समाज

क्विन्टल सुन तस्करी प्रकरण

फरार व्यापारी अदुकिया २०५२ सालमै सुनसहित पक्राउ परेका थिए

इकागज |
साउन १२, २०८० शुक्रबार २०:५५ बजे

काठमाडौँ- एक क्विन्टल सुन बरामद भएको सातापछि राजस्व अनुसन्धान विभागले छापा मार्दा फरार रहेका व्यापारी राकेशकुमार अदुकिया २०५२ साल साउन १० गते २ किलो ८८ ग्राम सुनसहित पक्राउ परेको तथ्य भेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र देशका महत्वपूर्ण अन्य भन्सार नाकाहरूमा भ्रष्टाचार तथा तस्करीलगायतका अनियमित क्रियाकलापहरूबाट मुलुकको राजस्वमा समेत हानि नोक्सानी पुगेकोबारे छानबिन गरी अनियमित क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि कारबाहीका लागि सिफारिस गर्न गठित ‘राजस्व चुहावटको छानबिनसम्बन्धी संसदीय संयुक्त समिति’ को प्रतिवेदनले विभिन्न तस्करहरूको नाम, नामेसी समावेश गरी बुझाएको प्रतिवेदनमा व्यापारी अदुकियाको विवरण पनि उल्लेख छ ।



तत्कालीन संविधान, २०४७ को धारा ६५ बमोजिम राजस्व चुहावट छानबिनसम्बन्धी दुवै सदनको संयुक्त समिति गठन गरियोस् भनी २०५५ साल वैशाख २२ गते दुवै सदनबाट प्रस्ताव पारित भएको थियो ।

उक्त प्रस्तावअनुसार तत्कालीन सांसद परी थापाको संयोजकत्वमा ९ सदस्य संयुक्त समिति गठन भएको थियो । समितिमा खगराज अधिकारी (एमाले), डा. गंगाधर लम्साल (नेपाली कांग्रेस), चन्दा शाह (राप्रपा), टंक राई (माले), नारायणमान बिजुक्छे (नेमकिपा), परी थापा (स्वतन्त्र), डा. मोहम्मद मोहसिन (राप्रपा), युवराज ज्ञवाली (एमाले) र रमेश रिजाल (नेपाली कांग्रेस) थिए ।

आव २०५२/५३ मा विमानस्थलबाट अवैध सुन ७२ किलो ८१२ ग्राम बरामद भएको थियो । उक्त संयुक्त समितिले सदनमा बुझाएको प्रतिवेदनमा विभिन्न २२ अभियुक्त (बेवारिसेसहित) उल्लेख गरेको थियो ।

विवादास्पद व्यापारी अदुकियाले गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्न रहेको भनी राजस्व अनुसन्धान विभागले निजको घरमा छापामा मारेको थियो । हाल उनी फरार छन् ।

उक्त समितिको प्रतिवेदन सदनले बुझेको भोलिपल्ट संसद् विघटन भई नयाँ चुनावको घोषणा भएको थियो । उक्त प्रतिवेदन कार्यान्वयन नै नभई दराजमा थन्काइएको छ । 


Author

थप समाचार
x