम आमा भनेर हत्ते गर्यो र गएँ प,' भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भनिन्, 'तर, झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिनँ र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।' भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दु ईवर्ष पहिलेको अनुभव सुनाएकी हुन् ।

उनीजस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरूको बुढेसकालको दिगो सहारा भएको बताए । छोरासँगै बस्न भनेर दुई वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ । प्रचण्ड गर्मी र पानीको नमीठो स्वादले आत्तिएर गाउँ फर्किएको उनले जानकारी दिइन् ।


'रातभरी पङ्खा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिएँ,’ धनमायाले भनिन्, 'गाउँमा भने पङ्खा नै चाहिँदैन । अहिले पनि कम्बल ओडेर सुत्ने गर्छौँ ।' म्याग्दे गाउँपालिका–६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो गरिन्  । 

उनको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुई वर्ष पहिले मृत्यु भएको थियो । विवाह भइसकेका तीन छोरीले आफूहरूसँग बस्न भने पनि एक्लै बसेर बाँकी जीवन धानेको परियारको भनाइ थियो । ‘श्रीमान् खसेपछि छोराहरूले वास्ता नै गरेनन् । छोरीहरूले हामी पाल्छौँ भनेर हत्ते गरे पनि बुढाको चिनो घर छाड्न मनले मानेन,’ उनले भनिन्, 'त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु ।' 

आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका–४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताए । दुई छोराले थर्पु बेँसीमा घर बनाएर बसे पनि आफूहरूले मूल घर नछाडेको उनले जानकारी दिए । 'भत्ताले गर्दा बुढाबूढीले भनेजस्तो खाएकै छौँ । मन परेको लाएकै छौंँ,' नरबहादुरले भने, 'हामी बुढाबूढीलाई भत्ता नै ठूलो सहारा भएको छ ।'

म्याग्दे–४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पतीले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्नेसमेत बनाए । घरबाट करिब एक घण्टाको बाटो सवारी साधनमा आउनुपर्दा आफूहरूलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिए ।

आफूले पाउँदै आएको भत्ता रकमसमेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे–२ थुम्कीबाट भत्ता लिन बैंकमा आएकी ७३ वर्षीया जुठी कामीको भनाइ थियो । दुई छोरीको विवाह भइसकेको र एक छोरा ५७ वर्षीय धनसिं रोगी भएको जुठीले बताइन् ।

'यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जँचाउन पोखरा जाने विचारमा छु,’ श्रीमान् तिलबहादुरको १०/११ वर्ष पहिले मृत्यु भएको बताउँदै उनले भनिन्, 'भत्ता रकम नपाइँदो हो त हामी गरिब त्यसै मर्ने थियौंँ । यही रकमले औषधि उपचार पनि गर्न पाइएको छ ।'

राज्यले दिने भत्ता रकम गाउँ घरमै दिने व्यवस्था गरे आफूहरूले घण्टौँ हिँडेर आउन नपर्ने जुठीले बताइन् ।

राज्यले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार, ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक रु दुई हजार छ सय ६०, एकल महिला र विधवालाई मासिक रु दुई हजार ६६०, पूर्ण अपाङ्गता भएकालाई मासिक रु तीन हजार नौ सय ९०, अतिअशक्त अपाङ्गता भएकालाई रु दुई हजार एक सय २८ र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक रु तीन हजार नौ सय ९० र दलित बालबालिकालाई मासिक रु पाँच सय ३२ राज्यले उपलब्ध गराउँदै आएको छ । प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलब्ध गराउने गर्दछ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरूले जनाए । रासस


Author

थप समाचार
x