समाज

मर्स्याङ्दीको त्रासले रातभर जागा बस्छन् एक्लेफाँटवासी

इकागज |
साउन १२, २०८० शुक्रबार १७:२१ बजे

फाइल तस्बिर

तनहुँ- आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आएकी छिन् । स्थानीय मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताइन् ।

'पानी परेका बेला मर्स्याङ्दीको भेल बढेर घर भित्रै पसौँला झैँ गर्छ,' उनले भनिन्, 'त्यसैको डरले गर्दा राति सुत्नै सकिँदैन । दिनमा सुत्ने र राति जागा बस्नु हाम्रो दैनिकी जस्तै बनेको छ ।' केही वर्ष पहिले घर पछाडि करिब ५० हात जति पर मात्र मर्स्याङ्दीको पानीको सतह भए पनि २०७८ सालमा आएको बाढीले आफूसहित स्थानीय १४ घर बगाएर लैजाने अवस्थामा रहेको उनले जानकारी दिइन् ।


मर्स्याङ्दीको बाँधको सतह बढ्दा स्थानीय बद्री घिमिरे, मिलन गुरुङ, दलबहादुर माकिम मगर, तारा राना, उद्धव पौडेल, विष्णु पराजुली र सुन्दर बानियाँ लगायतको घर बगाउने जोखिममा रहेको छ । 

पानी परेपछि आफूसहित स्थानीयहरू घर अघि पृथ्वीराजमार्ग किनारामा रहेको चौतारामा बसेर रात काट्ने गरेको स्थानीय ५८ वर्षीय मिलन गुरुङले बताए । आफूहरूले मुआब्जाको लागि मर्स्याङ्दी जलविद्युत् आयोजनालाई पटकपटक भने पनि कुनै वास्ता नगरिँदा आफूहरू जोखिममा रहेको मिलनको भनाइ छ । 

'मर्स्याङ्दीको बाँधले बस्ती नै डुबाउला जस्तो भइसक्यो,' मिलनले भने, 'मुअब्जाका लागि पटकपटक पहल गरे पनि कसैले वास्ता नगर्दा कुन बेला मर्स्याङ्दीमा परिन्छौँ भन्ने चिन्तामा छौँ ।' घर पछाडि मर्स्याङ्दीको बाँधबाट बचाउन जालीमा ढुङ्गा भरेर लगाइए पनि त्यो संरचना कमजोर हुँदा  पानी ठेलिएर घर बगाउने अवस्थामा पुगेको मिलनले बताए । आफूहरूले मर्स्याङ्दी जलविद्युत् परियोजनाका कर्मचारीलाई सिमेन्टको बलियो पर्खाल बनाउन भने पनि बेवास्ता गरिएको उनको भनाइ छ । 

'मर्स्याङ्दीको बाँधबाट बस्ती बचाउन सिमेन्टको बलियो पर्खाल लगाउन भनेका थियौँ,' मिलनले भने, 'तर, हाम्रो मागलाई वास्तै नगरी सतहमाथिबाट तारजालीमा ढुङ्गा भरेर झारा टार्ने काम गरी छाडिएको छ ।'

आफूले करिब साढे तीन करोड रुपैयाँ लगानी गरी पार्कसहित करिब साढे दुई रोपनी क्षेत्रफलमा धौलागिरि हाइवे रेष्टुरेन्ट सञ्चालन गरे पनि मर्स्याङ्दीको बाँधको बहाव बढेर खोतल्दै गएपछि रेष्टुरेन्ट नै बन्द गरी अन्यत्र विस्थापित हुनु परेको स्थानीय सुन्दर बानियाँले बताए ।

पृथ्वी राजमार्गका यात्रुलाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरेको थिएँ,' बानियाँले भने, 'तर, अहिले मर्स्याङ्दीको बहाव बढेर लैजाने अवस्थामा पुगेपछि बन्द गर्नु परेको छ । कुन बेला बगाएर लैजाने हो भन्ने चिन्ताले सताएको छ ।'

मर्स्याङ्दीको बाँधले सार्वजनिक र व्यक्तिको गरी सयौँ रोपनी क्षेत्रफल बगाएर बस्ती नै जोखिममा परेकाले उचित मुआब्जा वितरण छिटो गरी बस्ती खाली गरिनुपर्ने आफूहरूको माग भएपछि ढिलासुस्ती गरिएको बानियाँले बताए । आफूहरूले छिटो मुआब्जा पाउनुपर्ने भन्दै प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले साथ दिँदै आएकासमेत बानियाँले जानकारी दिए । 

गाउँपालिकाको विपद् र जिल्ला विपद् समितिले समेत उक्त क्षेत्रको १४ घर र १० रोपनी व्यक्तिगत जग्गासमेत अधिग्रहण गर्नुपर्ने निष्कर्ष निकालेर सम्बन्धित मन्त्रालयमा करिब डेढ वर्ष अघि नै सिफारिस गरिए पनि मुआब्जा वितरण ढिला हुँदा स्थानीय मर्स्याङ्दीको त्रासमा बस्न बाध्य हुनु परेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । 

'हामी उहाँहरूले छिटो मुआब्जा पाउनुपर्छ भनेर लागि रहेका छौँ,' आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले भने, 'मुआब्जा ढिला दिँदा थप क्षति हुनसक्ने खतरा छ । पटकपटक ताकेता लगाउँदा पनि प्रक्रिया ढिलो हुनु दुःखद कुरा हो ।'

आफूहरूले सम्पूर्ण प्रक्रिया पूरा गरी उक्त क्षेत्रको घरसहितका जग्गा अधिग्रहण गर्नुपर्ने ठहर गर्दै केन्द्रमा परिपत्र गरे पनि प्रक्रिया ढिला हुँदा स्थानीयमा बाढीको त्रास कायमै रहेको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । 

'अधिग्रहण गरिएका घर र जग्गाको मुआब्जा पाउन नसक्दा स्थानीय अन्यत्र जान सकेका छैनन्,' उनले भने, 'वर्षायामको समयमा थप क्षति हुनसक्ने अवस्था भएकाले तत्कालै मुआब्जा वितरण गर्नेतर्फ केन्द्रमा ताकेता गरे पनि प्रक्रिया ढिलो भएका छ ।' रासस


Author

थप समाचार
x