समाज

एसपी खड्काले कुटे प्रहरी जवान

इकागज |
साउन १३, २०८० शनिबार १६:१६ बजे

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्कामाथि आफ्नै गणमा कार्यरत दुई प्रहरी जवान कुटेको आरोप लागेको छ ।

बागमती प्रदेश प्रहरी गण हेटौंडामा काजमा खटिएका दुई प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई एसपी खड्काले कार्यकक्षमै कुटपिट गरेको र उनीहरूको कानको जाली फुटेको त्यहाँ कार्यरत प्रहरीले बताए ।


शुक्रबार जवानद्वय भण्डारी र अधिकारी सोही गणका अमल्दारलाई खबर गरी बाहिर निस्केका थिए । त्यहाँ कार्यरत प्रहरीलका अनुसार 'बाहिर किन निस्केको', 'कसलाई सोधेर निस्केको', 'म हुँ गणको हाकिम' भन्दै एसपी खड्काले उनीहरूमाथि कुटपिट गरेका हुन् । 

‘बाहिर नै निस्केको भए पनि उनीहरूमाथि कानुनअनुसार कारबाही गर्नुपर्थ्यो,’ स्रोतले भन्याे, ‘चेन अफ कमाण्डमा चल्ने संगठनको आफ्नै नीति नियम छ । नसिहत दिएर हो या निलम्बन गरेर जागिरबाट हटाउन सकिन्थ्यो । कुटपिट नै गर्नु हुँदैन्थ्यो ।’

गणपति खड्काले ती प्रहरी जवानहरूले ड्युटी छाडी गणभन्दा बाहिर गएर मदिरा खाई मोटरसाइकल दुर्घटना गराएकाले विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको तर कुटपिट नगरेको इकागजलाई बताए ।

एसपी खड्काका अनुसार हिजो शुक्रबार राति साढे दस बजे खाना खाइसकेपछि ती जवानहरू ‘रोल कल’ का क्रममा कसैलाई नसोधी निस्केका थिए । उनीहरू ‘स्ट्याण्डबाइ ड्युटी’ का हुन् ।

‘दुईवटा मोटरसाइकल लिएर ब्यारेक बाहिर गए । होटलमा बसेर मदिरा सेवन गरी लफडा गरेछन् । लफडा गरेपछि स्थानीय बासिन्दाले जिल्ला प्रहरीलाई खबर गरे । खबर गरेपछि भागेछन्,’ खड्काले शनिबार इकागजसँग भने, ‘भाग्दा मोटरसाइकल दुर्घटना गराए । एउटाको दाँत नै भाँच्चिएको छ । भाग्दा जिल्लाको प्रहरीले पक्राउ गर्यो । दुई जनालाई समातेर मेडिकल गरायो, दुई जना चाहिं भाग्या भाग्यै भए । बिहान मात्र आए । मैले विभागीय कारबाही गर्न लागेको हो । हातपात गरेको छैन ।’

कुटाई खाएका प्रहरी जवान कुमार भण्डारी जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत थिए । उनलाई असार १५ गते बागमती प्रदेश प्रहरीले काजमा भन्दै बागमती गणमा काजमा तानेर राखेको थियो ।


Author

थप समाचार
x