रूपन्देहीमा ३४ हजारभन्दा बढी युनिट रगत खपत
बुटवल- नेपाल रेडक्रस सोसाइटी रूपन्देही अन्तरगत सञ्चालनमा रहेका रक्तसञ्चार केन्द्रबाट एक वर्षमा ३० हजार २ सय ५७ युनिट रगत संकलन भएको छ ।
बुटवल र भैरहवामा रहेका ति केन्द्रहरूमा उक्त परिणामको रगत संकलन भएको हो । जसबाट यस क्षेत्रमा उपचारका लागि आउने बिरामीका लागि ३४ हजार ७ सय ८० युनिट रगत वितरण भएको छ । ५७ औं रक्त सञ्चार दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको छ ।
संकलन भएको रगतको पिआरपी लगायतका अन्य रगतहरूको प्रशोधनपछि केही युनिट रकम वृद्धि भएको रक्तसञ्चार केन्द्र बुटवलका प्रमुख राधा ज्ञवाली जानकारी दिइन् । रेडक्रस सोसाइटी रूपन्देहीका अध्यक्ष दिपक क्षत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले रगतको संकलन व्यवस्थापन र वितरणका लागि रेडक्रसले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
उनले तिलोत्तमा नगरपालिकाले पनि आफ्नो क्षेत्रका कुनै पनि नागरिक रगतको अभावमा मृत्यु वरण गर्न नपरोस् भनेर त्यसका लागि रेडक्रससँग सहकार्य गरेको बताए । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति कृष्ण पंगेनीले मानव जीवन रक्षाका लागि चाहिने रगतको व्यवस्थापन विशुद्ध समाजसेवी भावले मात्र हुन सक्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान, रेडक्रस कञ्चनका सभापति गंगालाल पौडेल, रक्तसञ्चार केन्द्र बुटवलका प्रमुख राधा शर्मा, भैरहवा प्रमुख पदमप्रसाद बस्याल, मित्रलाल न्यौपाने, रामचन्द्र उपाध्याय लगायतले बोलेका थिए ।
लुम्बिनी प्रदेशमा नि:शुल्क रगतको सरकारी अस्पतालमा मात्र भएको भन्दै सबै अस्पतालका लागि यो सेवा उपलब्ध गराउनु पर्ने माग बढेको छ । कार्यक्रममा एक सय युनिटभन्दा बढी रगत संकलन गर्ने विभिन्न संघ संस्थाहरूलाई सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया